• २१ वैशाख २०८१, शुक्रबार

भूगोल अनुसार मलखाद प्रयोगको सिफारिस

blog

काठमाडौँ, माघ १० गते । सरकारले विभिन्न बालीका लागि कुन ठाउँमा कति मल हाल्ने त्यसको मात्रा तय गरेको छ । २०७५ सालदेखि माटो विज्ञान समूहले यसको अध्ययनको काम सुरु गरेको थियो । चार वर्ष लगाएर अध्ययन पूरा गरी सिफारिस गरिएको मात्रा पालिकाहरूमा पठाइएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । 

नार्क अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र र अमेरिकी सहयोग नियोग (युएसआइडी) को संयुक्त प्रयासमा धान, मकै र गहुँमा हाल्ने रासायनिक मलको मात्रा निर्धारण गरेको हो । मलखादको सही प्रयोगबाट उत्पादन र उत्पादकत्व बढाउन मलखाद सिफारिस गरिएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । नार्कका अनुसार गहुँ बालीका लागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी तथा पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवपरासीमा प्रतिकट्ठा ३.६ केजी डिएपी र प्रतिकट्ठा ८.७ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । 

त्यस्तै मध्य तराईका पर्सादेखि सप्तरीसम्म प्रतिकट्ठा ३.६ केजी डिएपी र प्रतिकट्ठा ८.० केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । सुदूरपश्चिम तराईका बाँकेदेखि कञ्चनपुरसम्म प्रतिकट्ठा ३.६ केजी डिएपी र प्रतिकट्ठा ७.६ केजी युरिया प्रयोग गर्न नार्कले सिफारिस गरेको छ । त्यस्तै भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुरमा प्रतिकट्ठा ३.६ केजी डीएपी र प्रतिकट्ठा ७.३ केजी युरिया प्रयोगका लागि सिफारिस गरेको छ । पहाडी भागमा प्रतिरोपनी ५.५ केजी डिएपी र प्रतिरोपनी ८.८ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । नार्कका अनुसार धान बालीका लागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी तथा मध्य तराईका पर्सादेखि सप्तरीसम्म प्रतिकट्ठा २.९ केजी डिएपी र प्रतिकट्ठा ७.६ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । 

त्यस्तै पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीसम्म प्रतिकट्ठा २.९ केजी डिएपी र प्रतिकट्ठा ८.२ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । सुदूरपश्चिम तराईका बाँकेदेखि कञ्चनपुरसम्म प्रतिकट्ठा २.२ केजी डिएपी र प्रतिकट्ठा ६.४ केजी युरिया प्रयोग गर्न नार्कले सिफारिस गरेको छ । त्यस्तै भित्री तराईका चितवन, दाङ, सुर्खेत, मकवानपुर, नवलपुरमा प्रतिकट्ठा २.९ केजी डिएपी र प्रतिकट्ठा ७.९ केजी युरिया प्रयोगका लागि सिफारिस गरेको छ । पहाडी भागमा प्रतिरोपनी ३.३ केजी डिएपी र प्रतिरोपनी ९.६ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । 

मकै बालीका लागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी तथा भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुरमा प्रतिकट्ठा ४.४ केजी डिएपी र प्रतिकट्ठा ७.७ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । त्यस्तै मध्य तराईका पर्सादेखि सप्तरीसम्म, पश्चिम तराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी र सुदूरपश्चिम तराईका बाँकेदेखि कञ्चनपुरसम्म प्रतिकट्ठा ४.४ केजी डिएपी र प्रतिकट्ठा ७.० केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । पहाडी भागमा प्रतिरोपनी ६.५ केजी डिएपी र प्रतिरोपनी १०.५ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । 

जथाभाबी मल प्रयोगले उत्पादनमा ह्रास आउनुका साथै माटो पनि बिग्रिँदै गएको मल सिफारिस अध्ययनका लागि बनेको कार्यदलका सदस्य राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले बताउनुभयो । राम्रोसँग माटो व्यवस्थापन गरी उचित तरिकाबाट मलखाद प्रयोग गरेमा बालीको २५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने यथार्थ अनुसन्धानबाट प्रमाणित भएको उहाँले उल्लेख गर्नुभएको छ । माटोको अवस्था, प्रयोग गरिने बालीहरू, सिँचाइ र मौसमलाई परीक्षण गरी भूगोल अनुसार मलखादको सिफारिस गरिएको जनाइएको छ । विगतमा गाईवस्तुको गोबर मलका रूपमा बढी प्रयोग हुन्थ्यो र खासै रासायनिक मलको प्रयोग हुँदैनथ्यो तर अहिले रासायनिक मल अत्यधिक प्रयोग हुन थालेपछि यो सिफारिसको आवश्यकता परेको नार्कले जनाएको छ । अहिले नयाँ नयाँ जातका बाली तथा माटोमा आएको परिवर्तनले पनि मलखाद प्रयोगको सिफारिस गरिएको नार्कले जनाएको छ । देशभरका कृषियोग्य जमिनबाट ३० हजार ५४८ माटोका नमुनाको अध्ययन गरी मलखाद सिफारिस गरिएको छ ।