• २३ असार २०८१, आइतबार

साढे आठ हजारभन्दा बढी धाराको धौलीगाड खानेपानीको काम तीव्र

blog

चन्दननाथ नगरपालिका ८ मा बिछ्याइएका पाइपलाइन । तस्बिर: नेत्र शाही

नेत्र शाही 

जुम्ला, माघ ७ गते । जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलिगाड खानेपानी आयोजना तीव्र गतिमा अगाडि बढेको छ । जुम्लाकै सबैभन्दा ठूलो आठ हजार ६ सय ९५ घरधुरी खानेपानी आयोजनाको २ वटा प्याकेजमा काम भइरहेको छ । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका निमित्त कार्यालय प्रमुख दीपेन्द्र भट्टका अनुसार आयोजनाको भौतिक प्रगति लक्ष्य अनुसार काम भइरहेको जनाकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत भएको छ । उहाँले वित्तीय प्रगित ३४ प्रतिशत भएको  जानकारी दिनुभयो । 

कार्यालय प्रमुख भट्टका अनुसार बृहत् धौलीगाड खानेपानी अयोजनको २ वटा प्याकेजमा काम हुँदैछ । पहिलो इन्टेक देखि आरभिटी सम्मको काम भएको छ जसमा इन्टेक निर्माण, डिसी, आईसी, पाइपलाइन निर्माण ट्यांकी निर्माण भइरहेको छ । यस क्षेत्रमा एक सयदेखि ६ सय घन मिटरका ट्यांकीहरु निर्माण हुँदैछन् ।

चन्दननाथ, तातोपानी र गुठिचौर गाउँपालिकामा क्षेत्रमा छ सय घनमिटरका १ ट्यांकी, तीन सय घनमीटरको एक, दुईसय घनमिटर २ वटा, डेढसय मिटर ३ वटा र चार सय मिटरका ट्यांकी निर्माणकाे काम धमााधम हुँदैछ । कार्यालयका अनुसार प्याकेज १ अनुसारको यस कामका लागि ट्रान्समिसन पाइपलाइन ७१.९३ किलोमिटरको काम भएको छ ।

कार्यालयका अनुसार प्याकेज २ मा ट्यांकीदेखि धारासम्मको दुईसय किमी वितरण पाइपलाइनको कार्य पनि धमाधम भइरहेको छ । जस अन्तर्गत करिब १३० देखि १४० किमी वितरण पाइपलाइनको काम सम्पन्न भइसकेको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख भट्टका अनुसार प्याकेज १ मा निर्माण कम्पनी कन्काई जेभी ललितपुर र सिएमसि कन्सट्रसन प्राइभेट लिमिटेडले काम गरिरहेका  प्याकेज १ को कामका लागि रु. ५४ करोड ४१ लख चार सय ५३ रुपियाँ ४७ पैसा र प्याकेज २ का लागि रु. ३७ करोड ७ लाख पाँच हजार तीनसय ७१ रुपियाँ रकम छ । प्याकेज १ को निर्माण कम्पनी सँग २०७८ चैत ४ गते ३६ महिनाको लागि र प्याकेज २ का लागि २०७९ असार १९ गते ३० महिनाको लागि कामको सम्झौता भएको छ । 

४३ हजार ७१८ जनसङ्ख्या लाभान्वित 

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भइरहेको समयमा हिमालको शुद्ध खानेपानी खाने उद्देश्यले समुन्द्र सतहदेखि ३ हजार ९ सय १८ मिटर उचाइमा रहेको रहेको शुद्ध मुहानबाट धौलीगाडको खानेपानी जुम्लाको चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाका ४३ हजार ७ सय १८ जनसङ्ख्या लाभान्वित हुनेछ । जहाँ जुम्ला विमानस्थल दुईहजार तीनसय ५० मिटर उचाइमा छ । जुम्ला सदरमुकाममा बढ्दो जनसङ्ख्या र खानेपानीको अभाव भइरहेको समयमा बृहत् धौलीगाड खानेपानी आयोजना यस क्षेत्रको मुहार फेर्ने आयोजनाको रुपमा नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताउनुभयो । उहाँका अनुसार धौलीगाड खानेपानी गौरवको आयोजनाको रुपमा रहेकाले सबै मिलेर यसलाई अगाडि बढाउन आवश्यक रहेको छ । चन्दननाथ नगरपालिका ४ निवासी सृजना रावतका अनुसार खानेपानीले हैरान भएको समयमा यस आयोजनाले ठूलो राहत दिने बताउनुभयो । 

बजेट अभाव नभए समयमै सम्पन्न हुन्छ 

कार्यालयका अनुसार हालसम्म लक्ष्य अनुसारको काम भइरहेको छ तर कार्ययोजना अनुसार बजेट अभाव भइरहेको छ । यस वर्ष धौलीगाड खानेपानी आयोजनाको नियमित बजेट रु. १२ करोडमा धमाधम काम भइरहेको र बाँकी करिब १२ करोड यस वर्षमै आवश्यक देखिन्छ । सो रकमको माग सम्वन्धित निकायमा पठाएको कार्यालयले जनाएको छ । कम्पनी सँग सम्झौता भएको रकमभित्रकै  यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा  करिब ४० करोड बजेट सरकारले सुनिश्चित गरे निर्धारित समयमा योजना अनुसारको ८ हजार ६ सय ९५ खानेपानीको धारा घर घरमा पुग्ने बताइएको छ । यो पानीलाई खानेपानी विभागले यार्सा मिनरल वाटरको रुपमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने आधार पनि तयार गर्ने बताउँदै आएको छ ।