• १८ वैशाख २०८१, मङ्गलबार

कोषबाट पचास हजारभन्दा बढीले लिए स्वास्थ्य सेवा

blog

काठमाडौँ, माघ ७ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका ५० हजार ७७१ योगदानकर्ताले ७६ अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।       

कोषका अनुसार औपचारिक, अनौपचारिक र स्वरोजगारतर्फका चार लाख ७५ हजार ६७३ योगदानकर्तामध्ये त्यो सङ्ख्याका योगदानकर्ताले ती अस्पतालबाट स्वास्थ्य सेवा लिएका हुन् ।

कोषका अनुसार कोषमा योगदान गरेको ५० हजार ७७१ जनाले स्वास्थ्य सेवा लिएबापत एक अर्ब ३८ करोड ३४ लाख ६४ हजार ८६ रुपियाँ दाबी गरेकामा ८४ करोड ४६ लाख ७४ हजार ८५ रुपियाँ भुक्तानी भइसकेको छ । 

कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै योगदानकर्ताको उपचारबापतको खर्च बेहोर्ने व्यवस्था छ । कोषले गएको फागुन १ देखि कोषसँग सम्झौता गरेका अस्पतालमा मात्रै योगदानकर्ताले औषधी उपचारबापतको रकम दाबी गर्न पाउने व्यवस्था लागु गरेको हो । यसअघि भने सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च कोषले उपलब्ध गराउँदै आएको थियो । 

कोषका प्रवक्ता विवेक पन्थीले कोषसँग सम्झौता गरेका अस्पतालबाट मात्रै योगदानकर्ताले स्वास्थ्य उपचारबापतको रकम दाबी गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तोकेका अस्पतालमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३० वटा अस्पताल रहेका छन् भने कर्णाली प्रदेश र सुदूरपश्चिम अस्पतालमा भने अहिलेसम्म अस्पताल तोकिएको छैन । बागमती प्रदेशमा वीर अस्पताल, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय मुटु रोग केन्द्र, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, तिलगङ्गा आँखा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका रहेका छन् । 

कोशी प्रदेशका लागि १६ वटा अस्पताल तोकिएका छन् । जसमा मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल प्रालि, पशुपति मोडेल हस्पिटल, हाम्रो अस्पताल, विराटनगर मेडिकल कलेज, नोबेल मेडिकल कलेज, मोरङ सहकारी अस्पताल र ओखलढुङ्गा सामुदायिक अस्पताललगायतका रहेका छन् । 

मधेश प्रदेशमा नेसनल कलेज, वीरगन्ज हेल्थकेयर अस्पताल, नमुना सामुदायिक अस्पताल, गण्डक अस्पताल, स्पर्श अस्पताल, छिन्नमस्ता अस्पताल, किरण आँखा अस्पताल, जानकी हेल्थ केयरलगायतका १२ वटा अस्पताल तोकिएको छ । 

त्यसै गरी गण्डकी प्रदेशका लागि चरक मेमोरियल र ग्यालेक्सीलगायत नौ वटा अस्पताल तोकिएको कोषले जनाएको छ । लुम्बिनी प्रदेशमा नौ वटा कोहलपुर, नेपालगन्ज, भैरहवा र बुटवलका अस्पताल तोकिएको छ । बाँकेको कोहलपुरस्थित लर्ड बुद्ध एजुकेसनल एकेडेमी, नेपालगन्जको लर्ड बुद्ध एजुकेसनल एकेडेमी, भैरहवामा युनिभर्सल कलेज अफ मेडिकल साइन्स र बुटवलको गौतम बुद्ध मुटु अस्पताल तोकिएको छ । 

योगदानकर्ताले सामाजिक सुरक्षा परिचयपत्र देखाए अस्पतालमा उपचार गराउँदाको खर्च सामाजिक सुरक्षा कोषले सिधै अस्पताललाई तिरिदिने प्रावधान छ । कोषमा कम्तीमा तीन महिना नियमित योगदान गरेपछि औषधी उपचार सुविधा पाइन्छ । यस अन्तर्गत वार्षिक एक लाख रुपियाँसम्मको औषधी उपचार सुविधाको व्यवस्था छ ।

कम्तीमा तीन महिना नियमित योगदान गरेका योगदानकर्ता र निजको दम्पतीलाई ओपिडी (अस्पताल भर्ना नभई) सेवाको वार्षिक २० हजारसम्मको शोधभर्ना कोषले गर्छ । त्यस्तै योगदानकर्ता र निजको दम्पतीलाई आइपिडी सेवा (अस्पतालमा भर्ना भएर उपचार गराउँदा) वार्षिक ८० हजार रुपियाँसम्मको शोधभर्ना कोषले उपलब्ध गराउँछ ।

दुई वर्ष योगदान गरेका योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपियाँसम्म कोषले उपलब्ध गराउँछ । कोषले विभिन्न योजनाको दाबी भुक्तानीका लागि समयसीमा तोकेको छ । अस्पताल भर्ना नभई गरिने (ओपिडी) उपचार गराएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ । त्यस्तै भर्ना भई उपचार गराएकाले डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ । दुर्घटनाको हकमा उपचार गराएको वा डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने कोषले जनाएको छ । 

मातृत्व हेरचाह भत्ता शिशु जन्मेको ९० दिनभित्र दाबी गर्नुपर्ने छ भने मातृत्व बिदा भत्ता र बिरामी बिदा भत्ता बिरामी भएको अथवा डिस्चार्ज भएको १२० दिनभित्र दाबी गरिसक्नुपर्ने उल्लेख छ । 

सरकारले २०७६ साउन १ देखि सुरु गरेको सामाजिक सुरक्षा कोषमा १८ हजार ६०१ रोजगारदाता प्रतिष्ठानमा आबद्ध भएका छन् । ती प्रतिष्ठानमा काम गर्ने चार लाख ७३ हजार ४०३ हजार २८२ श्रमिक तथा कर्मचारी सूचीकृत छन् ।