• १३ साउन २०८१, आइतबार

सुर्खेत विमानस्थल धावनमार्ग विस्तारमा दल सहमत

blog

सुर्खेत समाचारदाता

सुर्खेत, माघ ४ गते । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि सहजीकरण गरिदिन सङ्घीय सरकारसँग आग्रह गरेको छ । 

मुख्यमन्त्री राजकुमार शर्मासमक्ष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको नेतृत्वमा सांसद हृदयराम थानी, प्रदेश सभा सदस्य यामलाल कँडेलसहितको टोलीले सो आग्रह गरेको हो । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी सर्वपक्षीय भेलाको निष्कर्ष र नगर कार्यपालिकाको निर्णय मुख्यमन्त्री शर्मालाई बुझाएको थियो । 

मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेत विमानस्थल विस्तारका लागि प्रदेश सरकार थप व्रिmयाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विमानस्थलको संरक्षण र विस्तार गर्ने पक्षमा आपूm रहेको चर्चा गर्दै विमानस्थल विस्तारका लागि पहल थाल्ने बताउनुभयो । उहाँले विमानस्थल विस्तारका लागि सङ्घीय सरकारसँग यसअघि नै छलफल गरेको र पर्यटनमन्त्रीले विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न पनि आफूलाई भन्नुभएको जानकारी दिनुभयो । उहाँले पुरानो विमानस्थल अलपत्र पार्नु हुँदैन भन्दै नयाँ विमानस्थल बनाउन धेरै समय लाग्ने भएकाले अहिलेकैलाई विस्तार गरी जनतालाई सहज हुने काममा प्रदेश सरकार लाग्ने बचन दिनुभयो ।

सांसद हृदयराम थानीले २०७७ साल असोज १५ गते प्रदेश सरकार र नागरिक उड्डयन प्राधिकरणबिच लागतका आधा आधा बजेटमा विमानस्थल धावनमार्ग विस्तारको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभयो । उहाँले विमानस्थलको धावनमार्ग विस्तार गरिए सङ्घीय राजधानी मात्र होइन, कर्णालीका अन्य विमानस्थलमा पनि दैनिक उडानमा सहजता आउने बताउनुभयो ।

कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेलले विमानस्थल धावनमार्ग विस्तारका लागि अहिले सबैको साझा धारणा रहेको बताउनुभयो । उहाँले जनमत पनि साझा भएकाले प्रदेश सरकारले सङ्घीय सरकारसँग धावनमार्ग विस्तारको पहल थाल्न आग्रह गर्नुभयो । 

उहाँका अनुसार प्रभावितलाई प्रचलित दरभाउ अनुसार मुआब्जा दिइएमा प्रभावित पनि सहमत हुने छन् । विद्यालय स्थानान्तरण जति छिटो गर्न सकियो त्यति नै छिटो विमानस्थल धावनमार्गको विस्तारको काम थाल्न सकिने अवस्था छ ।

नगर प्रमुख ढकालले धावनमार्ग विस्तारसम्बन्धी सर्वपक्षीय र सर्वदलीय बैठकको साझा निष्कर्षसहित नगर कार्यपालिकाको पुस २५ गतेको बैठकको निर्णय मुख्यमन्त्रीलाई बुझाइएको जानकारी दिनुभयो । उहाँले सुर्खेत विमानस्थलको अन्य विकल्प नभएकाले यसको स्तरोन्नति नै अहिलेको साझा धारणा भएको बताउनुभयो ।  विसं २०२९ मा निर्माण गरिएको सुर्खेत विमानस्थलको धावनमार्ग छोटो हुँदा ठुला जहाज अवतरणमा समस्या छ । यसले गर्दा स्थानीयले हवाई टिकट पाउन मुस्किल जस्तै छ । काठमाडौँबाट सुर्खेतमा दैनिक तीन उडान भए पनि स्थानीयले हवाई टिकट पाउन कठिन छ । 

सुर्खेतको हवाई मैदानको धावनमार्ग एक हजार २३५ मिटर रहेको छ । करिब तीन सय मिटर धावनमार्ग विस्तार आवश्यक देखिएको छ । धावनमार्ग विस्तार गर्दा प्रभावितलाई प्रचलित दरभाउको मुआब्जा दिन र अमरज्योति माविलाई पूर्वाधारसहित अन्य सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग सहजीकरण गरिदिन आग्रह गरिएको प्रमुख ढकालले बताउनुभयो ।