• १३ साउन २०८१, आइतबार

अझै बनाइएन वडा भवन

blog

दोलखा समाचारदाता

दोलखा, माघ ४ गते । दोलखाका नौ स्थानीय तहका ७४ वडामध्ये ११ वटा वडा कार्यालयको भवन अझै निर्माण भएको छैन । सङ्घीयता लागु भएको करिब सात वर्ष लाग्दा पनि केही जग्गा अभाव तथा सहमति हुन नसक्दा वडा कार्यालय भवन नबनेका हुन् । ६३ वटा वडा कार्यालयको मात्र आफ्नै भवन भएको बताइएको छ ।

भीमेश्वर नगरपालिकामा पाँच वटा वडामा भवन निर्माण सम्पन्न भएर तीन लाख ८४ हजार रुपियाँ बचत हुन थालेको छ । भाडामा रहेका वडा नम्बर ५ र २ ले भवन निर्माण सुरु गरेका छन् । नगरका इन्जिनियर सुरेश राउतले वडा नम्बर ८ ले साबिकको गाविस भवन र वडा नम्बर ९ ले सामुदायिक भवन प्रयोग गरिरहेको बताउनुभयो । वडा नम्बर २ को २० लाख रुपियाँमा एकतले भवन बनेको छ भने यस वर्ष अर्को तला निर्माणका लागि ५० हजार रुपियाँ लागतमा टेन्डर आह्वान गरिएको वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । 

वैतेश्वर गाउँपालिकाले आठै वडामा वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको अध्यक्ष छवि लामाले बताउनुभयो । पालिकाको भवन पनि निर्माण भइसकेको छ । 

उत्तरी बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले वडा नम्बर १ को अहिलेसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भाडा तिरिदिएको र भवन पनि बनाइदिन थालेको जानकारी दिनुभयो । वडा नम्बर २ र ३ को वडा कार्यालय भवन गैरसरकारी संस्थाले निर्माण गरिदिएको र बाँकी पाँच वटा वडाले सामुदायिक भवन तथा साबिकको गाविस भवन प्रयोग गर्दै आएका छन् । कालिञ्चोक गाउँपालिकाका नौ वटै वडा कार्यालय भवन निर्माण भइसकेको छ । सहमति जुट्न नसक्दा पालिकाको भवन निर्माण हुन सकेको छैन । 

मेलुङ गाउँपालिकाले वडा नम्बर २, ६ र ७ मा भवन निर्माण भएको भन्दै गाउँपालिका अध्यक्ष हिरा थोकरले वडा नम्बर १, २ र ५ ले साबिकको गाविस भवन प्रयोग गरिरहेको बताउनुभयो । वडा नम्बर ३ मा भवन निर्माण हुन सकेको छैन । यसपालि केन्द्रको भवन निर्माण सुरु भएको छ । 

जिरी नगरपालिकामा वडा कार्यालय भवन निर्माण भइसकेको नगर प्रमुख मित्र जिरेलले जानकारी दिनुभयो । तामाकोशी गाउँपालिका सात वटै वडा कार्यालय भवन निर्माण भइसकेको छ । शैलुङ गाउँपालिकाले पाँच वटा वडा कार्यालय भवन निर्माण भएको र दुई वटा निर्माणाधीन छन् । यसै गरी गौरीशङ्कर गाउँपालिकामा सात वटा वडा कार्यालय भवन निर्माण भएको छ ।