• २४ असार २०८१, सोमबार

ताप्लेजुङमा उच्च मूल्यमा अलैँची कारोबार

blog

किसानद्वारा भट्टी लगाउन (सुकाउन) लाई तयार पारिएको अलैँची । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको छ । मङ्गलबार कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले मङ्गलबार भएको अलैँचीको कारोबार मूल्य यस वर्षकै उच्च भएको बताउनुभयो । फुङ्लिङ बजारका स्थानीय व्यवसायीसमेत रहनुभएका रेग्मीले चलनचल्तीको अलैँची प्रतिमन ७७ हजार रुपियाँसम्ममा कारोबार भएको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँका दरले निरन्तर वृद्धि हुँदै आएको थियो । 

स्थानीय बजारमा प्रतिमन ७७ हजारले कारोबार भएको अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उहाँको भनाइ छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् ।

अहिलेको अलैँची मूल्य यसवर्षको मात्र नभई चार/पाँच वर्षयताकै राम्रो हो । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम् ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् । स्थानीय व्यवसायीका अनुसार पछिल्लो चार–पाँच वर्ष अवधिभित्र प्रतिमन न्युनतम् २० हजार र अधिकतम् ३५ हजार रुपियाँ सम्ममा मात्र अलैँचीको कारोबार भएको छ । 

यसवर्ष भने नयाँ अलैँची बजारमा निस्कन थाल्दा नै प्रतिमन ६० देखि ६५ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो । स्थानीय व्यवसायीका अनुसार मुख्य सिजन (मौसम) सुरु भएपछि अलैँचीको सुरुको मूल्य घटेर प्रतिमन ५३ देखि ५८ हजार रुपियाँसम्म आइपुगेको थियो । अलैँचीको सो मूल्य घटबढ हुँदै निकै लामो समयसम्म कारोबार भएको व्ययवासीले बताएका छन् । पछिल्लो केही सातायता भने बिस्तारै उकालो लागेको अलैँची मूल्य मङ्गलबार सम्ममा प्रतिमन ७७ हजार रुपियाँ पुगेको व्यवसायी कमल बरालले बताउनुभयो ।   

हिजोआज अलैँची मूल्य निरन्तर वृद्धि भइरहे पनि धेरै अलैँची विक्री गरिसकेको किसानले बताएका छन् । त्यस्तै, यो वर्ष अलैँची उत्पादनमा पनि कमी आएको उनीहरूको भनाइ छ। ताप्लेजुङमा करिब चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार ५०० मेट्रिक टनसम्म अलैँची उत्पादन हुने कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्क छ ।