• ३० वैशाख २०८२, मङ्गलबार

पचासी वटा कृषि पकेटक्षेत्र बनाउने तयारी

blog

रामेछाप समाचारदाता

रामेछाप, पुस २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले मूलतः कृषिमा आधारित उद्यमशीलता विकासमा जोड दिएको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा बिहीबारदेखि सुरु भएको ११ दिने बृहत् रामेछाप महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो । 

कृषिमा आधारित उद्यमशीलता विकासकै लागि प्रदेश सरकारले प्रदेशभित्रका ८५ वटा पालिकालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कृषिलाई उद्यम नमान्ने हाम्रो मानसिकता छ । अब यसलाई तोडेर जानु पर्छ भन्ने मान्यताका साथ प्रदेश सरकार अगाडि बढेको छ । प्रदेश सरकारले कृषिमा आधारित उद्यमशीलता विकासका लागि ८५ वटा पालिकालाई कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गर्दै छ ।” 

अब प्रदेशले कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरेको पालिकाबाट ठुलो परिणाम कृषि तथा पशु उत्पादन गर्ने योजना रहेको उहाँले बताउनुभयो । कृषि उत्पादनको पकेट क्षेत्र घोषणापश्चात् ती पालिकामा आवश्यक लगानीका लागि विभिन्न बैङ्कसमेत तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । “कृषि उत्पादनको पकेट क्षेत्र घोषणा हुने पालिकामा लगानीका लागि सहुलियतपूर्ण कर्जा दिन विभिन्न बैङ्क तयारी अवस्थामा छन् । यसका बारेमा बैङ्कसँग आवश्यक विषयमा छलफल भइसकेको छ, अब प्रदेश सरकार र स्थानीय सरकारले मिलेर कृषि उत्पादन बढाउनतिर लाग्नु पर्छ,” उहाँले भन्नुभयो । 

विगतमा कृषि क्षेत्रमा लगानी भएका अनुदान व्यक्तिकेन्द्रित हुँदा परिणाम सोचे अनुसार नआएको उहाँको भनाइ छ । प्रदेश सरकारले अहिले कृषि क्षेत्रको विकासका लागि समुदायमा आधारित मोडेलमा काम गर्न लागेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । 

उहाँले प्रदेश सरकारले अब धेरै सडकको कालोपत्रे गर्ने योजना बनाएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले अब चाँडै प्रदेशभरका ५५० वटा भन्दा बढी सडकलाई प्रादेशिक सडक नामकरण गर्दै छ । यसरी प्रदेश सडक नामकरण भएका सडक आगामी तीन वर्षभित्र कालोपत्रे हुन्छन् । यसका लागि प्रदेशले आवश्यक तयारी गरिरहेको छ ।” उहाँले आफ्नो मुलुक विकासका लागि कुनै पनि आग्रह पूर्वाग्रह नराखी एकतासाथ लाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।

रामेछाप जुनार–सुन्तला र किवी उत्पादनमा ठुलो सम्भावना भएको जिल्ला भएकाले जुनार–सुन्तला र किवीबाट कृषि क्षेत्रको विकास गर्न सम्भावनाको खोजी गर्न आवश्यक रहेको उहाँको भनाइ छ । रामेछापका जुनार–सुन्तला र किवी उत्पादन भइरहेको र यी चिजको उत्पादन हुने सम्भावना भएका पालिकालाई जुनार–सुन्तला र किवी उत्पादन पकेट क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।