• १३ साउन २०८१, आइतबार

कांग्रेसको स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान सुरु

blog

निशा राई 

धरान, पुस २२ गते । नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान सुरु गरेको छ ।

“स्वस्थ्य नागरिक समुन्नत समाज” भन्ने मूलनाराका साथ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्य समिति अन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान सुरु गरेको नेपाली कांग्रेसको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो । 

नागरिक स्वस्थ्य भयो भने मात्र समृद्धि सम्भव हुने भन्दै  समुन्नत समाज निर्माण गर्न नागरिकलाई स्वस्थ्य बनाउन जरुरी रहेको भन्दै निःशुल्क स्वास्थ्यशिविर र अन्यविविध स्वास्थ्य सम्बन्धी कार्यक्रम गरी नागरिकलाई स्वस्थ्य बनाउन र समुन्नत समाज निर्माण गर्न नेपाली कांग्रेसले सञ्चालन गरेको अभियानले महत्त्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले जनताको घर आँगनमा स्वास्थ्यशिविर सञ्चालन गरेर पाटीले सामाजिक उत्तरदायित्व वहन गरेको बताउनुभयो । 

हरेक जनतालाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीले सुरु गरेको स्वस्थ्य नागरिक समुन्नत समाज अभियानले महत्त्वपूर्ण सहयोग पुग्ने बताउँदै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका ग्याष्ट्रोलोजी एण्ड हेपेटोलोजीविशेषज्ञ डा. सन्दीप राजबज्राचार्य सहितको टोलीले पेट, ग्यास्ट्रिक, पेनक्रियाज, ठुलो आन्द्रा, पेटको क्यान्सर, दिसाबाट रगत जाने र सुगर तथा प्रेसर लगायतका रोगहरूको जाँच गरेको थियो । बिपी प्रतिष्ठान, धरानको स्ट्रोक टिम (पक्षाघात समूह) को सहयोगमा धरान उपमहानगर पालिकाका वडा नं. ३, ८ र १५ मा सञ्चालन गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताउनुभयो ।

शिविरबाट निःशुल्क स्वास्थ्य जाँच र औषधिप्राप्त गरी १ सय ९४ जना लाभान्वित भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताउनुभयो । शिविरको औपचारिक उद्घाटन कार्यक्रममा जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद एवम् महासमिति सदस्य ममता तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, लगायतका पार्टी नेताहरूको उपस्थिति रहेको थियो ।