• २ मंसिर २०८१, आइतबार

धरान उत्सवको अनुगमन

blog

धरान उत्सवको सजावट ।

निशा राई 

धरान, पुस २२ गते। धरान स्थापना भएको १२३ वर्ष पुगेको अवसरमा धरान १२ पब्लिक माविको मैदानमा शुक्रबारदेखि पाँच दिने धरान उत्सव जारी छ।

उत्सवको व्यवस्थापन भने फितलो भएको पाइएको छ।उत्सवमा राखिएको स्टलको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत, राजस्व महाशाखा प्रमुखसहितको उपमहानगरको टोलीले अनुगमन गरेको हो।

अनुगमन समितिले अनुगमन गर्ने क्रममा शनिबार स्टलमा मूल्य सूची नराखिएको र नगरपालिकाको स्टयाम्प र रकम बुझ्नेको हस्ताक्षर नै नभएको रसिद भेटिएको अनुगमन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटाले बताउनुभयो।बिलको विषयमा भने सम्बन्धित समितिसँग बुझ्ने बताउनुभयो।

धरान उपमहानगरपालिकाको राजस्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले स्टलबाहेक खेल सामग्री बेच्ने पाँच वटालाई अनुमति दिइए पनि अरू भेटिएकोले हटाइएको बताउनुभयो। 

उपमहानगर पालिकाकी प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले नगरपालिको स्ट्याम्प नभएको र रकम लिएर रसिद दिनेको आधिकारिक हस्ताक्षर नभएकोले कारबाही गरिएको बताउनुभयो।

व्यवस्थापन पक्ष फितलो भएकै कारण स्टलबाहेक अन्य खुद्रे व्यापारीसँग सम्बन्धित पक्षसँग सहकार्य नै नगरी जथाभाबी रकम उठाएको पाइएको उहाँले बताउनुभयो।

खासगरी स्टललगायत त्यहाँ व्यापारिक प्रयोजनका लागि आउनेलाई स्टल व्यवस्थापन समितिले व्यवस्थापन गर्नुपर्ने भए पनि समितिलाई यस्ता कुराको थाहा नै नभएको अनुगमनको क्रममा पाइएको छ।

उत्सवमा जातीय खानाका परिकार, घरेलु तथा कृषि उत्पादन, पर्यटन प्रवर्द्धन सम्बन्धीका सूचना लगायतका ७५ वटा स्टल रहेका छन्।