• १३ साउन २०८१, आइतबार

सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

blog

आठराई त्रिवेणी गाउँपालिकाको फूलबारीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २२ गते। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ। सर्वसाधारणले आफ्नै वडाबाट सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यसहित गाउँपालिकाले फूलबारीमा रमिते सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो। 

गाउँपालिकाको पहलमा सञ्चालनमा ल्याइएको सामुदायिक स्वास्थ्य केन्द्रको पालिका अध्यक्ष दीपेन्द्र पोमुले शनिबार शुभारम्भ (उद्घाटन) गर्नुभएको छ। स्वास्थ्य केन्द्रको उद्घाटनसँगै सोही दिनदेखि सर्वसाधारणले सेवा सुरु भएको पनि गाउँपालिकाले जनाएको छ। 

यता सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि सो वडाका आम्बोटे, सिमलबोटे, खड्कुडे, धुसेनी, रमितेलगायत टोलका बासिन्दाले सेवा प्राप्त गरेका गाउँपालिका अध्यक्ष पोमूले बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले स्वास्थ्य केन्द्रका लागि एकजना अहेब र एकजना अनमीको व्यवस्था गरेको छ। 

यसैबिच गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत शनिबार नै सो वडाका गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री उपलब्ध गराएको छ। पोषिलो खानेकुरा अण्डा, चनालगायत सरसफाइका सामग्रीसमेत रहेको पोषण तथा सरसफाइ ‘प्याकेज’ झोला वितरण गरिएको उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य वडामा पनि लक्षित महिलालाई प्याकेज झोला वितरणलाई निरन्तरता दिइने छ।