• ११ पुस २०८१, बिहिबार

विश्व कूटनीतिका नायक किसिन्जर

blog

अमेरिकी कूटनीतिज्ञ हेनरी अल्फ्रेड किसिन्जरको गत नोभेम्बर २९ मा सय वर्षको उमेरमा निधन भएको छ । सन् १९२३ मे २७ मा फर्थ, बाभेरिया, जर्मनीमा जन्मेका किसिन्जरका पिताको नाम लुइस किसिन्जर र आमाको नाम पाउला थियो र उनलाई बाल्यकालमा  हेन्ज अल्फ्रेड किसिन्जर भनेर बोलाइन्थ्यो । 

किसिन्जरका पिता विद्यालय शिक्षक थिए । किसिन्जरको परिवार  जर्मन–यहुदी थियो । किसिन्जर १५ वर्षको उमेरमा नाजी उत्पीडनबाट बच्न जर्मनीबाट परिवारसँगै अमेरिकामा शरणार्थीका रूपमा प्रवेश गरेका थिए । सन् १९३८ सेप्टेम्बरमा परिवारसँगै न्युर्योक पुगेका किसिन्जरले म्यानहट्टनको वासिङ्टन हाइट्समा जर्मन–यहुदी हाइस्कुलबाट शिक्षा आर्जन गरे । हाइस्कुलपछि उनले न्युयोर्कको सिटी कलेजमा लेखा विषय अध्ययन गरेका थिए । त्यसपछि उनी अमेरिकी सेनामा भर्ती भए । 

अमेरिकी सेनामा प्रवेशपछि किसिन्जरले साउथ क्यारोलिनाको स्पार्टनबर्गको क्याम्प क्रफ्टमा तालिम लिए । २० वर्ष पुगेपछि उनले अङ्गीकृत अमेरिकी नागरिकता पाए । अमेरिकी सेनाले उनलाई आर्मी स्पेसलाइज्ड ट्रेनिङका लागि पेन्सिलभेनिया पठाए पनि उक्त कार्यक्रम रद्द भएको थियो । पछि ८४ औँ इन्फन्ट्री डिभिजनमा नियुक्त हुँदा जर्मनीबाट आएका आप्रवासी फ्रिट्ज क्रेमरसँग उनको सङ्गत भयो । जर्मन भाषामा पोख्त किसिन्जरलाई क्रेमरले सैन्य गुप्तचरमा नियुक्त गर्न सघाए । 

किसिन्जर सबैभन्दा तल्लो सैन्य श्रेणीमा कार्यरत भए पनि डिभिजनका गुप्तचर कर्मचारीमाझ जर्मन भाषा जान्नेहरूको कमीका कारण उनलाई क्रेफेल्ड सहरमा प्रशासनको जिम्मेवारीमा राखियो । त्यसपछि उनलाई काउन्टर इन्टेलिजेन्स कोप्र्स (सिआइसी) मा नियुक्त गरियो । जहाँ उनले सार्जेन्टको दर्जा धारण गर्दै सिआइसी विशेष प्रतिनिधि बने । 

सन् १९४६ मा किसिन्जरलाई क्याम्प किङको युरोपेली कमान्ड इन्टेलिजेन्स स्कुलमा पढाउन नियुक्त गरियो । उनलाई सेनाबाट अलग गरिए पनि कर्मचारीका रूपमा सरकारी सेवामा सक्रिय रहे । 

सन् १९५० मा हार्वर्ड कलेजबाट किसिन्जरले राजनीति विज्ञानमा स्नातक गरेका थिए । उनले हार्वर्ड विश्वविद्यालयमा सन् १९५१ मा मानविकी सङ्कायबाट स्नातकोत्तर र सन् १९५४ मा विद्यावारिधि पूरा गरे । किसिन्जरले हार्वर्डमा स्नातक पढ्दै गर्दा मनोवैज्ञानिक रणनीति बोर्डमा परामर्श निर्देशकका रूपमा काम गर्दै ‘कन्फ्युइन्स’ नामक पत्रिका सञ्चालनसमेत गरेका थिए । त्यो समय किसिन्जर एफबिआईको लागि गुप्तचरका रूपमा समेत सव्रिmय भूमिकामा थिए । 

किसिन्जर सन् १९५५ मा राष्ट्रिय सुरक्षा परिषद्को सञ्चालन समन्वय बोर्डको सल्लाहकार नियुक्त भए । सन् १९५५–१९५६ को अवधिमा उनले परराष्ट्र सम्बन्ध काउन्सिलमा परमाणु हतियार र विदेश नीतिमा अध्ययन निर्देशक रहेर काम गरेका थिए । सन् १९५६–१९५८ सम्म किसिन्जरले रकफेलर ब्रदर्स कोषका लागि विशेष अध्ययन परियोजना निर्देशक भएर काम गरे । 

किसिन्जरले आफ्नो आबद्धता धेरै निकायसँग जारी राखे ।  सरकारी निकाय र प्रबुद्ध वर्ग, अनुसन्धान कार्यालय, हतियार नियन्त्रण र निःशस्त्रीकरण एजेन्सी,  विभाग र निगमहरूमा सल्लाहकारका रूपमा उनले सेवा गरेका थिए । 

किसिन्जरलाई एक जना सफल अमेरिकी कूटनीतिज्ञ, राजनीतिशास्त्री, भूराजनीतिक सल्लाहकार र राजनीतिज्ञका रूपमा लिइन्छ । किसिन्जरले अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सन र गेराल्ड फोर्डको कार्यकालमा सुरक्षा सल्लाहकार तथा सेक्रेटरी अफ स्टेट (विदेशमन्त्री) को भूमिका निर्वाह गरेका थिए । सोभियत सङ्घसँग ‘डेटेन्टे’ नीतिको काम गरे, अमेरिका–चीन सम्बन्ध स्थापना सेतु, ‘योम किप्पुर’ युद्ध अन्त्यका लागि मध्यपूर्वमा ‘सटल’ कूटनीति र पेरिस शान्ति सम्झौता, भियतनाम युद्ध अन्त्यका लागि गरेको पहलका लागि किसिन्जरलाई सम्झने गरिन्छ । 

तर किसिन्जर आफैँमा भने विवादमुक्त थिएनन् । क्याम्बोडियामा भएका गोप्य बम हमला, सन् १९७३ मा चिलीमा भएको ‘कु’ मा संलग्नता, ‘डर्टी वार’ मा अर्जेन्टिनाको जुन्तालाई समर्थन, पूर्वी टिमोरमाथिको आक्रमणमा इन्डोनेसियाको समर्थन जस्ता विवादास्पद अमेरिकी नीतिसँग किसिन्जरको नाम जोडिने गर्छ । 

सन् १९६० र १९७० को दशकमा अमेरिकी विदेश नीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका किसिन्जरले सन् १९७३ मा भियतनाम–अमेरिकी युद्ध अन्त्यका लागि भएका वार्तालाई निष्कर्षमा पु¥याएका थिए । त्यसपछि अमेरिका–भियतनाम युद्ध अन्त्य भएको थियो । अमेरिकी सेक्रेटरी अफ स्टेट (विदेशमन्त्री) रहेकै बेला अर्थात् सन् १९७३ मा नोबेल शान्ति पुरस्कार पाए उनले । 

किसिन्जरलाई उत्तर भियतनामी नेता ले डक थोसँगै भियतनाम युद्ध अन्त्यका लागि भूमिका निर्वाह गरेको भन्दै नोबेल पुरस्कार दिइएको थियो । विवादित अमेरिकी विदेश नीतिका कारण भएका घटनामा संलग्न भएको भन्दै उनले पाएको नोबेल पुरस्कारमाथि प्रश्नसमेत उठेको थियो । 

निक्सन र किसिन्जरबीचको सम्बन्ध असामान्य रूपमा नजिक मानिन्थ्यो । किसिन्जर र निक्सनले गोपनीयताका लागि धेरै ‘ब्याकच्यानल’ वार्ता गरेका थिए । अमेरिकी इतिहासमा किसिन्जरको कार्यकाल स्मरणीय रहे पनि विवादमुक्त भने छैन र पनि किसिन्जरको पहलमा भएका केही उल्लेखनीय कार्य निम्नानुसार छन् :

चीनसँगको सम्बन्ध विस्तार

चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको नेतृत्वमा चिनियाँ क्रान्ति सम्पन्न भएपछि सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीनको स्थापना भयो । जनवादी गणतन्त्र चीनको स्थापनापश्चात् चियाङ काइसेक र उनका हजारौँ सैनिक ताइवान पलायन भए । चियाङ काइसेकले ताइपेईमा गणतन्त्र सरकार गठन गर्दै असली चीनको नेतृत्व आफूले गरेको दाबी गरेका थिए । 

त्यसपछि अमेरिका चियाङको पक्षमा उभियो । सोही कारण जनवादी गणतन्त्र चीन र अमेरिका सम्बन्धमा कटुता पैदा हुन गयो । अमेरिका र जनवादी चीनबीच संवादहिनताको अवस्था आइलाग्यो । सन् १९५० जुन २५ मा सोभियत सङ्घ समर्थित उत्तर कोरियाली जनसेनाले दक्षिण कोरियामा आक्रमण गर्दा संयुक्त राष्ट्रसङ्घ र अमेरिका दक्षिण कोरियाको पक्षमा उभिए । अमेरिका, संयुक्त राष्ट्रसङ्घ र दक्षिण कोरियाली सेना चिनियाँ सीमा नजिक पुगेपछि चीनले उत्तर कोरियालीलाई समर्थन गर्‍यो । सन् १९५३ सम्म कोरियाली युद्धमा ४० लाख मानिसले ज्यान गुमाए । 

ताइवानका विषयलाई लिएर त्यसपछिका दिनमा अमेरिका र जनगणतन्त्र चीनबीचको सम्बन्ध झनै चिसिन पुग्यो । सन् १९५९ पछि अमेरिकाले दलाई लामा समर्थित खम्पा विद्रोहीलाई सहयोग गरेपछि अमेरिका चीन सम्बन्ध झनै बिग्रन पुग्यो । यसैबीच सन् १९६४ अक्टोबरमा परमाणु बमको सफल परीक्षण गर्दै चीन परमाणु क्लबमा सामेल भयो । यसरी चीन र अमेरिकाबीच संवादहिनताको स्थिति थियो । 

पछि राष्ट्रपति रिचर्ड निक्सनले चीनसँग औपचारिक सम्बन्ध स्थापना गर्न चाहेका थिए । त्यतिबेला अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका किसिन्जरको भने चीनप्रति कम चासो थियो । पछि निक्सनकै कारण किसिन्जर चीनसँगको सम्बन्ध स्थापनाका सूत्र बन्न पुगे ।

सन् १९७० अप्रिलमा निक्सन र किसिन्जरले चियाङ काई–सेकका छोरा चियाङ चिङ–कुओलाई अमेरिकाले ताइवानलाई साथ दिन कहिल्यै नछाड्ने तथा माओत्से तुङसँग कुनै सम्झौता नगर्ने बताए तर माओसँग सम्बन्ध सुधार गर्ने इच्छाबारे अस्पष्ट कुरा गरे । 

वासिङ्टन र बेइजिङबीच सम्बन्ध स्थापनाका लागि पहिलो सार्वजनिक सङ्केतका रूपमा चीनको पिङ–पोङ (टेबुल टेनिस) टोलीले सन् १९७१ अप्रिल ६ मा अमेरिकी खेलाडीलाई खेलका लागि गरेको आमन्त्रणलाई लिइन्छ । उक्त खेलका क्रममा सन् १९४९ पछि पहिलो पटक अमेरिकी खेलाडीसँगै अमेरिकी पत्रकारहरू चीन पुगेका थिए । 

त्यसपछि किसिन्जरले सन् १९७१ जुलाईमा चीन भ्रमण गरे । किसिन्जरको उक्त चीन भ्रमण गोप्य राखियो । भेटमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले किसिन्जरसँग अमेरिकाले ताइवानलाई जनगणतन्त्र चीनको अभिन्न वैधानिक अङ्गका रूपमा स्वीकार्नु पर्ने, ताइवानमा रहेका अमेरिकी सैनिक फर्काउनुपर्ने र चियाङ काइ सेकको कुमिन्ताङलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकिनुपर्ने बताए । 

चिनियाँ प्रधानमन्त्री लाइको भनाइमा किसिन्जरले सहमति जनाएका थिए । सन् १९७१ अक्टोबरमा किसिन्जरको दोस्रो चीन भ्रमण भयो । अमेरिकाले एक चीन नीतिमा समर्थन जनाउने भएपछि राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणको टुङ्गो लाग्यो । सन् १९७२  फेब्रुअरीमा राष्ट्रपति निक्सन आठदिने चीन भ्रमणमा गए । भ्रमणका क्रममा निक्सनले अध्यक्ष माओ र प्रधानमन्त्री चाउ एन लाइसँग साङ्घाई वक्तव्यमा हस्ताक्षर गरेका थिए । उक्त वक्तव्यले चीन र अमेरिका बीचको सम्बन्धमा सुधार ल्याउन मार्ग प्रशस्त गर्‍यो । अमेरिका र चीनबीच औपचारिक सम्बन्ध स्थापना भयो । अमेरिकाले तिब्बती खम्पाहरूलाई उपलब्ध गराउँदै आएको सहयोग पनि रोक्यो । 

सन् १९७७ दशकताका रोडेसिया नामक मुलुकका रूपमा रहेका जिम्बाब्वे र जाम्बियामा गोराहरूको शासन थियो । गोराहरूले रैथाने बहुसङ्ख्यक काला जातिमाथि शासन गरिरहेका थिए । सोही कारण रोडेसियामा स्वतन्त्रता अभियान जारी थियो । आन्दोलनलाई सोभियत सङ्घको सहयोग थियो । रोडेसियामा सोभियत सङ्घ अश्वेत जाति र अमेरिका गोराहरूको पक्षमा उभिँदा दुई शक्ति राष्ट्र अमेरिका र सोभियत सङ्घ आमनेसामने भए । स्थिति यस्तो थियो कि जतिबेला जे पनि हुन सक्थ्यो । सोही परिस्थितिलाई मध्यनजर राख्दै किसिन्जरले वार्ताको पहल गरे । किसिन्जरले रोडेसियाको स्वतन्त्रताका साथै बहुसङ्ख्यक अश्वेत जातिलाई सत्ता हस्तान्तरण गर्न गोराहरूलाई मनाएका थिए । 

भियतनाम युद्धमा विराम :

सन् १९७० को दशकमा भियतनाम उत्तरी र दक्षिण गरी दुई देशमा विभाजित थियो । उत्तरी भियतनामी सरकारलाई चीन–सोभियत सङ्घको समर्थन प्राप्त थियो भने दक्षिणी भियतनामलाई अमेरिकी समर्थन । उत्तरी भियतनाममा कम्युनिस्ट सरकार थियो । सोही कारण अमेरिका विभाजित भियतनामको एकताको विपक्षमा थियो । सोही कारण विभाजित भियतनाम शीतयुद्धकालीन दुई ठूला शक्ति राष्ट्र अमेरिका र सोभियत सङ्घको चेपुवामा पर्‍यो । अझ अमेरिका त आफैँ भियतनाम युद्धमा होमियो । युद्धमा हजारौँ अमेरिकी सैनिक हताहत भए । 

भियतनाम युद्धमा अमेरिकी संलग्नताको अमेरिकाभित्रै चर्को विरोध भयो तर भियतनाम युद्धलाई अमेरिकाले आफ्नो प्रतिष्ठासँग जोडेका कारण ऊ युद्धबाट पछि हट्ने मनस्थितिमा थिएन । अमेरिकामा भने युद्धमा सामेल सैनिकका परिवार र युद्धविरोधी जनता विरोधका नारासहित सडकमा थिए । भियतनाम युद्धमा अमेरिकी संलग्नताले संसारभर आलोचित हुनु परेको अवस्था थियो । त्यस परिस्थितिमा किसिन्जरले भियतनाम युद्ध अन्त्यका लागि निर्णायक वार्ता गराएर युद्धको अन्त्य गराएका थिए । 

साल्ट–१ सन्धि 

शीतयुद्धकालमा दुई ध्रुवको नेतृत्व गरिरहेका अमेरिका र सोभियत सङ्घले एकअर्काविरुद्ध तयारी हालतमा राखेका हजारौँ परमाणु हतियार कटौतीका लागि सन् १९७३ मा सम्पन्न साल्ट–१ सन्धि हुनुमा किसिन्जरलाई सम्झने गरिन्छ । सन् १९७३ अक्टोबरमा स्वेज नहर सम्बन्धमा उत्पन्न विवादका कारण इजिप्ट–इजरायल युद्ध भड्केपछि मध्यपूर्वका मुस्लिम मुलुकहरू इजिप्टको पक्षमा उभिएका थिए । इजरायललाई अस्तित्वको सङ्कट आइलागेपछि अमेरिका इजरायलको पक्षमा उभिएको थियो । 

त्यसपछि सोभियत सङ्घले अरब मुलुकको पक्ष लियो । सोही कारण विश्वयुद्धको अर्को बादल मडारिँदै गर्दा किसिन्जरले खेलेको भूमिकाका कारण मध्यपूर्वमा युद्धको बादल तत्कालका लागि हटेको थियो । किसिन्जरले पञ्चायतकालमा दुई पटक नेपालको समेत भ्रमण गरेका थिए ।