• १२ असोज २०८१, शनिबार

पन्ध्र आयोजनालाई हटाइयो पिपिए सूचीबाट

blog

काठमाडौँ, पुस २२ गते । जलविद्युत् उत्पादनको लाइसेन्स लिने तर आयोजना विकासका लागि निर्धारित समयमा सक्रियता नदेखाएका १५ वटा जलविद्युत् आयोजनालाई विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) को सूचीबाट हटाइएको छ । 

प्राधिकरणले निर्धारण गरेको समयभित्र पिपिए गर्न नआएका तथा आए पनि पर्याप्त कागजात नबुझाएका कारण शुक्रबार ती आयोजनालाई सूचीबाट हटाएर अन्य छ आयोजनालाई पिपिएका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ ।  

सूचीबाट हटाइएका आयोजनाले कुल २१५ मेगावाटका लागि अनुमति पाएका थिए । खारेजीमा पर्ने आयोजनामा सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–२ रहेको छ । त्यस्तै ८५ मेगावाटको चमेलिया (छैटीगाड) आयोजनाले पनि पिपिए गर्न नपाउने भएको छ । 

जलप्रवाही (आरओआर) आयोजनाका लागि निर्धारित कोटा नरहेको भन्दै प्राधिकरणले करिब तीन वर्षदेखि पिपिए रोकेको थियो । निजी ऊर्जा उत्पादकहरूले आयोजना अध्ययन भइसकेका र कनेक्सन एग्रिमेन्ट भइसकेका सबै आयोजनाको पिपिए गर्न माग गर्दै आएका थिए । सोही अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप आयोजनासँग पिपिए गर्न पाउने नीतिगत व्यवस्था गरेपछि प्राधिकरणले पुनः पिपिए गर्ने निर्णय गरेको थियो । प्राधिकरणको सञ्चालक समितिले २०७९ माघ २६ गते गरेको निर्णयका आधारमा पिपिए खुलाएको थियो । 

प्राधिकरणले गत असोजमा जलप्रवाही आयोजनाका लागि छ हजार ७५० मेगावाट नपुगेसम्म ग्रिड कनेक्सन एग्रिमेन्टको रोलक्रमका आधारमा जलविद्युत् आयोजनाको पिपिएका लागि आह्वान गरेको थियो । सोही रोलक्रममा परेका तर पिपिए प्रक्रियामा नआएका आयोजनालाई हटाएर नयाँलाई स्थान दिएको हो । प्राधिकरणले रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका पिपिएका लागि योग्य नदीप्रवाही आयोजनाको पिपिए प्रक्रिया अघि बढाउने जानकारी दिएको छ । 

प्रसारण सम्झौता भइसकेका २२८.८५८ मेगावाटका छ आयोजनालाई बोलाउने निर्णय भएको छ । अब रोलक्रम अनुसार ४१ मेगावाटको सङ्खुवा खोला, २८.९ मेगावाटको होङ्गु खोला, २२.२४८ मेगावाटको अप्सुवा खोला–१, ३५.१५० मेगावाटको माथिल्लो अप्सुवा खोला, २४ मेगावाटको सुपर सेती र ७७.५ मेगावाटको घुन्सा खोला आयोजनाको पिपिए हुने छ । प्राधिकरणले यी आयोजनालाई १५ दिनभित्र पिपिएको आवश्यक प्रक्रियाका लागि सम्पर्कमा आउन आग्रहसमेत गरेको छ ।