• २० असार २०८२, शुक्रबार

निजामती सेवा विधेयक रोक्न आजपाले खोज्यो राष्ट्रियसभा अध्यक्षको साथ

blog

काठमाडौँ, असार १९ गते। आम जनता पार्टी (आजपा)ले तल्लो तहमा काम गर्ने श्रेणीविहिन कर्मचारीको माग सम्बोधन गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ज्ञापनपत्र बुझाएको छ। प्रतिनिधि सभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक २०८२’ मा श्रेणीविहीन कर्मचारीलाई प्रवेश निषेध गरेपछि आजपाले विरोध जनाएको छ। 

आजपाले काठमाडौँको सिंहदरबारमा बिहीबार राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएको हो। आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा श्रेणीविहीन कर्मचारीको सम्पूर्ण अधिकार सुनिश्चित गर्न गराउन विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने माग गरेको छ। 

समानताको मौलिक हक अनुरूप सामाजिक न्यायलाई आत्मसात गर्दै विधेयकमा आवश्यक संसोधन गर्नुपर्ने, ५८ वर्षको उमेर हदलाई ६० वर्ष पुर्‍याउनुको आवश्यक्ता र औचित्य पुष्टि गर्नुपर्ने, कुलिङ् पिरियड सम्बन्धी व्यवस्थामा भएको स्वार्थपूर्ण छेडछाडमा संलग्न दोषीहरूमाथि कारबाही गर्नुपर्ने, अतिरिक्त विशिष्ट श्रेणी सम्बन्धी व्यवस्थाको औचित्य पुष्टि गरी पदावधि निश्चित गर्नुपर्ने लगायतका माग आजपाले गरेको छ। 

प्रतिनिधि सभाले पारित गरेको सङ्घीय निजामती सेवा विधेयकले सरकारी सेवाको तल्लो तहमा काम गर्ने श्रेणीविहीन कर्मचारीहरूलाई निषेध गरी देशको शासनप्रक्रियाबाट आम नागरिकको सहभागिता र स्वामित्व अन्त्य गर्ने दुस्प्रयास गरिएकोप्रति आजपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यो विपन्न श्रमजीवी वर्गप्रतिको विभेदपूर्ण कार्य असंवैधानिक र गरिब विरोधी रहेको ठहर आजपाको छ।   

आजपाको ज्ञापनपत्र बुझ्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले थप छलफलका लागि समितिमा पठाउँने बताए। आजपा प्रवक्ता साह, नेता रञ्जु साह, विजय यादव, मिनादेवी साह, चन्द्रिकालाल साह लगायतको सहभागिता रहेको आम विद्यार्थी मोर्चा केन्द्रीय सदस्य धिरेन्द्र साह (प्रभात)ले जानकारी दिनुभयो।