• ८ जेठ २०८१, मङ्गलबार

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनबिच सिट बाँडफाँट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग शनिबार राष्ट्रिय सभाको सिट बाँडफाँटबारे छलफल गर्नुहुँदै । तस्बिर : प्रम सचिवालय

काठमाडौँ, पुस २२ गते । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबिच सिट बाँडफाँटमा सहमति भएको छ । शनिबार राति अबेरसम्म बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको हो । यद्यपि यसको अन्तिम निर्णय भने आइतबार बिहान बस्ने बैठकले गर्ने बताइएको छ । 

बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ का अनुसार निर्वाचन हुन गइरहेका १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने निर्णय भएको छ । “करिब करिब यसै वरिपरि सहमति भएको छ,” पुनले भन्नुभयो, “यसबारे एकीकृत समाजवादीका साथीहरूले एक पटक फेरि बस्छौँ भन्नुभएको छ । भोलि बिहान बस्ने बैठकले अन्तिम रूप दिने छ ।” 

बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले भने सिट बाँडफाँटमा सबै पार्टीहरूको आआफ्नो दाबी कायमै भएकाले आज सहमति हुन नसकेको बताउनुभयो । उहाँले आइतबार पुनः बैठक बस्ने गरी आफूहरू बैठकबाट बाहिरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ ७ बजेदेखि सुरु भएको बैठक राति करिब १२ बजेसम्म बसेको थियो । 

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित ती दलका दोस्रो तहका नेताहरूसमेत संलग्न हुनुहुन्थ्यो । 

यसअघि यी पाँच पार्टीबाहेक सरकारमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नागरिक उन्मुक्ति पार्टीका नेता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ बैठकको बिचबाटै बाहिरिनुभएको थियो । बैठकमा सहभागी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहमतिको प्रयास जारी रहेको बताउनुभयो । 

राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जनाको पदावधि सकिँदै छ । जसमा एमालेबाट सबैभन्दा बढी आठ जना, कांग्रेसबाट चार जना, माओवादी केन्द्रबाट तीन जना, एकीकृत समाजवादीबाट दुई जना, जनता समाजवादी पार्टी (जसपा) बाट एक जना स्वतन्त्र एक जना मनोनीत (एमाले) एक जना रिक्त हुँदै छन् । एमालेबाट रिक्त हुन लागेको नौ सिट सत्ता गठबन्धनभित्र भागवण्डा लगाउन नेताहरू प्रयासरत रहेका हुन् ।      

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।