• १२ असोज २०८१, शनिबार

पूर्वको मेचीनगरमा चरा पर्यटनको सम्भावना

blog

मेचीनगरमा देखिएको ‘रातोठुँडे पुष्पकोकिल’। तस्बिर : देवेन्द्र खरेल

विष्णुप्रसाद पोखरेल

दमक, पुस २१ गते। विशेष गरेर भारत, श्रीलङ्का, बङ्गलादेश र पश्चिमी म्यानमारमा पाइने सबैभन्दा सानो चरा झापाको मेचीनगरमा फेला परेको छ। चरासम्बन्धी खोज गर्दै आउनुभएका वन्यजन्तु फोटो ग्राफर देवेन्द्र खरेलका अनुसार पहिलो पटक यहाँ सबैभन्दा सानो चरा फेला परेको हो।

यो चरा जम्मा ८ सेन्टिमिटरको मात्र छ। यसले विशेष गरेर जामुन लगायत फूलहरुको रस मन पराउँछ। यसको अङ्ग्रेजी नाम ‘प्याले–बिल्ड फ्लावरपेकर’ हो। यसको नेपाली नाम ‘रातोठुँडे पुष्पकोकिल’ भएको खरेलले जानकारी दिनुभयो। यहाँ मैले पहिलो पटक देखेको हो र यो सबैभन्दा सानो चरा हो’, उहाँले भन्नुभयो।

यो चरा विशेष गरेर सहरी क्षेत्रमा बस्न रुचाउने बताइएको छ। चरा सादा खैरोदेखि जैतून हरियो हुन्छ। चरासम्बन्धी अध्ययन गर्दै आउनुुभएका खरेलका अनुसार संरक्षित क्षेत्र बाहेक सबैभन्दा बढी चरा मेचीनगरमा रहेको उहाँको दाबी छ। मेचीनगर चराको हब हो भन्ने प्रमाणित हुँदैछ, उहाँले जनाउनुभयो।

मेचीनगर नगरपालिकामा मात्र ३३० प्रजातीका चरा आफूहरुले पत्ता लगाएको खरेलले बताउनुभएको छ। तीन सय प्रजातिको चराको फोटो आफैँ खिचेको उहाँको दाबी छ। संरक्षित क्षेत्र बाहेक हेर्ने हो भने सम्भवतः नेपालको मेचीनगरमा नै सबैभन्दा बढी चरा पाइने भएकाले यहाँ चरा पर्यटनको सम्भावना प्रबल रहने बताइन्छ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाज नामक संस्था बनाएर खरेलले चराको खोज, संरक्षण र चरा चिनाउने काममा लाग्दै आउनुभएको छ। मेचीनगर नगरपालिकाको सतीघट्टामा वि.सं. २०७७ साल मङ्सिर ९ गते खरेलले नेपालमा हरित परेवा पाइन्छ भनेर पत्ता लगाउनुभएको थियो।

वैज्ञानिक नाम ’डुकुला एनिया’ रहेको यो चराको नाम हरित परेवा आफैँले नामकरण गरेको उहाँले जनाउनुभएको छ। यो ठूलो आकारको एक जङ्गली परेवा हो। यो प्रजातिको परेवा दक्षिणी भारत, श्रीलङ्कालगायत दक्षिणी चीन, इन्डोनेसिया र फिलिपिन्ससम्म पाइने गरेको थियो।