• २ जेठ २०८१, बुधबार

जितगढी किल्ला स्वाभिमान र पहिचानको स्थल : राष्ट्रपति पौडेल

blog

जितगढी किल्ला हस्तान्तरण समारोहमा राष्ट्रपति पौडेल । तस्बिर : राष्ट्रपति कार्यालयको सचिवालय

लक्ष्मण पौडेल

भैरहवा, पुस २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी ऐतिहासिक स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल रहेको बताउनुभएको छ । उहाँले किल्लाको संरक्षण तथा पर्यटन प्रवर्धनका लागि बुटवल उपमहानगरले योजना बनाएको भन्दै प्रशंसा गर्नुभयो ।

राष्ट्रपति पौडेलले जितगढीको महत्त्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको योजना सह्रानीय रहेको बताउनुभयो । उहाँले जितगढी किल्लालाई नयाँ पुस्ताको अध्ययन अवलोकनका साथै अनुसन्धानको केन्द्र बनाउनुपर्ने सुझाव दिनुभयो ।  

राष्ट्रपति पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र मानेर आसपासका पर्यटन क्षेत्रलाई एउटै सर्किटमा जोड्न आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “रामापिथेकस, सहश्रधारा, हिलपार्क हुँदै जितगढीसम्म एउटै पर्यटन सर्किटको रूपमा विकास गर्न सके यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण इँटा थपिन्छ ।”

अङ्ग्रेजले पराजय भोगेको स्थल बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आज जितगढी किल्ला बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गर्नुभयो ।  

बुटवल उपमहानगरपालिका–१ मा रहेको जितगढी किल्लाको पुनः निर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै जितगढी किल्ला बुटवल उपमहानगरपालिका मातहत आएको छ । 

हस्तान्तरण भएपछि उपमहानगर प्रमुख खेलराज पाण्डेयले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने बताउनुभयो । “यो किल्ला हामी मातहतमा आएसँगै हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अङ्ग्रेज युद्धको अध्ययन गर्ने थलोका रूपमा विकास गर्नेछौँ” उहाँले भन्नुभयो, “यहीँ नजिकै युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।” 

नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले किल्ला क्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रूपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको जानकारी दिनुभयो । 


कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्लाको संरक्षणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो । समारोहमा इतिहासविद् निर्मल श्रेष्ठले जितगढी किल्लाको इतिहासबारे जानकारी गराउनुभएको थियो । त्यस्तै, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलले जितगढीको विकासका लागि थालेका प्रयासबारे जानकारी गराउनुभयो । 

बुटवल नगरपालिका–१ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ । जितगढीमा वि.सं. १८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबिच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका रूपमा मनाउँदैआएको छ ।

यो पनि पढ्नुहोस