• १२ साउन २०८१, शनिबार

गाउँ रित्तिने क्रम बढेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त

blog

तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

अमरराज नहर्की
तनहुँ, पुस २० गते ।
 राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने अवस्था रहेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अबका दुई–चार वर्षमा सबै गाउँमा कालोपत्रे सडक पुर्‍याउन हामी लागेका छौँ  तर समस्या त्यही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने हाम्रो हालत छ । 


राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर गएर उतै बस्नुभयो । गाउँको समस्या यही हो । 

राष्ट्रपति पौडेलले आफूले पहिलो चोटि चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर “गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँ बसौँ बनाउँछु’’ भनेको स्मरण गर्नुभयो । आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताउनुभयो । उहाँले गाउँ गाउँमा सबै विकास र सुविधा पुगे पनि गाउँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि दोस्रो पटक गृह जिल्ला पुग्नुभएको राष्ट्रपति पौडेलले आफूले बैदी–छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार–कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्नुहुँदै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्पष्ट पार्नुभयो ।

उहाँले हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अबको  शिक्षा पनि यिनै विषयमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, बायो डाइभर्सिटी छ । त्यसलाई हामीले चिन्न सकेनौँ । हामी फोस्रा नारामा बढी बहकियौँ । कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौँ । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौँ ।’’


उहाँले हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरे गाउँमै रोजगारी र आम्दानी आउने बताउनुभयो । पौडेलले भन्नुभयो, ‘‘हिमालबाट उर्लेर बग्ने हाम्रा नदीनालाबाट हजारौँ मेघावाट ऊर्जा उत्पादन गरी छिमेकमा समेत बिक्री गरौँ, हामी यहीबाट धनी हुन्छौँ । आफ्नो परिवार तड्पाएर विदेशतिर भौँतारिन पर्दैन । आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैँले आफैँलाई चिनौँ–गाउँमुखी बनौँ– नेपालमुखी बनौँ, हाम्रो स्कुलमा पढाउने यही नै हो असली राष्ट्रवाद ।’’

राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको आधारशीला भएको बताउनुहुँदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिपबिना तथा आचरणबिनाको नागरिकबाट देश संवृद्ध हुन सक्दैन । सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर वृद्धि गरी सिपवान र शीलवान नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ ।’’ सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरूपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरूपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।