• १४ मंसिर २०८१, शुक्रबार

सप्तकोशी हुँदै जोखिमपूर्ण व्यापार

blog

बाबुराम कार्की 

वराहक्षेत्र, पुस १७ गते । सप्तकोशी नदी बर्खामा धेरैका लागि त्रासदीपूर्ण भए पनि हिउँदमा भने आयस्रोतको राम्रो माध्यम बन्दै आएको छ । हिउँदमा कोशी नदीमा पानी घट्दै गएपछि नदीबाटै जीविका चलाउनेहरूको काम सुरु हुन्छ । नदीलाई ढुवानी बनाएर पूर्वी पहाडी जिल्लाबाट बाँसका बिटो तराई झार्न सुरु गरिन्छ । 

कात्तिकको पहिलो सातादेखि नै कोशीसँग जोडिएका पहाडी जिल्लाबाट नदीमा बाँसको बिटो बगाउँदै सुनसरीको चतराघाटमा ल्याइन्छ  । वेलका नगरपालिका वडा नम्बर–६ का २२ वर्षीय अदीप राईले १७ वर्षदेखि कोशी नदी हुँदै बाँसका बिटा ल्याउने काम गर्दै आउनुभएको छ । अदीप यसरी नदीबाट बाँस ल्याउने प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता थुप्रै युवाले नदीको बहावमार्फत बाँस ओसारेर वराहक्षेत्र र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा पु र्‍य ाउने गर्छन् । 

पन्ध्र वर्षको उमेरदेखि बाँसको काम गर्दै आउनुभएका वेलका–६, घुरघुरेका जापन राईले नदीमा बाँसको बिटो ओसारेर १६ वर्ष बिताइसक्नुभएको छ । नदीबाट बाँसको बिटो ल्याउन जोखिम हुने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “बाँससँगै आफू पनि बग्दै आउनुपर्छ । कहिलेकाहीँ बाँस नदीको ठुला ढुङ्गामा अड्किँदा रातभर आफू पनि अड्किनुको विकल्प हुँदैन । अति जोखिमपूर्ण काम भए पनि यसैबाट जीविका चलाउनुपर्ने बाध्यता छ ।” 

कात्तिकदेखि जेठको पहिलो सातासम्म पूर्वी पहाडी जिल्लाका भोजपुर, धनकुटा, उदयपुर, खोटाङका गाउँबाट बाँस खरिद गरेर नदीमा बगाएरै सुनसरीको वराहक्षेत्र–६, सिसौली घाटमा ल्याइने गरिन्छ । वर्षको ८ महिना बाँसको व्यवसाय चल्छ । यही व्यवसायबाटै वर्षौंदेखि जीवन धानीरहेको जापन राई बताउनुहुन्छ ।  झ्याङमा बाँस काट्नेदेखि बिटो बगाएर ल्याउने, कोशीबाट डिलमा निकाल्ने र ट्रकमा लोड गर्नेसम्मले रोजगारी पाएको बाँसका व्यापारी बताउँछन् । 

एक बिटो बाँस बगाएर घाटसम्म ल्याउँदा तीन हजारदेखि तीन हजार पाँच सयसम्म कमाइ हुन्छ । चार घण्टाको कोशी नदीको चिसो पानीमा बाँसको बिटोमा बसेर बग्नु पनि उत्तिकै जोखिम छ । चतरा, मैनामैनी, धनकुटाको दक्षिणी कोशी क्षेत्रसँग जोडिएका गाउँका अधिकांश युवा यस्तो व्यवसायका लागि  कोशीमा हेलिँदै सुनसरीको चतरा आउने गरेका छन् । नजिकका गाउँबाट बाँस ल्याउँदा एक बिटोमा एक सय पचास वटासम्म ल्याइन्छ । टाढाका गाउँबाट ल्याउनुपर्दा ६० देखि ८० वटा मात्रै ल्याउने गरेको आसिम राई बताउनुहुन्छ ।

आठ वर्षदेखि बाँसको व्यवसाय गर्दै आउनुभएका चतराका राज कार्की सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपियाँसम्म आम्दानी हुने बताउनुहुन्छ । उहाँ बताउनुहुन्छ, दैनिक दुई हजार पाँच सयदेखि तीन हजार वटा बाँस यसरी आउने गरेका छन् । यसरी ल्याइएका बाँस धरान, विराटनगर, इटहरी, काठमाडौँ, पालुङ, पोखरा, डडेलधुरासम्म पु-याउने गरिएको उहाँको भनाइ छ ।