गाईघाट समाचारदाता
गाईघाट, असार १५ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा नयाँ पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटबारे सङ्घीय संसद्मा केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संक्षिप्त जवाफ दिँदै त्रियुगाको पुल बनाउन बजेट सुनिश्चित भएको बताउनुभएपछि सिवाहीस्थित त्रियुगा नदीमा पुल बन्नेमा स्थानीय ढुक्क भएका हुन् ।
यसअघि पुल सञ्चालनमा आउन लाग्दा बिचको पिल्लर भासिएर तीन वटा स्ल्याब भत्किएपछि अलपत्र परेको उक्त पुल निर्माणमा बजेटको सुनिश्चत गरिएको छ भनेर प्रधानमन्त्रीले सदनबाटै पुलको समस्याको चाँडै समाधान गर्ने गरी प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
उदयपुर क्षेत्र नं. १ का सङ्घीय सांसद् एवं पूर्वमन्त्री डा. नारायण खड्काको प्रयासका साथै उदयपुर जिल्लाका सबै राजनीतिक दल तथा स्थानीय जनप्रतिनिधिको मागलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुँदै सिवाहीस्थत भत्किएको पुल अब तुरुन्तै निर्माण प्रव्रिmयामा लगिने भएको हो ।
एमाले उदयपुरका अध्यक्ष भागवत राउतले पछिल्लो समय समस्या समाधान गर्न नेपाली कांग्रेस, नेकपा एमालेलगायतका ठुला राजनीतिक दलको अहम् भूमिका रहेको बताउनुभयो । निर्माणको अन्तिम चरणमा पुगेका बेला पिल्लर धसिएर भत्किएको पुल कहिले बन्ला भन्ने चिन्ता अब समाप्त भएको छ भन्नुहुँदै नगरप्रमुख कालुमान लामा र वडा नं. ५ का वडाध्यक्ष तुलसीराम ढकालले स्थानीय आवश्यकताको आधारमा ठुला योजनामा रकम विनियोजन गरिएकाले नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।