• १४ मंसिर २०८१, शुक्रबार

रुपन्देहीका दश सहकारी बन्द

blog

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था ।

लक्ष्मण पाैडेल

भैरहवा, पुस १६ गते । बचतकर्ताको रकम फिर्ता नगरिकनै रुपन्देहीका सहकारी संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । पछिल्लो समय मुलुकमा सहकारीमा देखिएको विचलनको प्रभाव रुपन्देहीमा पनि परेको छ । 

सहकारी नियममा सञ्चालन नहुँदा बचतकर्ताको रकम जोखिममा परेको छ । बचतकर्ताले रकम माग्न थालेपछि सञ्चालकले सहकारी बन्द गर्न थालेका छन् । ग्राहकको रकम फिर्ता गर्न नसकेपछि डेढ वर्षको अवधिमा जिल्लामा सञ्चालित दश वटा सहकारी बन्द भइसकेका छन् ।

बुटवलको योगीकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था झण्डै तीन करोड बचत रकम फिर्ता गर्न नसकेपछि बन्द भयो । अहिले योगीकुटीबाट सहकारीको कार्यालय हटेको छ । कृषि सामग्री उत्पादन र ग्रोसरी सामग्री बिक्री गर्दै आएको शिवशिखरले दैनिक बचत रकम अन्य व्यवसायमा लगानी गर्दै गएपछि स्थानीय बचतकर्ता समस्यामा परेका हुन् । बुटवलमा तीन वर्षअघि कार्यालय खोलेको यो सहकारीमा झन्डै एक हजार सात सय बचतकर्ता थिए ।

बुटवल र भैरहवामा कार्यालय रहेका सुप्रिम, आगन्तुक, साइन, विश्वविराट, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुउद्देश्यीय सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द भएका छन् । बुटवलका सहकारीहरूले लघु जलविद्युत्, उद्योग, पर्यटन, कृषिका क्षेत्रमा बढी लगानी गरेका छन् । त्यस्तै, घरजग्गा खरिद, हायर पर्चेजमा पनि सहकारीको बिना धितो लगानी छ । तर स्थानीय र प्रदेश सरकारको नियमन र अनुगमन फितलो छ । जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भीम तुलाचनले सहकारीले बचत सङ्कलनको ६० प्रतिशत व्यापार व्यवसायमा र ४० प्रतिशत घरजग्गा, गाडी लगायतका अन्य क्षेत्रमा लगानी गर्ने गरेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख गुणाकर खनालले उपमहानगरमा दर्ता भएका एक सय ३६ सहकारीमा कुनै समस्या नरहे पनि संघ एवम् प्रदेशमा दर्ता रहेका करिब एक दर्जन सहकारीमा बढी समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार नगर र प्रदेशमा दर्ता भएका समेत गरी बुटवलमा दुई सय १५ भन्दा बढी सहकारी छन्  । रूपन्देहीमा मात्र झन्डै आठ सय सहकारी छन् । "बुटवल उपमहानगरभित्रका ६० हजार शेयर सदस्यको सात अर्ब ४० करोड रुपियाँ सहकारीमार्फत लगानी भएको छ," उहाँले भन्नुभयो, "त्यसको सुरक्षाका लागि पालिकामार्फत हरेक तीन महिनामा छलफल गरेर समस्या र समाधानका प्रयास खोज्ने गरिएको छ ।"

लुम्बिनी प्रदेशको सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा सहकारी दर्ताकै समयमा प्रभावकारी नियमनको व्यवस्था हुन नसक्दा अहिले खुलेका सहकारीले सङ्कट निम्त्याउँदै गएको बताउनुभयो । उहाँका अनुसार लुम्बिनीमा दर्ता भएका चार हजार एक सयभन्दा बढी सहकारी सञ्चालनमै छन् । ६ लाखभन्दा बढी नियमित बचतकर्ता छन् । तीनको ६० अर्ब निक्षेप सङ्कलन र झण्डै ४५ अर्ब रुपियाँ लगानी छ । त्यसमध्य झण्डै सात अर्ब मात्र शेयर पुँजी छ ।