युग रूपान्तरण गर्ने क्षमता सबैमा हुँदैन । इतिहासको संश्लेषण गर्न सक्ने बिरलै साहसीले वर्तमानको पदचाप पहिल्याउँदै भविष्यको दिशा निर्देश गर्ने हिम्मत राख्छन् । तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ को निरङ्कुश स्वेच्छाचारी कुशासन लादेपछि अन्धकार छायो । देश काराबासमा परिणत भयो । नागरिकका सम्पूर्ण स्वतन्त्रता बन्धक भए । प्रेस स्वतन्त्रताको प्राणवायुको नामोनिसान रहेन । सशस्त्र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को हिंसात्मक दशकले मुलुक थिलथिलो थियो । पूर्वाधारको नष्टीकरणले आर्थिक विकास झनै ठप्प भयो । राज्य र विद्रोहीको चेपुवामा परेका नागरिक ज्ञानेन्द्रको कदमपछि त तावाबाट भुङ्ग्रोमा पुगे । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनासँगै प्राप्त सबै अधिकारमा विराम लाग्यो । राजनीतिक दल निरङ्कुशताको निसानासँगै सीमान्तकृत भए । हिंसा र प्रतिहिंसाले नेपाली समाज तहसनहसको बाटोमा पुग्न लाग्दा मुलुकले साहसी नायकको खोजी गर्नु स्वाभाविक हो । असंवैधानिक तवरले विघटित विधायिका फेरि ब्युँताएर गणतन्त्रको युगमा प्रवेश गर्नुपर्ने राजनीतिक मार्गचित्र गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) ले उठान गर्नुभयो । संसद्वादी राजनीतिक शक्तिलाई सोही मार्गचित्रमा एकीकृत गराउँदै विद्रोही माओवादीलाई लोकतान्त्रिक गणतन्त्रको कार्यसूचीमा सहमत गराउनुभयो । जनआन्दोलनको रचना गर्नुभयो । तत्कालीन परिवेशमा पूरापूर असम्भव जस्तै लाग्ने मार्गचित्र अघि बढ्यो । असाध्यै प्रतिकूल र असहज परिस्थितिमै राजनेताको पहिचान हुने हो । राजनेता त्यही हो जसले युग बदल्ने क्रान्तिको नेतृत्व गर्न सक्छ । गिरिजाबाबु लोकतान्त्रिक गणतन्त्रको क्रान्ति उठाई, त्यसलाई सफल बनाउँदै मुलुकलाई मूल विधि निर्माणका निम्ति संविधान सभासम्म पुर्याउन सफल हुनुभयो ।
अहिले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा छ । देशमा सङ्घ, प्रदेश र स्थानीय सरकार लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सुअवसरमा क्रियाशील छन् र नागरिकका प्रश्न पनि छन् । लोकतन्त्रमा शासकले शासकीय ढङ्ग नपुर्याउँदा विकृति र विसङ्गति पनि मौलाउँछन् । सबै लोकतान्त्रिक मुलुकको आन्तरिक जीवनमा अनेक विकृत अवयव नचाहेर पनि आउने गर्छन् । लोकतान्त्रिक अभ्यासमा नागरिकसँग त्यस्ता विकृति र विसङ्गतिका खलपात्रलाई इतिहासको गर्तमा फाल्ने तागत हुन्छ । आवधिक निर्वाचनले लोकतन्त्रलाई शुद्धीकरण गर्छ, पवित्र पार्दै नागरिकको समृद्धि सपना साकार बनाउँदै लैजान्छ । त्यस क्रममा लोकतान्त्रिक समाजको रचना गर्न युगीन नेतृत्व गरेका नायकको योगदान भने कहिल्यै बिर्सन मिल्दैन । दुनियाँको इतिहासमा त्यस्ता नायकको योगदानको उच्च सम्मान नै हुने गरेको छ । त्यसै क्रममा गिरिजाबाबुप्रति राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ सराहनीय छ । उहाँले गिरिजाबाबुलाई क्रान्ति र शान्तिको नेता भन्नुभएको छ । पूर्वप्रधानमन्त्री कोइरालाको १०२ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गिरिजाबाबुको योगदान स्मरण गर्दै उच्च सम्मान गर्नुभयो । विसं २००७ को क्रान्तिले १०४ बर्से पारिवारिक र निरङ्कुश राणाशाही अन्त्य गर्दै देशलाई राजा र जनता सँगसँगै हिँड्ने ढाँचा निर्माण गरे पनि पटक पटक राजाबाटै जनअधिकारमा कुठाराघात भयो । त्यसैको पछिल्लो संस्करण १९ माघ २०६१ ले गणतान्त्रिक युगको उद्घोष अपरिहार्य बनायो । नयाँ युगको रचनासँगै निष्कर्षमा पु¥याउने नेतृत्वमा गिरिजाबाबु सफल हुनुभयो ।
राजनीतिको दिशा बदल्ने सामथ्र्य राख्ने नेतृत्व नै युगनायक हुन सक्छ । गिरिजाबाबुले लोकतान्त्रिक आन्दोलनको नेतृत्व त गर्नुभयो नै देशलाई संविधान सभाको नयाँ युगमा प्रवेश गराउनुभयो । शान्ति प्रक्रियाको मार्गदिशा दिनुभयो । गणतन्त्रको उद्घोषसँगै संस्थागत गर्ने अनन्त क्षितिज देखाउनुभयो । नेपाली समाज लोकतान्त्रिक गणतन्त्रको फराकिलो मार्गमा विचरण गरिरहँदा यो डेढ दुई दशकको यात्राको सङ्गीन समीक्षाको घडीमा समेत छ । अझै पनि शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन । त्यो कहालीलाग्दो हिंसात्मक युगमा घोर अन्यायमा परेका पीडितको न्यायको पर्खाइमा बस्दाबस्दै आँसु सुक्दै छ । कति बेपत्ताको टुङ्गो छैन । गैरन्यायिक हत्या र अपराधको लेखाजोखा छैन । मुलुकलाई समृद्धिको मैदानमा लग्दै नागरिकले आफ्नो भविष्य आफैँ बनाउन सक्ने अवसरमा अनेक अवरोध छन् । शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन लोकतन्त्रका अपरिहार्य सर्त हुन् तर ती सबै आयाममा ढुक्क हुने वातावरण बन्न सकेको छैन । निरङ्कुशताका प्रेतात्मा जाग्ने कुचेष्टासमेतले समाजमा भ्रम छर्न खोज्दै छ । भ्रष्टाचार न्यूनीकरणको भीमकाय चुनौती छ । जनसेवा प्रवाहमा राज्यका तिनै तहका सरकारको क्रियाशील प्रतिबद्धताको अनुभूति नागरिकमा खड्किरहेकै छ । देशीय स्रोतसाधनको समुचित उपयोगबाट लगानी वृद्धि, रोजगारी सिर्जना गर्दै स्वनिर्भर अर्थतन्त्रको निर्माणमा ढिला गर्ने सुविधा छैन । यी र यस्ता कार्यसूचीको सफलताले मात्र लोकतान्त्रिक गणतन्त्रका नायक गिरिजाबाबुप्रति सच्चा सम्मान हुने छ ।