• १५ मंसिर २०८१, शनिबार

संस्कृति प्रवर्धनमा स्यौरा

blog

मीना कँडेल 

कावासोती, पुस १५ गते । गुरुङ समुदायको तमु ल्होसार पर्वको पूर्वसन्ध्यामा नवलपुरमा स्यौरा गायनले रौनक छाएको छ । नवलपुर जिल्लाको गुरुङ समुदायको बाहुल्य रहेका स्थानमा तमु ल्होसार आउनुपूर्व स्यौराको रौनक छाएको हो । तमुहरूको महान् पर्व २६ सय सातौँ तोला ल्होसारको अवसरमा विभिन्न स्थानमा रहेका गुम्बा तथा बौद्ध धर्मावलम्बीको निवासमा स्यौरा छाइरहेको छ । 

हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्छन् । 

पुस महिना सुरु भएपछि आफ्नो संस्कृति प्रवर्धन गर्न गुम्बा तथा बौद्ध धर्मावलम्बीको निवासमा स्यौरा गाउने गरेको बुद्धिबहादुर गुरुङले बताउनुयो । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिने गरेको उहाँको भनाइ छ । चन्द्राकुमारी गुरुङले गुम्बा तथा बौद्ध धर्मावलम्बीको निवासमा गुरुङ समुदायका विभिन्न संस्कार र संस्कृति झल्किने नृत्य प्रस्तुत गरी स्यौरा गाउने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ वर्षको स्वागत र पुरानो वर्षलाई बिदाइ गर्न तमु ल्होसार मनाउने गरिन्छ । पछिल्लो पुस्तालाई के गरेर मनाउने भन्ने ज्ञान नहुन सक्छ, त्यसैले संस्कृति जोगाउन एक महिना स्यौरा गाउने गरिन्छ ।”

गुरुङले शुभ अशुभ कार्यमा वर्ग हेरेर कार्यक्रम गर्ने गर्छन् । जस्तै विवाह गर्दा, घरघडेरी किन्दा, घर बनाउँदा, बसाइँसराइ जस्ता शुभकार्य गर्दा जुन वर्ग त्यो वर्ष शुभ छ उसलाई अघि सारेर वा उसको हातबाट सुरुवात गरिन्छ । रुद्रबहादुर गुरुङले ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि सबै जना आआफ्नो समाजघर वा गुम्बामा जम्मा भई यसलाई मनाउने प्रचलन रहेको बताउनुभयो ।

गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् । नवलपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, मनाङ, मुस्ताङ, चितवन (केही पहाडी भूभाग) गुरुङ जातिको पुख्र्यौली थलो हो भने अहिले यो समुदाय देशका अधिकांश जिल्लामा छरिएर रहेका छन् । नेपाललगायत विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन् ।