• ११ मंसिर २०८१, मङ्गलबार

प्रकृतिका गहना हराउँदै

blog

तराईका फाँटमा आकाशै ढाक्ने गरी विभिन्न आकृति बनाउँदै उड्ने पन्छी पहिलेको तुलनामा कम देखिन थालेका छन् । गाउँघर, बासझ्याङ र झाडी रुखमा घाम डुब्दै जाँदा चिरीबिरीको आवाजले मुग्ध बनाउने ती मधुर सङ्गीत पनि आजकल गाउँघरमा सुनिन छाडेका छन् । कङ्क्रिटका सहरबाट हराउँदै जान थालेका त्यस्ता चरा आजकाल गाउँमा पनि देखिन छाड्दै गएका छन् । दिनभरि खेतमै किसानलाई बाली रुग्न बाध्य बनाउने त्यस्ता चरा आजकल सोही अनुपातमा देखिन छाडेका हुन् ।

डेढ दशकअघि सम्म ठुलै सङ्ख्यामा खेतबारीमा चरा देख्न पाइन्थे । आजकाल चरा थोरै सङ्ख्यामा सीमित हुँदै गएका छन् । हिजोआज आहाराको खोजीमा चराहरू न्यून सङ्ख्यामा खेतबारीमा देखिने गरेका छन् । कृषिजन्य भूमिमा पाउने चराका केही प्रजाति विश्वबाटै घट्दो सङ्ख्यामा रहेको चराका जानकार बताउँछन् । चराहरू भनेको प्राकृतिक सौन्दर्यका गहना हुन् । चराचुरुङ्गीबिनाको प्रकृति कल्पना पनि गर्न सकिँदैन । तिनै चराहरूका प्रजाति आजकल मासिँदै गइरहेका छन् । प्राकृतिक सहअस्तित्वको जगेर्ना गर्नु हामी मानवको दायित्व भए पनि मानवकै विविध गतिविधिका कारण चराहरूको सङ्ख्या घट्दो अवस्थामा छ । 

कृषि प्रविधिको प्रयोगसँगै खेतबारीमा निस्कने झार गोड्नदेखि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न रासायनिक विषादीको प्रयोग दिनप्रतिदिन बढ्दै जादा चराहरूका लागि पर्यावरण प्रतिकूल बन्न पुगेको छ । नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये कुल प्रजातिका २५ प्रतिशत चरा खेतबारीमा खाना र प्रजननका लागि आश्रित हुने गरेको चिनियाँ विज्ञान प्रतिष्ठानबाट ‘खेतबारीमा पाइने चरा’ मा विद्यावारिधि गरेका (पन्छी अनुसन्धानकर्मी) डाक्टर हेम कट्वाल बताउनुहुन्छ । 

नेपालमा १५० प्रजातिका चरा जाडो याममा बसाइँ सरेर तराई क्षेत्रमा आउने गरेका छन् । गर्मी याममा ६० प्रजातिका चरा बसाइँ सरेर तराई क्षेत्रमा आउने गरेका छन् । जाडो र गर्मी याममा बसाइँ सरेर आउने चरा खेतबारीमै आश्रित हुने गरेको पन्छी अनुसन्धानकर्मी कट्वाल बताउनुहुन्छ । जाडोमा बसाइँ सरेर आउने हाँस प्रजातिका चरा र गर्मीमा बसाइँ सरेर आउने जुन बकुल्ला र जल कुखुराले खेतबारीमै प्रजनन गर्ने गरेका छन् । रैथाने चरा बगाले बगेडी, भुँडीफोर गरुड र सारससमेत खेतबारीमै निर्भर रहने गरेका छन् । खेतबारी संरक्षित क्षेत्रभन्दा बाहिर हुने भएकाले वन्यजन्तु जस्तो खेतबारीका चरालाई संरक्षण गर्न चुनौती रहेको चराका जानकार बताउँछन् । मानिसको बास बस्ने थलो बाक्लिँदै गएसँगै बाँसघारीमा बसेर कराउने चराहरूको बास बस्ने थलो घट्दै गइरहेको छ । गाउँघर बाक्लिएसँगै ती चराको बासस्थान घट्दै गइरहेको हो । पछिल्ला एक दशकदेखि तराईका कृषिभूमि खण्डीकराण गरी घडेरीमा परिणत हुँदै जादा खेतबारीमा आश्रित चराको बासस्थानसमेत उजाडिँदै गएको छ । 

किन घट्दै छन् त चरा ?

चोरी सिकारी, चराहरूको बासस्थानको कमी, आहारा अभाव हुँदै जानु, जलवायु परिवर्तन र मानवमा सचेतनाको कमी जस्ता कारणले दिनप्रतिदिन चराको सङ्ख्यामा कमी हुँदै गएको छ । मानव समुदायले गर्ने प्राकृतिक विनाशका कारण चराको दिनचर्यामा नकारात्मक प्रभाव पर्न गएको पन्छीविद् बताउँछन् । आजभन्दा केही वर्षअघि ठुलै सङ्ख्यामा देख्न सकिने कृषिजन्य भूमिमा पाइने चराका केही प्रजाति हिजोआज लोप हुने अवस्थामा पुगेका छन् ।

अन्य देशमा पर्यावरणमैत्री कृषि कार्यक्रम लागु गरेर खेतबारीमा पाइने चराको संरक्षणको प्रयास गरिँदै आएको छ । नेपालमा खेती र बालीसँग सम्बन्धित कृषिका बारेमा अनुसन्धान भए पनि कृषिबालीलाई सघाउ पु-याउने कृषि क्षेत्रको चराबारे अध्ययन भएको देखिँदैन । चराको संरक्षण गर्नु पर्छ भन्ने चेतना सबैमा नहुँदा चरा जोखिममा छन् । 

चरा घट्दै जानुमा भएका चराहरूको समेत संरक्षणको अभावमा चोरी सिकारी बढेर जानु मुख्य कारण रहेको छ । यसले गर्दा पनि खेतबारीमा पाइने चराको प्रजाति लोपोन्मुख अवस्थामा रहेको छ । पन्छी अनुसन्धानकर्मी कट्वालका अनुसार तराई क्षेत्रमा खेतबारीमा आउने चराको चोरी सिकारी अत्यधिक हुने गरेको छ । कट्वाल भन्नुहुन्छ “जङ्गली जनावरको सिकार गर्दा कानुन लाग्छ भन्ने मान्छेमा ज्ञान छ तर चरा मार्दा पुलिस प्रशासनले समाउँछ भन्ने ज्ञानको कमी हुँदा चोरी सिकारीमा कमी आउन सकेको छैन ।” बगाले, बगेडी चरा बढी मात्रामा मारेर खाने चलन छ । जसले गर्दा बगाले र बगेडी चरा खेतबारीमा देखिन छाडेका छन् ।

किसानले कृषिभूमिमा बढी मात्रामा विषादी प्रयोग गर्दा कृषिभूमिमा आश्रित रहेका चराचुरुङ्गीलगायत अन्य जीवजन्तुलाई भने असर पर्दै गइरहेको छ । किसानलाई रासायनिक विषादीको प्रयोगले क्षणिक फाइदा पुगे पनि यसले दीर्घकालीन रूपमा असर पु-याइरहेको छ । रासायनिक विषादीको प्रयोगले जीवजन्तुको पारिस्थितिक प्रणालीमा समेत असर पुगेको छ । त्यसकै परिणाम स्वरूप आज खेतबारीमा पाउने चराको सङ्ख्या क्रमिक रूपमा घट्दो छ । किसानले बढी मात्रामा रासायनिक विषादीको प्रयोग गर्दा खेतबारीमा पाइने चराहरूको सङ्ख्यामा कमी आएको छ । बढी विषादीको प्रयोगकै कारण खेतबारीमा आहाराका लागि आश्रित हुने चराको प्रजनन क्षमतामा ह्रास आउने गरेको अनुसन्धानकर्मी कट्वाल बताउनुहुन्छ । कृषिजन्य भूमि खण्डीकरण गरी मानव बस्ती तीव्र रूपमा बढ्दै जानुले पनि कृषिजन्य भूमिमा पाउने चरा सङ्कटमा पर्न थालेका छन् । चराहरू चर्ने ठाउँ नै मासिँदै गएकाले चराहरू सङ्कटमा पर्दै गएको पन्छीविद् बताउँछन् । चराको बासस्थान र चर्ने ठाउँ दिन प्रतिदिन साँघुरिँदै गएको छ । आफ्नो आहारा खोजेर खाने ठाउँ मासिनु र बास बस्ने बारीमा रहेका ठुला सिमल र अन्य रुख, बासझ्याङ, झाडी मासिनाले प्रजननमा समेत असर पर्न गई चराको सङ्ख्यामा कमी आउन थालेको अनुसन्धानकर्मी हेम कट्वाल बताउनुहुन्छ ।

जलवायु परिवर्तनको कारणले मौसम अनियन्त्रित छ । त्यसैको चपेटामा चराचुरुङ्गी पनि पर्दै आएका छन् । पृथ्वीमा यस्तो वातावरणीय समस्या देखा पर्नुमा मानव जाति, मानव जातिले गरेका आविष्कार र मानव जातिले गर्ने क्रियाकलाप रहेका छन् । जलवायु परिवर्तनले गर्दा बर्सेनि फरक फरक वातावरणीय अनुभव गर्न सकिन्छ । चराका लागि उचित हावापानी नभएकाले पनि चराका प्रजाति घट्दै जानुको कारण बनेको छ । चराको सङ्ख्यामा आएको कमीको प्रभाव तत्काल देखा नपरे पनि यसको असर भावी पुस्ताले भोग्नुपर्ने पन्छीविद् बताउँछन् ।

कृषिभूमिमा चराको महत्व 

एक समय यस्तो थियो चराको अत्यधिक सङ्ख्याले गर्दा खेतबारीमा कुनै पनि प्रकारको र रासायनिक र जैविक विषादी नै प्रयोग गर्नु पर्दैनथ्यो । तिनै चराले खेतबारीमा भएका किरा, फट्याङ्ग्रा र माटोमा पाइने विभिन्न प्रकारका किरालाई खाइदिएर किसानलाई अप्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएका थिए । 

हिमाली र पहाडी क्षेत्रबाट आएका आन्तरिक बाह्य पाहुना चराले तराई क्षेत्रमा लगाइएको हिउँदे बालीमा लाग्ने किरा फट्याङ्ग्रा खाएर किसानलाई समेत सहयोग पु-याउने गर्छ । पछिल्ला केही वर्षदेखि आन्तरिक र बाह्य चरा कम आउँदा बालीहरूमा समेत किराको प्रकोप बढी देखिन थालेको छ । एउटा फिस्टा प्रजातिको चराले एक दिनमा तीन सयदेखि पाँच सयसम्म किरा खाने गरेको चराविद् बताउँछन् । अर्जुनक प्रजातिको चराले भुइँमा भएका किरा खाने गरेको छ । चुइयाँ प्रजातिको चराले जङ्गल क्षेत्रको भुइँमा पाइने किरा खाने गरेको छ भने भद्राई प्रजातिको चराले खेतबारीका किरा । खेतका रुख र बुट्यानमा बसेर हिउँदे बालीमा लाग्ने किरा खाने गरेकाले किरा खाँदा खेतमा लाग्ने किरासमेत नियन्त्रण हुने पन्छी अनुसन्धानकर्मी कट्वालको भनाइ छ ।

नेपालमा मात्रै नभई खेतमा भएका किरा फट्याङ्ग्रा खाएर बाँच्ने केही प्रजातिका चरा विश्वमै सङ्कटमा पर्दै गएको पन्छीविद् बताउँछन् । कृषिजन्य भूमिमा पाउने १५० प्रजातिका चरा आजकाल सङ्कटमा पर्दै गइरहेका छन् । नेपालमा मात्रै नभएर विश्वमै एक दर्जन चरा सङ्कटमा पर्दै गएको पन्छी अनुसन्धानकर्मी कट्वाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालका अधिकतर मानिसलाई चराको संरक्षण गर्नु पर्छ भन्ने सामान्य जानकारी पनि छैन ।” पन्छीविद् हेम कट्वालका अनुसार गरुड प्रजातिका भुडीफोर गरुड, लोभीपापी गरुड विश्वमै लोपुन्मुख अवस्थामा छन् । चिल प्रजातिको लघु चिल र लघुमहाचिल खेतबारीमा पाउने चराको रूपमा चिनिन्छ । यी चराको सङ्ख्यामा पनि कमी आउँदै गएको छ । गिद्ध प्रजातिमा पर्ने सानो खैरो, डङ्गर गिद्ध, सेतो गिद्ध र सुन गिद्धहरू खेतबारीमै पाउने चराको रूपमा चिनिन्छ । प्रकृतिको कुचीकार उपनाम पाएको गिद्धसमेत लोपुन्मुख अवस्थामा छन् भने सुन गिद्ध विश्वमै सङ्कट अवस्थामा परेको छ ।

किसानमा चराले बाली खाइदिएर दुःख दिन्छन् भन्ने नकारात्मक बुझाइ रहेको पाइन्छ । चराले बालीनालीमा लाग्ने किरा फट्याङ्ग्रा खाएर सघाउँछ भन्ने बुझाइ कमै किसानमा हुँदा खेतबारीमा विषादीको प्रयोग बढी हुने गरेको छ । पन्छी अनुसन्धानकर्मी कट्वाल भन्नुहुन्छ, “पर्यावरणमा चराको महìव बुझाउन स्थानीय पाठ्यक्रममै समावेश गरेर विद्यालय स्तरदेखि नै सचेतनाका कार्यक्रम गर्न जरुरी देखिन्छ ।”

चराको संरक्षण गर्न जैविक खेती प्रणालीलाई सशक्त रूपमा अघि बढाउन राज्यको कृषि संयन्त्रलाई परिचालन गरी सम्पूर्ण कृषक, पन्छीप्रेमी तथा आम जनसमुदाय जुट्नुपर्ने बेला आएको छ । यो विनाशका कारणको अन्त्य गर्न समाज नै अभिप्रेरित भएर अगाडि बढे मात्र आजका प्राकृतिक गहना भावी पुस्ताका लागि सुरक्षित राख्न सकिन्छ । 

Author

बाबुराम कार्की