• २१ वैशाख २०८१, शुक्रबार

‘मतिना पारु’ अर्थात् माया गर्ने दिन

blog

काठमाडौँ, पुस १२ गते । नेवार समुदायमा यःमरी पुन्ही (पूर्णिमा) को भोलिपल्टलाई ‘मतिना पारु’ अर्थात् माया गर्ने दिनका रूपमा लिने गरिन्छ । नेवारी समुदायमा करिब करिब लोप भइसकेको प्रेम दिवसबारे सामाजिक सञ्जालमा भने शुभकामना दिनेहरूको सङ्ख्या अधिक रहेको छ । युवापुस्ताले आफ्नो संस्कृति बचाउन वसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी ‘मतिना पारु’ हर्षोल्लासका साथ मनाएका छन् । 

नेपालमा पश्चिमेली ‘भ्यालेन्टाइन डे’ को चर्चा धेरै हुँदै गर्दा नेवारी समुदायमा पनि यस्तै एउटा दिन छ भन्दा कतिलाई अनौठो लाग्ने गरेको छ । ‘मतिना पारु’ नेपालमा बसोबास गर्ने नेवार समुदायको एक लोकप्रिय दिन हो । यो दिन यःमरी पुन्हीको भोलिपल्ट ‘मतिना पारु’ मनाउने गरिएको छ । ‘मतिना’ भन्नाले माया र पारु भन्नाले प्रतिपदा भन्ने बुझिन्छ ।

यःमरी पुन्हीसँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिमध्ये लोकप्रिय रूपमा खानाको परिकार यःमरीको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्यसँगको सम्बन्ध सँगसँगै यसको अर्को पक्ष भनेको प्रेम पनि हो । संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गका अनुसार परम्परागत समाज अहिले जस्तो माया प्रेमका विषयमा खुला वातावरण थिएन । यसरी बन्धनले बाँधिएको समाजमा यःमरी पुन्हीका दिन टोल टोलमा गएर ‘यःमरी फ्वनेगु (माग्ने)’ परम्परा अनुसार यःमरी माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमीसँग सुटुक्क कुरा गर्ने चलन थियो ।

यसै क्रममा यःमरी पुन्हीकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलिपल्ट भेट्ने प्रचलन रहेको थियो । उहाँले भन्नुभयो, “त्यो दिनलाई नै ‘मतिना पारु’ भनिन्छ ।”  अहिले जस्तो फोन, मोबाइल नभएको बेलामा ‘यःमरी फ्वनेगु’ क्रममा भेट्ने, कागजमा लेखेर आफ्ना मनका कुरा सुटुक्क आदानप्रदान गर्ने गरिएको उहाँले बताउनुभयो । 

संस्कृतिविद् गणेशराम लाछीले नेवार समुदायमा विभिन्न संस्कृतिलाई प्रेम दिवसका रूपमा मनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उतिबेला अहिलेको जस्तो प्रेम प्रस्ताव राख्ने चलन थिएन । घरबाट तय भएको केटा वा केटीसँग नै विवाह गर्नुपथ्र्याे । मन पराएको छ भने कुनै जात्रापर्वमा भेटघाट हुने हो ।” पछिल्ला दिनमा समाज खुला भएसँगै यो चलन बिस्तारै समाजबाट लोप भएको जानकारी दिनुभयो ।