• १२ असार २०८१, बुधबार

जनकपुरधामबाट अयोध्यामा कोसेली पठाइने

blog

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास साथमा जनकपुरधामका प्रमुख मनोजकुमार साहलगायत ।

लक्ष्मी चौधरी

जनकपुरधाम, पुस ११ गते । त्रेता युगपछि मिथिलाबाट पहिलो पटक श्री रामजन्मभूमि अयोध्या अर्थात् सीता माताको ससुरालीका लागि भार (कोसेली) लिएर दुई सय ५१ जनाको टोली जाने भएका छन् । 

जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामजीको प्राणप्रतिष्ठाको निमन्त्रणा आएपछि सोही अवसरमा जनकपुरधामबाट पहिलो पटक दुई सय ५१ जनाको टोली भार (कोसेली) लिएको अयोध्या जाने भएका हुन् । 

मिथिला परम्परा अनुसार छोरीको ससुरालीमा हुने घरवासमा माइती पक्षबाट भार (कोसेली) पठाउने परम्परा छ, त्यस अनुरुप रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरबाट रामको घर अयोध्यामा भार पठाउन थालिएको जानकी मन्दिरका महन्थका उत्तराधिकार रामरोशन दासले बताउनुभयो । 

मिथिला परम्परा अनुसार छोरीको नयाँ घर प्रवेशमा हुने घरवासमा माइती पक्षबाट कोसेलीका रुपमा आभूषण, लत्ताकपडा, पकवानलगायतका सामग्री पठाउने गरिन्छ, सोही अनुरुप जानकीजीको माइती पक्ष मिथिलाबाट ती सामग्री पठाउन लागिएको जानकी मन्दिरका महन्थका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । उहाँले विभिन्न प्रकारका पकवान वा फलफूल तथा अन्य सामग्री सहयोग गर्नका लागि जनकपुरधामवासीलाई आग्रह  गर्नुभयो । 

त्रेतायुग माता जानकी र मर्यादा पुरुषोत्तम श्रीरामको वैवाहिक सम्बन्धका कारण जानकी मन्दिरका महन्थ उत्तराधिकारी दासको नेतृत्वमा पहिलो पटक सीताको ससुराली अर्थात् रामको घर अयोध्यमा भार पठाउने तयारीमा जुट्न दासले पत्रकार सम्मेलनमार्फत जनकपुरधामवासीलाई आग्रह गर्नुभएको छ ।  

जनवरी ४ तारिखमा जनकपुरधामबाट प्रस्थान गर्ने कार्यक्रम रहेको हुनाले ३ तारिखमा जे जति सामग्री हुन्छ जानकी मन्दिरमा पुर्‍य ाउन आग्रह गर्नुभएको थियो । उहाँले पकवानलाई बाँसको डालामा सजाएर ल्याउन आग्रह गर्नुहुँदै त्यसमा आफ्नो नाम परिचयसमेत उल्लेख गर्न आग्रह गर्नुभएको छ । 

यात्रा जनकपुरधामबाट जलेश्वरनाथ हुलाकी सडक हुँदै मलङ्गवा (बलारा) बाट सिम्रौनगढ–गढीमा–वीरगञ्जमा रात्रि विश्राम गर्ने योजना छ । भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकीनगर गेट हुँदै बेतिया कुशीनगर सिद्धार्थनगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम छ । अध्योध्या पुगेको भोलिपल्ट ६ तारिखको ९ बजे विधिवत् रूपमा राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको दासले जानकारी दिनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गर्नुभएको थियो । जसमा सहभागी हुन जनकपुरधामबाट जानकी मन्दिरका महन्त रामतपेश्वर दाससहितको नेपाली टोली जनकपुरधामको माटो र चाँदीका पाँच वटा इँटा बोकेर अयोध्या पुगेका थिए । 

सन् १९९२ मा बाबरी मस्जिद भत्काइएपछि हिन्दू र मुस्लिम पक्षबीच पहिला इलाहाबाद हाकोर्ट र पछि सर्वोच्च अदालतमा लामो कानुनी लडाइँ चल्यो । अन्त्यमा सर्वोच्च अदालतले नोभेम्बर २०१९ मा एक ऐतिहासिक फैसला सुनाउँदै अयोध्यामा विवादित भूमिमा मन्दिर बनाइनेछ भन्ने आदेश दिएको थियो । 

भार (काेसेली)पठाउने टोलीमा जानकी मन्दिरका महन्थ सहभागी नहुने 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भने काेसेली पठाउने टोलीमा सहभागी नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "म जति सक्छुु, त्यति लिएर जान्छु, भारमा मेरो संलग्नता छैन । विगतमा शिला पुर्‍य ाउने बेला भारतका जनताले त्रेतायुगमा जसरी स्वागत गरेका थिए । तर अयोध्या पुग्दा त्यहाँ समितिको अनुमति बिना एउटा चरा पनि उड्न नसक्ने सुरक्षा कायम गरिएको थियो ।" त्यस्तोमा कुनै सल्लाह सुझाव यहाँबाट भार लिएर जानु उचित नलागेका कारण उक्त कार्यक्रममा सहगाभी नहुने बताउनुभयो । त्यहाँको अवस्था बुझेर मात्र जनकपुरधामबाट जमात जानुपर्ने उहाँको भनाइ छ । 

यता जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोशन दासले अयोध्यामा निर्माण भएको मन्दिरमा भगवान श्रीरामको ससुरालीको प्रतिनिधित्व गर्दै घरवास विधिमा उपहारसहितको भार पुग्नु जनकपुरधामवासीकै लागि साैभाग्यको विषय रहेको बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, "यो मात्र जानकी मन्दिरको विषय होइन, यो सम्पूर्ण मिथिलाञ्चल क्षेत्रको विषय हो ।"

विश्व हिन्दु परिषद्का स्थानीय पदाधिकारीहरु, जनकपुरधामका प्रमुख साहसहित यहाँका अगुवाहरुलाई राखेर मङ्गलवार मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गर्दै महन्थका उत्तराधिकारी दासले विश्व हिन्दु परिषद्को समन्वयमा यो पवित्र काम हुन गइरहेकाले शङ्का गर्नुपर्ने ठाउँ नै नरहेको बताउनुभयो ।

जनकपुरधामका प्रमुख मनोजकुमार साहले दुई सय ५१ जनाको टोलीलाई आधा घण्टाको समय प्रदान भएको र सासुर पक्ष मिथिला क्षेत्रबाट पाहुर भार आइरहेको खबरले अयोध्यामा खुसी छाएको खबर आफूहरुले पाएको बताउनुभयो । उहाँले त्यसकारण जानकी मन्दिरलाई विवादित नबनाउन आग्रह गर्नुभयो ।