• १ असार २०८२, आइतबार

विदेशबाट फर्किएका युवालाई पचास हजार अनुदान

blog

ढल्केबर समाचारदाता

ढल्केबर, असार १ गते ।  वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगारसँग जोड्न धनुषाको जनकनन्दनी गाउँपालिकाले ५० हजार रुपियाँ अनुदान दिने भएको छ । विदेशबाट फर्किएका तथा रोजगारी गर्न चाहने युवालाई स्वरोजगारमा आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष अनुदान रकम दिन लागेको हो । 

गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले चालु आर्थिक वर्षमा ससर्त कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरेर स्वरोजगार अनुदान कार्यक्रम ल्याइएको र सो कार्यक्रम अन्तर्गत अपनाउनुपर्ने प्रक्रिया अघि बढिसकेको बताउनुभयो । 

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै केही गर्न चाहने, स्वरोजगारमा संलग्न भइसकेका र व्यवसाय सुरु गर्ने तयारीमा रहेका स्थानीय युवालाई लक्षित गरी चालु आवमा उक्त कार्यक्रम ल्याइएको यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाले स्वरोजगारका लागि इच्छुक स्थानीयलाई अधिकतम ५० हजार रुपियाँ नगद अनुदान दिने निर्णय गरिएको छ । “स्थानीय युवा विदेश जानुको सट्टा स्वदेशमै स्वरोजगार गरेर आर्थिक रूपले आत्मनिर्भर बन्न सकून् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो,” उहाँले भन्नुभयो, “विदेशबाट फर्केर बेरोजगार अवस्थामा बसेका, नयाँ स्वरोजगार सुरु गर्न चाहने वा पहिले नै स्वरोजगारमा संलग्न भइसकेकालाई पनि व्यवसाय विस्तार गर्न यो अनुदानले सहयोग पुग्छ ।” कार्यक्रम अन्तर्गत व्यवसाय योजना निर्माण, आवश्यक तालिम तथा प्राविधिक परामर्शसमेत प्रदान गरिने अध्यक्ष यादवले बताउनुभयो । 

गाउँपालिकाभित्रका उत्पादन, सेवा र व्यवसाय क्षेत्रको विकास तथा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको बताउँदै उहाँले आगामी दिनमा स्वरोजगारमा लाग्न चाहनेलाई थप सहज बनाउने गरी बैङ्क तथा वित्तीय संस्थासँग सहकार्य गरी सहुलियतपूर्ण कर्जा योजना ल्याउने तयारीसमेत गरिरहेको बताउनुभयो ।