• १२ साउन २०८१, शनिबार

हाम्रो सम्पदा

बुडडी झडुलामाई मन्दिर (फोटो फिचर)

blog

कपिलवस्तु, पुस ७ गते । कपिलवस्तुको प्रख्यात शक्तिपिठ झडुलामाईको मन्दिर । यो मन्दिर कपिलवस्तु जिल्लाको बुद्धभूमि ४ बुडडीमा अवस्थित रहेको छ । काठमाडौँबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा तीन सय २४ किलोमिटरको दुरीमा राजमार्गको दाहिने किनारमा निकै नै फराकिलो जङ्गलको क्षेत्रफलमा रहेको छ। 

यस मन्दिर परिसरमा झडुलामाई मन्दिर लगायत समयमाई, दुर्गा, हनुमान, गणेश, बुद्धबाबा, नाग देवता, फुलनदेवी, फुलमती देवी, बागेश्वरी, बर्मा, पश्चिमेली काली, सुपा देउराली, जल बराह, नरसिंह औतार, शीतला माता देवीका मन्दिरहरू रहेका छन् जसले गर्दा यस स्थललाई धार्मिक स्थल एवं नेपाल सरकारबाट मान्यता प्राप्त  झडुलामाई आध्यात्मिक प्रतिष्ठान समेत रहेको छ।

मन्दिरको गर्भ गृहको मध्य भागमा निकै नै पुरानो एवम् निकै नै कलात्मक शैलीको कालो प्रस्तरको झडुलामाईको मूर्ति रहेको छ भने उक्त मूर्तिको दायाँ र बायाँ अन्य देव देवताहरू प्नि रहेका छन्। यस मन्दिरका १३ औँ एवम् विगत २२ वर्षदेखि पुजारी रहेका कुलबहादुर खडकाका अनुसार पूर्व पश्चिम राजमार्ग निर्माण हुँदा यस झडुलामाईको मूर्ति राजमार्गको उत्तरतर्फ जङ्गलमा वि.स. १९१९ मा फेला परेको थियो। पहिला सामान्य मन्दिरको रूपमा रहेको यो देवीको मन्दिर स्थानीयवासीहरु, समाजसेवीहरू, विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा वि.स. २०५४ सालमा मन्दिर स्थापना भएको बताउनुभयो।


यस मन्दिरमा दैनिक बिहान र बेलुका नित्य पूजा अर्चना हुने गर्दछ र विशेष गरी यस देवीको मन्दिरमा हिन्दुहरूको महान् पर्व विजया दशमी, चैते दशमीमा स्थानीय भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ। भक्तजनहरूले आफ्ना विभिन्न भाकलका लागि यस देवीको मन्दिरमा बलिको प्रथा समेत रहेको छ।

मन्दिर परिसरमा स्थानीयवासीहरुले विवाह, व्रतबन्ध लगायत विभिन्न  धार्मिक कार्यक्रम समेत गर्ने गर्दछन्। जङ्गलको हरियाली र मनोरम स्थल भएकोले स्थानीयवासीहरु र स्कुलका विद्यार्थीहरू यहाँ मनोरञ्जनका लागि पिकनिक समेत खेल्न आउने गरेको पुजारी बताउनुहुन्छ।