• १५ कात्तिक २०८१, बिहिबार

कम्युनिस्ट आन्दोलनको वृत्तान्त

blog

केशवप्रसाद बडाल नेपालको कम्युनिस्ट आन्दोलनका पुराना पुस्ताका नेतामध्ये स्थापित हुनुहुन्छ भन्ने त थाहा भएकै कुरा हो तर आफू संलग्न आन्दोलन, पार्टी, कमिटी र बैठकका बारेमा उहाँ संवेदनशील हुनु हुँदोरहेछ भन्ने चाहिँ ‘सिंहावलोकन’ (नेपाल कम्युनिस्ट पार्टीको जन्मदेखि दसौँ महाधिवेशनसम्म) पुस्तक पढेपछि मात्र खुल्छ । नेपाल कम्युनिस्ट पार्टीको पहिलोदेखि दसौँ महाधिवेशनसम्म केन्द्रित रहेर लेखिएको पुस्तकमा अविभाजित कालका तीन वटाबाहेक चौथो महाधिवेशन (२०४६) देखि प्रत्यक्ष संलग्न बडालले तिथिमिति, स्थान, पात्र र घटनाक्रमलाई सिलसिलेवार रूपमा पस्किनुभएको छ, जसबाट इच्छुक पाठक स्वयम्लाई त्यसमा सहभागी भए जस्तो अनुभूति हुन्छ । 

कम्युनिस्ट आन्दोलनमाथि थुप्रै पुस्तक लेखिएका छन् । तीमध्ये कति प्राज्ञिक तहबाट लेखिएका छन्, कति चाहिँ भुक्तभोगीहरूले कुनै समयविशेष वा घटनाविशेषलाई समातेर आआफ्नो कोणबाट लेख्नुभएको छ । ‘सिंहावलोकन’ चाहिँ यी दुवैको मिश्रणका रूपमा आएको छ । आफ्ना अनुभवका साथै सन्दर्भ सामग्रीहरूको सहायता लिएर पुस्तकलाई पूर्णता दिइएको छ । कम्युनिस्ट आन्दोलनभित्र नेकपा (एमाले) धारको सङ्घर्ष, विकास र विस्तारका उतारचढावलाई लेखक वडालले केन्द्रमा राख्नुभएको छ । कतिपय सन्दर्भमा तिनको व्याख्या गर्नुभएको छ भने कतिपय सन्दर्भमा तथ्य पस्किदिएर थप व्याख्याका लागि पाठकलाई मौका दिनुभएको छ । २०४६ सालदेखि निरन्तर पार्टीको केन्द्रीय नेतृत्वमा रहेका कारण अनुभव नै काफी भएकाले त्यसका आधारमा घटनालाई उहाँले पस्किन खोज्नुभएको छ ।

इतिहास तिथिमिति मात्र होइन, न त यो मरेका दिनहरूको निरस वर्णन नै हो । इतिहास स्वयम्मा एउटा दृष्टिकोण हो, जुन वर्तमानमा उभिएर तपाईं भविष्यको चित्र कोर्न सक्नुहुन्छ । कम्युनिस्ट आन्दोलनप्रति अगाध आस्था र विश्वास भएकोले होला, बडालले कम्युनिस्ट आन्दोलनलाई कहाँ छोयो भने दुख्छ र कहाँ धुनु पर्छ भन्नेमा ध्यान दिनुभएको प्रतीत हुन्छ । धेरै जसो आफैँ सहभागी भएका र केही आफूभन्दा अघिका सन्दर्भहरूलाई उहाँले मिलाएर पाठकसमक्ष सग्लो चित्र पस्किने कोसिस गर्नुभएको छ । खास गरी, महाकाली सन्धि, पार्टी विभाजन, एकता, महाधिवेशनका विवाद आदिमा उहाँले रुचिका साथ कलम चलाउनुभएको छ र आफ्नो मूल्याङ्कन प्रस्तुत गर्नुभएको छ । 

कुनै पनि कुरा आफैँमा पूर्ण हुँदैन । झन् लेखन, अध्ययन र चिन्तनमा त सधैँ नै अपूर्णता रहिरहन्छ । ‘सिंहावलोकन’ का बारेमा पनि विभिन्न कोणबाट कुरा उठ्नु अस्वाभाविक होइन । हामीकहाँ कुन कुन विषय सार्वजनिक गर्न मिल्छ र त्यसका लागि कति समय चाहिन्छ भन्नेबारेमा खास नियम छैन । अझ राजनीतिक वृत्तमा त मन मिल्दासम्म एउटै थालमा खाने र मन नमिल्दा त्यसैमा वान्ता गर्ने चलनै बसिसकेको छ । 

बडालले एमालेका आन्तरिक बैठकका धेरै कुरा लेख्नुभएको छ । कुन बैठकमा कुन नेताले के भन्यो भन्नेबारेमा नामै उल्लेख गरेर उसैका नाममा छापिदिनुभएको छ । यसबाट त्यतिबेलाको सबै सन्दर्भ नबुझे पनि नेता विशेषका बारेमा बुझ्न चाहिँ नयाँ पाठकलाई फाइदा पुग्छ तर त्यस्ता पात्र स्वयम्ले त्यसका लागि के भन्छन् र बैठकका अरू सहभागीको प्रतिक्रिया के छ भन्ने कुराले अर्थ राख्छ । मेरो विचारमा यस पुस्तकको एउटा मुख्य विशेषता नै यही हो । यसबाट हाम्रा नेताहरूको विकासक्रम, उहाँहरूको राजनीतिक विचारहरूको निर्माण र विनिर्माण, सर्वोच्च कमिटीमा हुने बहसहरूको विषयवस्तु र स्तर, त्यस्ता बहसहरूको उपादेयता र दीर्घकालीन प्रभाव जस्ता विषयमा थप मूल्याङ्कन गर्न मिल्ने दस्ताबेजका रूपमा यस पुस्तकलाई लिन सकिन्छ ।

बडालका अनेक पुस्तक प्रकाशित छन् । खास गरी, सहकारी आन्दोलनसँग सम्बन्धित उपयोगी पुस्तक यसअघि आए पनि पार्टीकै इतिहास र जीवनसँग जोडिएर यस्तो पुस्तक पढ्न पाइएको थिएन । इतिहास आफैँ पनि विवादित हुन्छ । कसले लेख्छ, कहिले लेख्छ र कसरी लेख्छ भन्ने कुराले इतिहासमा अक्षरमार्फत धारणाहरू प्रतिविम्बित हुन्छन् । आज जुनसुकै पार्टी वा ठाउँमा भए पनि इतिहासप्रति कसैले अन्याय गर्न मिल्दैन । आज कसैसँग कुरा मिलेन भन्दैमा हिजोको इतिहास छुरा लगाएर खौरिन मिल्दैन । व्यक्तिका नाम, योगदान र मर्यादाव्रmम आज आएर मन लाग्दैमा बदल्न पनि सकिँदैन । लेखक बडालले अगाडि सार्नुभएको तथ्यमार्फत उहाँलाई मूल्याङ्कन गर्ने मौका त पाठकले पाएका छन्, स्वयम् आफूलाई पनि यस्ता पुस्तक पढेर मूल्याङ्कन गर्न सघाउँछ ।

बडाल स्वयम्मा कम्युनिस्ट आन्दोलनका एक अथक यात्री हुनुहुन्छ । विभाजनबाट एकतादेखि एकतादेखि विभाजनसम्मका महìवपूर्ण घटनाव्रmममा उहाँ स्वयम् एक जना नेताका रूपमा सामेल हुनुहुन्छ । विभाजनको पीडा कति दुःखदायी हुन्छ र त्यसमा संलग्न पात्रहरू कसरी प्रयोग हुन्छन् भन्ने पनि उहाँले देख्नुभएको छ । साथै, विभाजन अस्थायी कुरा हो र केके न गर्छौं भनेर गएकाहरू अन्ततः आफ्नै घर फर्किन्छन् भन्ने पनि उहाँले देख्नुभएको छ । एक अनुभवी नेताका रूपमा यस कुरालाई पनि ख्याल गरेर पुस्तक लेख्नु भएको होला भन्ने अपेक्षा अन्यथा होइन । पार्टीको नेता भएकाले आफ्नो पार्टीको पक्षधरता अस्वाभाविक होइन ।

नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति एकता हो । बेलाबेलामा फुटे पनि जो जो मिल्न सकेर एकता भयो, तिनीहरू नै राजनीतिमा हाबी भएका छन् । एकातिर एमाले र अर्कातिर माओवादी आआफ्नो धारका एकताका पक्षधर शक्ति हुन् । एमालेले त सिला खोजेर पार्टी बनाएको कुरालाई लेखकले मसिनो गरी उल्लेख गर्नुभएको छ । 

लेखक बडालले मेहनत गरी पहिलो महाधिवेशनदेखिका तिथिमितिलाई राख्नुभएको  छ । साथै, कम्युनिस्ट आन्दोलनमा विवाद र विभाजनका कारण र बहसका प्रमुख मुद्दालाई विस्तृत रूपमा विश्लेषण गर्नुभएको छ । यसबाट कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता मात्र होइन, नेपालको समग्र राजनीतिक आन्दोलनप्रति रुचि राख्ने सबै पाठक र अध्येताका लागि पुस्तक उपयोगी देखिन्छ । यही भएर होला, प्रकाशनको सात महिनामै दोस्रो संस्करण पनि बजारमा आइसकेको छ ।

   

Author

विष्णु रिजाल