• १२ साउन २०८१, शनिबार

पुनहिलमा पानी लैजान पाउँदैनन् पर्यटक

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), मङ्सिर २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको पुनहिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ। पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टी हाउसबाट पानी किनेर पिउनुपर्ने नियम छ। पुनहिल जाँदा थर्मसमा आफैँ तातोपानी बोकेर लैजान नपाएको पर्यटकले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौंदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ । 

घोडेपानीदेखि करिब ४५ मिटरको पदयात्रापछि पुगिने तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको भ्रमणमा जाने आन्तरिक एवं विदेशी पर्यटकले आफैँ तातोपानी बोकेर लैजान बन्देज गरिएको हो। कसैले पानी लिएर गएमा तीन हजार रुपियाँसम्म जरिबाना तोकिएको छ। पानीको थर्मस, आगो बाल्ने ग्यासलगायतका सामग्री लैजान नपाइने सूचना पुनहिल प्रवेश गर्ने प्रवेशद्वारमा टाँस गरिएको छ । पुनहिलमा सञ्चालन गरिएको टी सपबाट नै पानी किनेर पिउनु पर्दछ । एक गिलास तातोपानीको मूल्य १३० रुपियाँ कायम गरिएको छ ।  

पोखराबाट पुनहिलको भ्रमणमा आउनुभएका अनिल गुरुङले भन्नुभयो, “आफूलाई आवश्यक पर्ने तातोपानी आफैँ लैजान नपाइने नियम रहेछ। सुन्दर ठाउँ भए पनि यहाँको नियम पर्यटकमैत्री लागेन। यो त सिन्डिकेट भयो। यहाँ बिहानीपख अत्यधिक चिसो भएकाले पर्यटकले थर्मसमा तातोपानी लिएर आउन पाउनु पर्दछ।’’ पर्यटकमैत्री नभएको नियमलाई खारेज गर्न सरोकारवाला पक्षलाई उहाँले अनुरोध गर्नुभयो । फेरि अर्को पटक पुनहिल आउँदा यो नियम बदलिएको होस्, उहाँको भनाइ थियो । 

पर्यटकीय स्थलमा प्रवेश शुल्क लिन र कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा ६३ लाख ११ हजार रुपियाँमा ठेक्कामा लगाएको छ। पुनहिलमा प्रवेश गर्न आन्तरिक पर्यटकले ५० र विदेशी पर्यटकले १५० रुपियाँ शुल्क गाउँपालिकाले कायम गरिदिएको छ। पानी, चिया, कफीको शुल्क निर्धारण गरेको छैन । 

पुनहिल र टी सप सञ्चालनका लागि ठेक्कामा लिनुभएका विरेन पुनले पर्यटकले पुनहिलमा पानीलगायतका सामग्री लैजान नपाउने नियम पहिलादेखि नै चलिआएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रवेश शुल्क उठाउन र टी सप सञ्चालनका लागि हामीले गाउँपालिकालाई ठुलो रकम बुझाएका छौँ। पर्यटकले आफैँले पानीलगायतका सामग्री लिएर आउँदा हाम्रो व्यापार नभएपछि कसरी पालिकालाई रकम बुझाउन सक्छौँ ?” यो विषयमा पालिकाले नै नियम बनाइदिए राम्रो हुने उहाँको भनाइ छ । चिसो ठाउँ छ, बिहानै पानी बोकेर ल्याउनुपर्ने भएकाले पानी, चिया र कफीको मूल्य धेरै भएको उहाँको भनाइ छ । यहाँ चिया र कफीको किसिम अनुसार १५० देखि २५० रुपियाँसम्म मूल्य निर्धारण गरिएको छ । 

यो वर्ष पर्यटक कम आएकाले ठेक्कामा घाटा लाग्ने पुनले बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाले ठेक्काको रकम घटाउने, शुल्कमा कमी गर्ने र पर्यटकलाई पानी लैजान दिने नियम बनाउन हामी सकारात्मक छौँ। पर्यटकलाई सहज हुने गरी नियम बनाउन हामीलाई कुनै समस्या छैन।”