• १२ साउन २०८१, शनिबार

अपर अरुणको पहुँचमार्गका लागि दुई हजार रुख काटिने

blog

फाइल तस्बिर

किमाथाङ्का (सङ्खुवासभा), मङ्सिर २५ गते । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला-२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो । 

पहुँचमार्ग निर्माणका लागि भोटखोला-४ मा राष्ट्रिय वन तथा भोटखोला-२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१ दशमलव शून्य आठ हेक्टर क्षेत्रफलका दुई हजार एक सय ६८ रुख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालीकोटेले जानकारी दिनुभयो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । 

योसँगै आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालिएको उहाँको भनाइ थियो । प्राधिकरणले दुई दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ । 

पहुँचमार्ग भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्मको निर्माण गरिने छ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । अप्पर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको छ । जलविद्युत आयोजनाको अनुमानित लागत दुई खर्ब २६ करोड बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत आयोजनाको निर्माण सुरु हुनेछ ।

हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैङ्क तथा वित्तीय संस्थासँग कर्जा जुटाइने आयोजना कार्यालयले जनाएको छ । 

जलविद्युत आयोजनाका लागि १४ हजार रुख कटान 

जिल्लामा निर्माणाधीन जलविद्युत आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजना र कोसी कोरिडोरलगायत विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । विद्युत आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । 

नौ सय मेगावाटको अरुण तेस्रो र दुई सय २० मेगावाटको कोसी कोरिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रुख काटिएका हुन् । अरुण तेस्रो र कोसी कोरिडोर प्रसारण लाइनका लागि जिल्लामा १८ सामुदायिक वनका १४ हजार छ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख कालीकोटेले जानकारी दिनुभयो । रासस