राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर २५ गते । रुकुमपश्चिमका स्थानीय तहको समेत लगानी रहेको स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले सोमबार जिल्लाको बाँफिकोट गाउँपालिका–३ भाग्लेमा स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको हो ।
आयोजनाको शिलान्यास गर्नुहुँदै पूर्वमन्त्री शर्माले जलविद्युतमार्फत समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले जलविद्युतमार्फत जनतालाई धनी बनाउने सोच बनाएकाले बिद्युत आयोजनामा जनताको शेयर सुनिश्चित गरिने बताउनुभयो । यसबाट गरिबी कम गर्न सकिने उहाँको भनाइ छ ।
स्यार्पू पावर कम्पनीद्वारा निर्माण हुन लागेको यो आयोजना ३.३ मेगावाट क्षमताको रहने छ । जिल्लाका छ वटै स्थानीय तहको स्वामित्वमा रहने यो आयोजनालाई एक वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको छ । स्यार्पू तालबाट निस्किने तिल्चा खोलाबाट जलविद्युत उत्पादन गर्नेगरी आयोजनाको डीपीआर, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, लगानी सुनिश्चित, बिद्युत खरिदको सम्झौतालगायतको तयारी सम्पन्न गरेर आयोजनाको शिलान्यास गरिएको छ ।
कम्पनीका कार्यकारी निर्देशक प्रदीप ओलीका अनुसार कुल ५७ करोड लागतमा आयोजना निर्माणका काम सुरु भएको छ । कुल लागतमध्ये ५४ प्रतिशत रुकुमपश्चिमका छ वटा स्थानीय तह, १ प्रतिशत अर्थ मन्त्रालय र बाँकी ४५ प्रतिशत स्थानीय तथा अन्य नागरिकको शेयर लगानी रहने कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो । एक वर्षमा निर्माण सक्नेगरी दुई वटा निर्माण व्यवसायीसँग सम्झौता भएको उहाँले बताउनुभयो ।