• १० मंसिर २०८१, सोमबार

प्रकृतिको चमत्कार एलोस्टोन राष्ट्रिय निकुञ्ज

blog

हामीले पहिला नै तीन पटक अमेरिका भ्रमण गरिसकेका थियौँ । त्यसैले छोरी र ज्वाइँको अमेरिका भ्रमणको निम्तोबाट त्यति रोमाञ्चित भएका थिएनौँ तर भ्रमणलाई त्यतिकै टार्न पनि मनले मानेन । यद्यपि हाम्रो अनुमानविपरीत यसपालिको यात्रा अत्यन्तै रोमाञ्चकारी हुन पुग्यो । 

हामीले जुन २९ मा कनेक्टिकट राज्यको हार्डफोर्डबाट अमेरिकाको सुदूरपश्चिमका राज्यहरूको भ्रमण आरम्भ ग¥यौँ । जुन ३० र जुलाई १ गरेर दुई दिन वासिङ्टन राज्यको ठुलो सहर सियाटलमा दृश्यावलोकन गरेपछि वासिङ्टनकै एलेन्सवर्ग सहरमा बास बस्न पुग्यौँ । एलेन्सवर्गको होटलमा बिहानको नास्तापछि हाम्रो यात्रा पुनः सुरु भयो । दुई घण्टाको यात्रापछि वासिङ्टन राज्यको दोस्रो ठुलो स्पोकन सहरमा पुग्यौँ । स्पोकन सहरलाई ‘फादर्स डे’ को जन्मस्थल भनेर चिनिन्छ । हामीले त्यहाँको पाँच वटा वालमार्ट स्टोरमध्ये एउटामा आगामी यात्राका लागि चाहिने सामग्रीहरूको खरिदमा दुई घण्टा जति समय बितायौँ र एउटा फास्टफुड चमेना गृहमा लन्च पनि ग¥यौँ ।

हामीले स्पोकन सहरमा त्यहाँको रमणीय ‘मनिटो पार्क’ को अवलोकन ग¥यौँ; जसमा प्रेसिडेन्ट्स रोज गार्डेन, डोनकन गार्डेन, जापानिज गार्डेन र ग्लास हाउस गार्डेन छन् । त्यहाँबाट आइदाहो राज्य पार गरेर तीन घण्टाको यात्रापछि मोन्टाना राज्यको मिसौला सहरमा बेलुका ५ बजे पुग्यौँ र अग्रिम बुक गरिराखेको होटल स्टेब्रिज सुइटमा बस्यौँ । टाइम जोन परिवर्तनका कारण हामी बसेको कनेक्टिकट राज्यभन्दा वासिङ्टन राज्यको सियाटलमा समय ३ घण्टा पछाडि रहेछ र मिसौलाको समय सियाटलभन्दा १ घण्टा अगाडि रहेछ । यसले हाम्रो शरीरलाई अलिक असर पार्दो रहेछ । 

भोलिपल्ट जुलाई २ मा बास बसेकै स्टेब्रिज सुइट्स होटलमा बिहानको नास्ता गरेपछि हामीले यात्रा पुनः सुरु ग¥यौँ र ४ घण्टाको यात्रापछि जुलाई ३ मा हामी हाम्रो अन्तिम गन्तव्य र हाम्रो सपनाको भूमि एलोस्टोन राष्ट्रिय निकुञ्जमा पुग्यौँ । एलोस्टोन राष्ट्रिय निकुञ्ज संसारको पहिलो र उस बेला संसारकै ठुलो राष्ट्रिय निकुञ्ज हो, जुन सन् १८७२ मा स्थापना गरिएको थियो । 

एलोस्टोन राष्ट्रिय निकुञ्ज क्षेत्रफलमा यति ठुलो छ कि यो साढे तीन हजार वर्ग माइलभन्दा बढी फैलिएको छ । यो आठ हजार १०४ फिटको उचाइमा छ । यो लगभग अमेरिकाको कनेक्टिकट राज्यको आकार बराबर छ । यो निकुञ्ज करिब छ लाख वर्षअघि आएको महाभूकम्पले निर्माण गरेको क्षेत्र हो भन्ने गरिन्छ । नजिकैको दृश्यावलोकन स्थलबाट गर्जिरहेका दुई सुन्दर झरना र एलोस्टोनको ग्रान्ड क्याननमा नजर लगाउन मात्र निजी गाडीबाट १ घण्टाभन्दा बढी समय लाग्दो रहेछ । निकुञ्जभित्र भएका ४५ झरनामध्ये सबैभन्दा अग्लो ‘घोडाको पुच्छर’ जस्तो झरनाको उचाइ एक हजार दुई सय फिट छ ।

एलोस्टोन राष्ट्रिय निकुञ्जको अधिकांश भाग बायोमिङ राज्यभित्र पर्छ भने केही निकुञ्ज क्षेत्र इडाहो र मोन्टाना राज्यहरूमा फैलिएका छन् । यो निकुञ्ज ज्वालामुखीमाथि तातो स्थानमा रहेको मरुभूमिको एक मनोरञ्जन स्थल हो । यो निकुञ्ज उत्तर र पश्चिममा रमणीय र चट्टानी पहाडहरू हुनुको अतिरिक्त तातो मुहानहरू (हट स्पिङ्स), निरन्तर गर्जिरहेका झरनाहरू, जमिनमुनिबाट अचानक तातो पानीको प्रवाह बाहिर फाल्ने गिजर र एलोस्टोनको ग्रान्ड क्याननका लागि विश्व प्रसिद्ध छ । 

निकुञ्जभरि नै बाफ उडिरहेको देखिन्छ भर्खरै डडेलो लागेको जस्तो । त्यस्तै यो क्षेत्र बाइसन, एल्क, भालु, ब्वाँसा र मृगलगायत जनावर प्रजातिका लागि पनि प्रसिद्ध छ । एलोस्टोन राष्ट्रिय निकुञ्ज संयुक्त राज्य अमेरिकाको सबैभन्दा महìवपूर्ण र प्रतिष्ठित पर्यटक गन्तव्य हो, जहाँ प्रत्येक वर्ष औसतमा ४० लाखभन्दा बढी पर्यटकले भ्रमण गर्छन् ।

हामी पुगेको जुलाई ३ मा पनि निकुञ्जमा भिड थियो । करिब १० हजार जति पर्यटक निकुञ्जस्थलमा थिए । तातो जमिनमा मान्छे हिँड्न सम्भव नहुने भएकाले निकुञ्जभरि नै हिँड्नका लागि पुल जस्तो बाक्लो फ्ल्याकको बोर्डवाल्क बनाइएको छ । ती बोर्डवाल्कमा कमिलाको ताँती जस्तै मान्छे हिँडिरहेको देखिन्थ्यो । जताततै निजी सवारीसाधन पार्किङ गरेको देखिन्थ्यो र पार्किङस्थल पाउन हम्मे हम्मे हुन्थ्यो । उसै पनि जुन र जुलाई महिना अमेरिकामा पर्यटनका लागि उपयुक्त समय मानिन्छ र विद्यालयमा पनि गर्मीको बिदा हुने भएकाले घुमघाम अलि बढी नै हुन्छ ।  

हामीले दोस्रो दिन जुलाई ४ मा निकुञ्जको अर्को सबैभन्दा महत्वपूर्ण भागको चमत्कारहरू अवलोकन ग¥यौँ । मैले त्यो दिनलाई मेरो जीवनको अविस्मरणीय क्षणका रूपमा अभिलिखित गरेको थिएँ । पार्कको मुख्य आकर्षणहरूमध्ये एक ‘पुरानो विश्वासिलो’ भनिने गिजर हो । यसलाई ‘पुरानो विश्वासिलो’ यस कारण भनिन्छ, यो अपत्यारिलो किसिमले हरेक ९० मिनेटको अन्तरालमा नियमित रूपमा अटुट रूपमा विस्फोट हुन्छ । 

यो क्रम सन् १८७० मा एक अनुसन्धान टोलीले ‘पुरानो विश्वासिलो’ पत्ता लगाएर निकुञ्ज स्थापना गरेदेखि अहिलेसम्म अटुट रूपमा जारी छ । यो गिजर पार्कको मुख्य आकर्षण हो जहाँ हुने विष्फोट १ देखि ३ मिनेटसम्म रहन्छ र ९० देखि १८४ फिटको उचाइसम्म पुग्छ । विष्फोटको समयमा यसले वाफको साथ ठुलो मात्रामा तातोपानी धेरै माथिसम्म फ्याँक्छ । यो अविश्वसनीय घटना अवलोकन गर्नु पर्यटकको पहिलो रोजाइ हुने गरेको छ । 

जुलाई ४ मा ‘पुरानो विश्वासिलो’ भविष्यवाणी गरिए अनुसार ठिक समयमा ३ बजे विस्फोट भएको  थियो तर मैले त्यसलाई स्पष्ट रूपमा हेर्न सकेको थिएन । किनकि एक त म हेर्नुको सट्टा भिडियो र तस्बिरहरू लिनमा व्यस्त भएको थिएँ । दोस्रो, मैले गाडीबाट टाढा हेर्ने चस्मा लिन बिर्सेकाले गर्दा टाढा हेर्दा मेरो दृष्टि अलिकति धमिलो भएको थियो । 

मेरो दुःखेसो महसुस गर्दै छोरीले मलाई जुलाई ५ को बिहान त्यही ठाउँमा लगिन् र पूर्ण सन्तुष्ट हुने गरी भरपुर आनन्द लिएर हेर्न पाएँ । दर्शकका लागि राखिएका करिब छ पङ्क्तिका बेन्चहरू जीवनमा पहिला कहिल्यै नदेखेको पर्यटकको भिडले खचाखच भरिएका थिए र त्यतिकै सङ्ख्यामा ‘पुरानो विश्वासिलो’ को दक्षिण भागमा पश्चिमदेखि पूर्वसम्म उभिरहेका थिए । त्यसपछि पूर्वानुमान अनुसार ठिक ९ बजे करिब ५ मिनेटसम्म विष्फोट भयो र करिब ४० फिट उचाइसम्म माथि गयो । मलाई पूर्ण रूपमा सन्तुष्ट पार्नका लागि जस्तो गरेर गिजरले धेरै लामो समयसम्म र अघिल्लो दिनभन्दा बढी बाफको साथ ठुलो मात्रामा तातोपानी फ्याँक्यो । 

मिडवे गिजर बेसिनको एक्सेलसियर गिजरले फायरहोल नदीमा प्रत्येक सेकेन्डमा ५५ ग्यालन तातोपानी छोड्छ । यसको नजिकै पर्यटकको आकर्षणको केन्द्रबिन्दु ३०७ फिट फराकिलो आश्चर्यजनक ग्रान्ड प्रिज्म्याटिक हट स्प्रिङ छ । यो निकुञ्जको सबैभन्दा ठुलो र हेर्नैपर्ने निलो, हरियो, सुन्तला र सुनौलो रङ मिश्रित चम्किलो गमका रूपमा देखिने ‘तातो मुहान’ हो । हामीले उक्त ग्रान्ड प्रिज्म्याटिक हट स्प्रिङ्सलाई तलबाट हेरेर नअघाएर ‘भालुको सामना हुन सक्छ’ भन्ने चेतावनी हुँदाहुँदै पनि आधा घण्टा जति वनको बाटो हिँडेर पश्चिमतिरको अग्लो पहाडमा रहेको दृश्यावलोकन स्थलबाट पनि अवलोकन ग¥यौँ । निकुञ्जभित्र यस्ता अन्य धेरै ठुला ‘तातो मुहान’ र गिजरहरू छन् ।

हामीले निकुञ्जबाट एलोस्टोनको भव्य उच्चतम शिखर, ११ हजार ३५० फिटको इगल शिखर र १० हजार २१९ फिटको ‘माउन्ट वास्वर्ण’ का सुन्दरतालाई नजिकैबाट अवलोकन ग¥यौँ । वन्यजन्तु हेर्नका लागि उपयुक्त मनोरम हेडेन उपत्यकामा हामी एक किसिमको भैँसी (बिसन) को ठुलो बथान र मृग (इल्क) त देख्यौँ तर समय नमिलेकाले ब्वाँसो र भालु जस्ता जनावर भने देख्न सकेनौँ ।

एलोस्टोन ताल संयुक्त राज्य अमेरिकाको वायोमिङ राज्यको एलोस्टोन राष्ट्रिय निकुञ्जमा नै अवस्थित छ । समुद्री सतहबाट सात हजार ७३२ फिट उचाइमा रहेको र ३५० वर्ग किलोमिटर सतह क्षेत्रफल ओगटेको ‘एङ्गलर्स प्याराडाइज’ भनिने प्राकृतिक ताल – ‘एलोस्टोन ताल’ ले मनमोहक दृश्य प्रस्तुत गर्दछ । नेपालको रारा तालभन्दा ३२ गुणा ठुलो यो ताल उत्तरी अमेरिकाको उच्च उचाइमा रहेको सबैभन्दा ठुलो ताल हो र यति धेरै उच्च उचाइमा रहेको विश्वकै दोस्रो ठुलो ताल हो । 

यो ताल समुद्र सतहदेखि सात हजार ७३३ फिटको उचाइमा छ । यस तालको लम्बाइ ३२.२ किलोमिटर र चौडाइ २२.५ किलोमिटर छ । त्यस्तै यसको सतह क्षेत्र ३४२ वर्ग किलोमिटर छ । यो तालको अधिकतम गहिराइ चार सय फिट र औसत गहिराइ १३९ फिट रहेको छ । एलोस्टोन ताल हरेक जाडोमा डिसेम्बरको अन्त्यमा वा जनवरीको सुरुमा पूर्ण रूपमा जम्छ । यो ताल तातो मुहान र गिजरमाथि बनेकाले तालभित्र ३० मिनेटभन्दा बढी बाँच्न नसक्ने भएकाले यहा पौडी खेल्न मनाही छ । 

यसअघि कहिल्यै नदेखेको पर्यटकको ठुलो भिडको बिचमा हामीले दिनभर हिँडेर निकुञ्जभित्र रहेका यी सबै देख्यौँ र धेरै आनन्द लियौँ । छोरी श्रद्धा र ज्वाइँ अभिनय जोशीको शिष्टाचारले यात्राको महँगो खर्चका हिसाबले हामी जस्ता सामान्य मानिसका लागि प्रायः पहुँच नहुने अमेरिकाको पनि सुदूरपश्चिममा रहेको यो निकुञ्ज घुम्ने र हेर्ने मौका पाउँदा हामीले आफूलाई भाग्यमानी ठानेका छौँ ।   

Author

प्राडा श्याम जोशी