• १८ फागुन २०८०, शुक्रबार

युवालाई स्वदेशमै टिकाउने आधार

blog

हालै रसियाली सेनामा कार्यरत तीन जना नेपाली युवाको युद्धग्रस्त क्षेत्रमा मृत्यु भएको खबरले सञ्चार माध्यम र सामाजिक सञ्जाल तात्यो । इलामका गङ्गाराज मोक्तान नेपाली सेनामा पाँच वर्ष जागिर खाएपछि दलाललाई छ लाख रुपियाँ दिएर माल्टा जाने लोभले दुबई पुग्नु भएछ । दुबईमा पनि कमाएको सात लाख रुपियाँ दलाललाई बुझाएर रसिया पुग्नु भएछ । युद्धमा परेर भाइटीकाको दिन उहाँको मृत्यु भएको रहेछ । 

“रसियाबाट नराम्रो खबर आयो नाति टुहुरो भयो” भनेर उहाँका पितालाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेको छ । समाचार हृदयविदारक छ । तीन जना नेपाली युवाको युक्रेन–रसिया युद्धमा निधन भयो । उहाँहरू रसियाको राहदानी, नागरिकता र परिवारलाई व्यवस्थापन गराउने लोभले दलालको फन्दामा परेर रसियाली सेनामा भर्ती हुन पुग्नुभएको रहेछ । दलालले टिकटकबाट युवालाई फन्दामा पारेर छदेखि १० लाख रुपियाँ असुल गरेर रसिया पु¥याउने गरेको सामाजिक सञ्जालबाट सार्वजनिक हुने गरेका छन् । दलालले रसियाली सरकारसँग पनि युवालाई लागिदिएबापत रकम लिने गरेको बताइन्छ । यसरी दलालले खुलेआम धन्दा गरिरहेको अवस्थामा सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । यतिखेर इराक, इजरायल, अफगानिस्तान, रसिया तथा युक्रेनसम्मका युद्धग्रस्त क्षेत्रमा जोखिमपूर्ण काम गर्न भ्याएका छन् नेपाली युवाले । 

युद्ध तथा हिंसा मच्चिएका देशमा ज्यान माया मारेर बन्दुक पड्काउन पुग्ने पनि नेपाली, युद्धबाट शान्तिको मिसनमा जाने पनि नेपाली । हाम्रो समाज कस्तो बन्दै छ ? देखासिकीमा तडकभडक जिन्दगी बिताउन ज्यान माया मारेर युद्धग्रस्त क्षेत्रको लडाकु बन्न पनि दलाललाई पैसा खुवाएर पुग्ने पनि नेपाली । आफैँ पैसा तिरेर बेचिन तयार हुने भएर होला सायद नेपालीलाई आइक्युमा कमजोर भनिएको । 

एक जना युवा दलाललाई ७० लाख रुपियाँ बुझाएर अमेरिका पुग्नासाथ मृत्यु भएको अर्को खबर आयो । मृत्यु हुने सिन्धुपाल्चोकको बाह्रबिसे–६, सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठ हुनुहुन्छ । दलाललाई ८० लाख रुपियाँ बुझाएर विभिन्न देश हुँदै उहाँ अमेरिका पुग्नुभएको रहेछ । 

त्यस्तै लोलाङ हाइटमा तरकारी खेती गरेर गुजारा चलाइरहेकी ३९ वर्षीया दिलासा ६० लाख रुपियाँ बुझाएर थाइल्यान्ड पुग्नु भयो । गैरकानुनी बाटो भनेर चाल पाएपछि नेपाल फर्किन खोज्दा दलाललाई फेरि पाँच लाख रुपियाँ जरिबाना बुझाएर फर्केको अर्को खबर सार्वजनिक भयो । यसै गरी चोर बाटो हुँदै इराक पुगेर घरेलु शोषणमा परेर फर्किन नसकेकी सर्लाहीकी ३४ वर्षीय मनमायाको समाचार पनि हालैका हुन् । 

युवा पलायनको मुख्य कारण बेरोजगारी, सहज जीवनयापन गर्ने वातावरण नहुनु, थोरै कमाइ, गरिबी मुख्य कारण रहेको अन्तर्राष्ट्रिय मजदुर सङ्गठनको प्रतिवेदनले औँल्याएको छ । नेपालको सन्दर्भमा रोजगारी र अर्थतन्त्रको अवस्था सकारात्मक छैन । परदेशी हुने सपना हरेक युवाको मनमा विद्यालयदेखि नै हुर्किंदै गएको अवस्था छ । १२ कक्षापछि विदेश जाने लहरले कलेज तथा विश्वविद्यालय विद्यार्थीविहीन हुने अवस्थामा छन् । 

अशिक्षित युवा मात्र होइन, दक्ष नर्स, चिकित्सक, इन्जिनियरहरू पनि लाइन लागेर विदेश गइरहेका छन् । योग्यता र दक्षता भएकाहरूको पलायन गरी खान नसकेर वा जागिरको समस्याले होइन, जीवनस्तर राम्रो बनाउने लोभ तथा भ्रष्टाचार र कुशासनको पीडाले हो । परिवारको शिक्षा र सुरक्षित भविष्य मुख्य आकर्षणका रूपमा देखिएका छन् ।

युक्रेन–रसिया दुवै पक्षमा भिड्न पुगेका नेपाली युवा खान नपाएर, नपुगेर पक्कै होइन ? समाजमा देखाउन, देखासिकी गर्न नपुगेर हो । इमान र परिश्रमले खानुभन्दा जसरी हुन्छ ज्यान फालेर, कमाएको धनलाई बढी महत्व दिएर नै हो । यस्तो धनले सामाजिक प्रोत्साहन पाएर सिप र शिक्षा भएका युवा पनि पलायन हुन बाध्य भइरहेका छन् । सत्तामुखी राजनीति, जनताका तत्कालीन समस्याबाट बिमुख नेतृत्व, सकियो खत्तम भो भनेर निराशा मात्र फैलाइरहने नागरिक समाज र सञ्चार माध्यम पनि यसका थप कारक हुन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६४/६५ मा दुई लाख चार हजार, २०७१÷७२ मा छ लाख ९३ हजार, २०७९/८० मा सात लाख ७५ हजार ३२७ जना रोजगारीका लागि बिदेसिएका छन् । यो तथ्याङ्क हेर्दा सरदर नेपालबाट वार्षिक छ लाख युवा विदेश जान्छन् ।

युवा पलायन रोक्न रोजगारी सिर्जना, सहज व्यवसाय गर्ने अवसर, शिक्षाको व्यवसायसँग प्रत्यक्ष सम्बन्ध, भ्रष्टचारको अन्त्य, समान अवसर र पहुँचलाई मुख्य उपायका रूपमा विभिन्न अध्ययनले औँल्याएका छन् तर नेपालको सन्दर्भमा यी विषय मात्र पर्याप्त देखिँदैन किनकि हुँदाखाँदाको प्रहरी तथा सेनाको जागिर खानेहरू तथा चिकित्सक, नर्स, इन्जिनियर पनि पलायन हुनेमध्ये अग्रपङ्क्तिमा पर्छन् । यसर्थ तत्कालको समस्यादेखि, भविष्यको आशा र भरोसा जगाउने नेतृत्व अति आवश्यक छ । 

समाजलाई समय परिस्थिति अनुरूप मार्ग निर्देश गर्न रोजगारी र स्थानीय माटो सुहाउँदो शिक्षा दिन विश्वविद्यालय चुकिरहेका छन् । तिनले गर्ने कर्मकाण्डी शोध र पाठ्यक्रम विकास केवल विदेशी जनशक्ति विकास गर्ने अस्त्र मात्र बनेका छन् । उदाहरणका लागि बेलायती सरकारले विश्वविद्यालयलाई दिने अनुदान तिनले समाजका तत्कालीन मुद्दामा पारेको प्रभाव, समस्याको पहिचान र समाधानको खोजीको आधारलाई मानेर दिने गर्दछ । जेसुकै विषय पढ्न पनि सहज ऋण दिने र अध्ययन गरेका विषयले बजारमा माग भएका जनशक्ति परिपूर्ति गर्ने रणनीतिक योजनामा चलेका हुन्छन् । 

विश्वका पाँच उत्कृष्ट युवा विकास सूचकाङ्क भएका देशहरू जर्मनी, डेनमार्क, अस्ट्रेलिया, स्विट्जरल्यान्ड र बेलायतले युवालाई पाँच वटा क्षेत्रमा उच्च प्राथमिकता दिएर रणनीतिक नीति निर्माण र कार्यक्रम तर्जुमा गरेका छन् । ती हुन्– स्वास्थ्य, शिक्षा, रोजगारी र अवसर, राजनीतिक सहभागिता र नागरिक सहभागिता । 

सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिको सिकार बनेर बिदेसिने युवा स्वयंमा दोषी होइनन्, उनीहरूलाई समाजले जे सिकायो त्यही बाटो मात्र हिँडेका हुन् । युवालाई स्वदेशमै आशा जगाउने राजनीतिक नेतृत्वको खाँचो छ । युवा र आशालाग्दा नेताले पनि नैरश्य र देश खत्तम भएको सन्देश प्रवाह गर्न मात्र ध्यान केन्द्रित गरेको देखिन्छ । समाधानमुखी राजनीतिभन्दा बहकाउ राजनीतिले ठाउँ पाएको अवस्था छ । 

नागरिकलाई देशमा औसत जिन्दगी बाँच्ने वातावरण बनाउनु समाजवाद उन्मुख राज्यको पहिलो दायित्व हो, जसका लागि बालबालिकालाई आधारभूत शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिनु पर्छ । १२ कक्षा पास गरेको हरेक युवकयुवतीलाई पढ्दै कमाउने योजना ल्याउन सकिन्छ । हरेक १२ कक्षा पास गरेका विद्यार्थीलाई अनिवार्य रूपमा तीन महिना तलब सुविधा दिएर राष्ट्रको पिछडिएको क्षेत्रमा स्वयं सेवा गर्ने अवसर सिर्जना गर्नु पर्छ । यसले देशको माया, मोह बढाउँछ । देशको यथार्थ अवस्था बुझ्ने अवसर पनि प्रदान गर्छ । अनि यसरी काम गरेका उत्कृष्ट सेवकलाई तत्काल उसले चाहेको विषयमा सरकारले निःशुल्क पढ्ने व्यवस्था मिलाई दिनु पर्छ । अनि मात्र युवालाई स्वदेशमै टिकाउन सकिन्छ । 

सरकारले गरिब तथा विपन्न परिवारलाई मेडिकल, टेक्निकल, कृषि तथा पर्यटन शिक्षा पढ्नलाई निब्र्याजी ऋण प्रदान गर्नु पर्छ । यो ऋण अध्ययनपछि तिर्न मिल्ने योजना ल्याउनु पर्छ । यसमा स्थानीय तहले आवश्यक जनशक्ति उत्पादन गर्न निःशुल्क तालिम र शिक्षामा अनुदान प्रदान गरी अझ ठुलो भूमिका निर्वाह गर्न सक्छ । देश गरिब भए पनि यसले मलाई सकेको गरेको छ, मैले यो देशलाई दिनु पर्छ भन्ने भावना जगाउनु आजको आवश्यकता हो । 

सञ्चार माध्यम र नागरिक समाजले नराम्रा कुरा मात्र उछालेर देशको समग्र भाष्य नै खत्तम भयो भन्ने सन्देश प्रवाह गर्न बन्द गर्नु पर्छ । अबको बहस विद्यमान समस्याको समाधान के हो ? कसले राम्रो गरेको छ भन्नेमा केन्द्रित हुन जरुरी छ । सफल युवा र उद्यमीका कथाको प्रचार गर्नु पर्छ । सृजनशीलताको प्रवर्धन गर्नु पर्छ । सिल्पी संस्कारको विकास गर्नु पर्छ । यस्ता गतिविधि नै देशको विकास र युवा पलायन रोक्ने आधार बन्न सक्छन् ।   

Author

डा. जगन कार्की