• ७ जेठ २०८१, सोमबार

एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घट्यो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १५ गते । नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घटेको छ । ३६ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले आज सार्वजनिक गर्नुभएको तथ्याङ्कले यस्तो देखिएको हो ।  

उक्त तथ्यांकअनुसार सन् २०२२ मा ४८८ जना एचआइभी पुष्टि भएको अनुमान गरिएको छ । सङ्क्रमितमध्ये ५२ जना १४ वर्षमुनिका बालबालिका रहेका छन् । यो सङ्ख्या सन् २००० को तुलनामा ९० प्रतिशतले घटेको छ । सोही समय पाँच हजार ७८ जना एचआइभीका बिरामी थपिएका थिए ।  

सन् २०२२ मा मात्र तीनसय ४४ व्यक्तिको एड्सको कारण मृत्यु भएको अनुमान छ । यो तथ्याङ्क सन् २०१० को तुलनामा ८० प्रतिशतले कमी हो । सन् २०१० मा एक हजार सातसय व्यक्तिहरूको एड्सका कारणले मृत्यु भएको अनुमान गरिएको छ । 

२०२२ को अन्त्यसम्म नेपालमा २३ हजार २९३ सङ्क्रमितहरूले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् । अनुमानित कुल एचआइभी सङ्क्रमितमध्ये ७८ प्रतिशत एआरभी उपचारमा रहेका छन् । 

डा. ठाकुरका अनुसार नेपालमा हरेक दिन एक जनामा एचआइभी सङ्क्रमण पुष्टि हुनेगरेको छ । सन् २०२२ मा नेपालमा एक करोड ५९ लाख अमेरिकी डलर राष्ट्रिय एचआइभी कार्यक्रमका लागि खर्च भएको थियो । त्यो कुल खर्चमा नेपाल सरकारको लगानी १९ प्रतिशत रहेको ठाकुरले जानकारी दिनुभयो । 

केन्द्रका निर्देशक डा. ठाकुरले नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, जेलमा रहेका कैदीहरू पुरुष समलिङ्गीहरू तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि बिदेसिनेहरू रहेको बताउनुभयो । यीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिङ्गी यौनकर्मीमा संक्रमणदर अरू जोखिम समूहभन्दा उच्च रहेको उहाँको भनाइ छ।   

सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरूमा ३ प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यसैगरी सन् २०१७–२०१८ मा भएका सर्वेक्षणहरूअनुसार महिला यौनकर्मीमा २.२ प्रतिशत र पुरुष समलिङ्गीहरूमा ६.२ प्रतिशतका दरले एचआइभीको सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ । 

विश्वको अवस्था  

सन् २०२२ को अन्त्यसम्म संसारमा तीन करोड ९० लाख व्यक्तिहरूमा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएको छ । ती मध्ये ७६ प्रतिशत (दुई करोड ९६ लाख) मात्र एन्टीरेट्रोभाइरल (एआरभी) मा छन् । विश्वमा हरेक दिन तीन हजार छसय मानिसहरू एचआइभी सङ्क्रमित हुन्छन् । सन् २०२२ मा १३ लाख नयाँ सङ्क्रमित भएको अनुमान गरिएको छ । जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले कम हो । 

सन् १९९५ मा ३२ लाख मानिस सङ्क्रमित थिए । सङ्क्रमितमध्ये एक लाख ३० हजार बालबालिका रहेका छन् । सोही समयमा छ लाख ३० हजार मानिसको मृत्यु एड्सको कारणले भएको अनुमान गरिएको छ । यो सङ्ख्या सन् २०१० को तुलनामा ५१  प्रतिशतले घटेको हो । सन् २०१० मा १३ लाख मानिसको एड्सको कारण मृत्यु भएको अनुमान गरिएको थियो ।

एसिया प्रशान्त क्षेत्रको अवस्था 

एसिया प्रशान्त क्षेत्रमा एचआइभी र एड्सको अवस्था सन् २०२२ को अन्त्यसम्म एसिया प्रशान्त क्षेत्रमा ६५ लाख व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । कुल एचआइभी सङ्क्रमितमध्ये ६५ प्रतिशत अर्थात् ४२ लाख २५ हजार एआरभी उपचारमा छन् । 

सन् २०२२ मा तीन लाख नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन् सन् २०१० को तुलनामा १४ प्रतिशतले घटेको छ । जसमा १२ हजार बालबालिका रहेका छन् । सन् २०२२ मा मात्र एक लाख ५० हजार व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान छ । सन् २०१० देखि २०२२ सम्ममा ५१ प्रतिशतले घटेको छ । 

नेपालमा दिगो विकास लक्ष्य सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ अर्थात् ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरूमध्ये ९५ प्रतिशतले शरीरमा भाइरसको भार न्यून भएको हुने र एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्ससम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेको ठाकुरले जानकारी दिनुभयो । डा. ठाकुरले सबै पक्षको सहयोग र सहकार्यमा सन् २०३० सम्म एचआइभी अन्त्य गर्न सकिने दाबी गर्नुभयो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।