• ४ पुस २०८१, बिहिबार

संकटमा दमाहा बाजा

blog

विवाहको बेलामा जामा लगाएर बजाएको दमाहा बाजा । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा , मङसिर १५ गते । मङ्सिर महिना सुरु हुने बित्तिकै बाजुराको जताततै गाउँगाउँमा गुञ्जिने दमाहा बाजा लोप हुँदै आएको छ । पहिला एक गाउँबाट अर्को गाउँमा जाने जन्तीलाई सज्जाएर बाटो सेताम्य हुने गरी जामा लगाएर बजाउँने दमाहा बाजालाई पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको हो ।

विवाहको समयमा बज्ने दमाहा बाजाले मङ्सिर, माघ र वैशाख महिना निकै रौनकता छाएको हुन्थ्यो । केही वर्ष यता गाउँमा विवाहको बेला सजाएर बजाइने त्यो दमाहा बाजा अहिले बज्नै छोडेको बाजुराका स्थानीय बताउँछन् ।

मङ्सिर, माघ, नयाँ वर्ष वैशाख र जेठमा विवाहको बेलामा गुञ्जिने दमाहा बाजा पछिल्लो समय बिस्तारै लोप हुँदै आएको त्रिवेणी ज्येष्ठ नागरिक प्रेम बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘विवाहमा जाने जन्ती डोर्‍याएर लिने त्यो दमाहा बाजाले एक गाउँको कला संस्कृति अर्को गाउँलाई देखाउने र त्यसको सिकाइ अन्य गाउँमा पुग्दा दमाहा बाजाको जगेर्ना हुने गरेको थियो । अहिले गाउँमा हुने गरेका विवाह भोज भुवा भैलो लगायतका चार्ड पर्वमा डिजे बज्न थालेपछि पहिला गाउँमा गुञ्जिदै आएको दमाहा बाजा बिस्तारै लोप हुँदै आएको बुढाले बताउनुभयो ।

पहिला गाउँ गाउँमा ठुलो जन्त भएपछि दमाइले जामा पहिरेर दमाहा बजाउने गर्दा जन्ती जान निकै रमाइलो हुने गरेको उहाँको भनाइ छ ।

अहिले त्यो चलन सबै बिस्तारै लोप हुँदै आएकोले बाजुराको कला संस्कृतिसमेत हराएको महसुस हुन थालेको बूढीगङ्गा नगरपालिका–१० तिमाडाका स्थानीय रिने नेपालीले बताउनुभयो ।

सेतो कपडाको बनाएको त्यो पोसाक भारतमा मात्र पाउने गर्थ्यो । त्यो पोसाक पहिलेका पुस्ताले घरमा राम्रोसँग सजाएर राख्ने गर्थे । अहिलेको नयाँ पुस्तालाई यसको औचित्य नै थाहा नुहुँदा जामाको पहिचान हराएको नेपालीले बताउनुभयो ।

पहिला विवाह हुँदा एक गाउँबाट अर्को गाउँसम्म हिँडेर जन्ती जानु पर्दथ्यो । अहिले सडक यातायातको सुविधा भएपछि त्यो चलन पनि बिस्तारै लोप हुँदै गएको छ ।

जामा पहिरी दमाहा बजाएर गएको जन्तले कला संस्कृतिको उपमा दिने गर्दथ्यो, अहिले त्यो लोप हुन थालेपछि सांस्कृतिक नै लोप हुन थालेको नेपालीको भनाइ छ ।

पहिलाका पुस्ताले जन्तमा बाजा बजाए बापत दुईदेखि चार हजार रुपियाँ लिने गर्थे भने अहिलेको नयाँ पुस्ताले तीसदेखि चालिस हजारसमेत लिने गरेको नेपालीले बताउनुभयो । पहिलेका पुस्ताले विवाह, भुवापर्व चलनमा ल्याएको यो दमाहा र जामा बाजुरामा अहिले बिस्तारै लोप हुँदै गएको छ । 

बाजा बजाएर विवाह गर्दा अहिले दुई चार लाख रुपियाँ खर्च हुन्छ । त्यसैले अहिले गाउँमा सामान्य मानिसले बाजा बजाउन नसक्ने उहाँको अनुभव छ ।

बाजुराबाट छिमेकी जिल्ला अछामको बाब्ला, ठाँटी, साँफे, खप्तड, दर्नालगायत विभिन्न गाउँमा जामा लगाएर बाजा बजाउँदै जन्त जाने गर्थे । अहिले सडकको सुविधा भएसँगै गाडीमा आउने गर्दछन् । फरक यति मात्र हो कि पहिला जन्त जाँदा जामा लगाएर बाजा बजाएर डोली सिँगारिन्थ्यो भने अहिले बस, जिप सिँगार्ने गरेको स्थानीय बताउँछन् ।

खप्तड छेडेदह–१ ज्येष्ठ नागरिक पद्मा दमाइले, पहिला बुहारी माग्न जाँदा ठुलो जन्त ल्याउने भए मात्र छोरी दिन्छु नत्र छोरी दिन्न भनेपछि गाउँमा दमाहा बाजाको प्रयोग हुने गरेको बताउनुभयो ।

बाजुरामा बाजा लोप भएको झण्डै पन्ध्र वर्ष भयो । अहिले पनि गाडीको सुविधा नभएका गाउँ बस्तीमा फाटफुट बाजा बजाएर जन्त जाने चलन छ । बाजुरामा २०५८ सालदेखि प्राय दमाहा बाजा बजाउने चलन कम हुँदै आएको छ।