• १२ साउन २०८१, शनिबार

जलविद्युत्, पर्यटन र कृषि समृद्धिको आधार

blog

भारतकुमार पुन अध्यक्ष, अन्नपूर्ण गाउँपालिका

म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्राकृतिक स्रोतसाधनका हिसाबले जिल्लामै सम्पन्न पालिका हो । यहाँ जलविद्युत्, पर्यटन र कृषिको ठुलो सम्भावना छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस पालिकामा विश्वचर्चित पर्यटकीय स्थल छन् । ४२ मेगावाटको मिस्त्री खोला, १४ मेगावाटको घार खोला र पाँच मेगावाट क्षमताको घलेम्ली खोला जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् । तीन वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् भने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज निर्माण प्रक्रियामा प्रवेश गरेको छ । विश्वमै चर्चित पर्यटकीय स्थल पुनहिल यही गाउँपालिकाभित्र पर्छ । प्राकृतिक रूपमा सुन्दर पर्यटकीय स्थल र तातोपानी कुण्डले पालिका सम्पन्न छ । पालिकाले आन्तरिक रूपमा जलविद्युत्, पर्यटन र तातोपानीबाट राम्रो आम्दानी गर्दै आएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग र पहिलो पटक मानव पाइला परेको आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल यसै पालिकाभित्र पर्छ । शैक्षिक क्षेत्रमा २३ वर्ष सेवा गर्नुभएका भारतकुमार पुन २०७९ को स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनसँग गोरखापत्रका पत्रकार ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :


पालिका अध्यक्ष निर्वाचित भएपछि यहाँले  कस्तो अनुभव गर्नुभएको छ ? 

जनप्रतिनिधि भएर काम गर्न कठिन रहेछ । जनतासँग प्रत्यक्ष रूपमा जोडिएर सेवा गर्ने स्थानमा छु । यो पद भनेको सानातिना समस्याको समाधान पनि गर्नुपर्ने जिम्मेवारी रहेछ । जनताको नजिकको सरकार भएकाले धेरै गुनासा आउने र सम्बोधन गर्नुपर्ने अवस्था छ । सीमित स्रोतसाधनलाई परिचालन गरेर जनताका असीमित चाहना पूरा गर्नुपर्ने चुनौती छ । मैले जिम्मेवारीलाई चुनौती र अवसरका रूपमा लिएको छु । ठुला योजना पालिकाबाट सम्भव नहुने यसका लागि प्रदेश र सङ्घमा माग गर्दा पनि सम्बोधन नहुने अवस्था छ । 

पालिकाको विकास र समृद्धिका आधार तय गर्नुभएको छ ? 

‘समृद्ध अन्नपूर्ण निर्माणको आधार कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने हाम्रो नारा छ । मुख्य रूपमा हाम्रो पर्यटन, जलविद्युत् र कृषिलाई समृद्धिको आधार मानेका छौँ । हामीसँग सुन्दर पर्यटकीय स्थल छन् । तिनको प्रचारप्रसार र प्रवर्धन गरेर रोजगारी सिर्जना र आयआर्जनको मुख्य स्रोत बनाउन खोजेका छौँ । साथै जलविद्युत्को विकास र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै समृद्ध पालिका बनाउने हाम्रो लक्ष्य छ । कृषि उत्पादनलाई वृद्धि गरेर कृषकको जीवनस्तर उकास्ने र जलविद्युत् आयोजना निर्माण गर्न पालिकाले सकारात्मक वातावरण तयार पार्ने कोसिस गरेका छौँ । 

पर्यटन विकासका लागि के कस्ता योजना छन् ?   

पर्यटकीय स्थलमा पूर्वाधार निर्माण र प्रचारप्रसार हाम्रो पहिलो प्राथमिकतामा छ । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरलाई विश्वभर चिनाउने कोसिस गरेका छौँ । जुन ठाउँ अहिलेसम्म ओझेलमा परेको छ । त्यसपछि यहाँ पूर्वाधार निर्माणलाई जोड दिने छौँ । सडक विस्तारका कारण पुराना पदमार्ग मासिएकाले पदमार्गको नक्साङ्कन गर्ने, पूर्वाधार निर्माण गर्ने, ग्रामीण गाउँलाई पदमार्ग निर्माण गरेर पर्यटकीय रुटसँग जोडेर स्थानीयको जीवनस्तर उकास्ने योजना बनाएका छौँ ।

पर्यटन प्रवर्धन र पूर्वाधार निर्माणका लागि लगानी पनि भएको छ ? 

हाम्रो बजेटको ठुलो भाग नै पर्यटन विकासका लागि विनियोजन गरेका छौँ । चालु आर्थिक वर्षका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको बजेट गरी चार करोड ५९ लाख रुपियाँ विनियोजन गरेका छौँ । पर्यटनमार्फत स्थानीयको जीविकोपार्जन र आन्तरिक तथा बाह्य पर्यटकले पनि सुविधा पाउने हिसाबले काम गरिरहेका छौँ । 

मौरिस हर्जोग अन्नपूर्ण पदमार्गको विकासमा जोड दिनुभएको हो ?  

सबैभन्दा पहिला मानव पाइला परेको हिमाल नै अन्नपूर्ण प्रथम हिमाल हो । यो हाम्रै पालिकाभित्र पर्दछ । मौरिस हर्जोगले म्याग्दीबाट अन्नपूर्णको सफल आरोहण गर्नुभएको हो । मौरिस हर्जोग हिँडेको बाटोलाई हामीले मौरिस हर्जोग पदमार्ग भनेर नामकरणसमेत गरेका छौँ । 

अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेपछि बल्ल अन्य हिमालको आरोहण भएको हो । मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल हाम्रै भेगबाट आरोहण गरेको कुरा विश्वभर प्रचार गर्न खोजेका छौँ । अन्नपूर्णको उत्तरी आधार शिविरमा पूर्वाधार निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै छौँ । 

पालिकाको आन्तरिक आम्दानीमा सुधार गर्नुभयो कि ? 

पर्यटकीय स्थल र तातोपानी कुण्ड पालिकाको आन्तरिक आम्दानीका मुख्य स्रोत हुन् । जसबाट वार्षिक रूपमा एक करोड ५० लाख रुपियाँ सङ्कलन हुन्छ । आगामी दिनमा अझै आन्तरिक आम्दानी बढाउने योजना बनाएका छौँ । विद्युत्, पर्यटन र वनजङ्गलबापतको ७३ लाख ३४ हजार ६५७ रुपियाँ रोयल्टी प्राप्त भएको छ । विद्युत्बाट मात्रै ६६ लाख रुपियाँ रोयल्टी प्राप्त भएको छ । आन्तरिक आम्दानीलाई बढाउन तातोपानी कुण्डलाई थप प्रवर्धन गर्न खोजेका छौँ । हामीसँग चार वटा तातोपानीका कुण्ड छन् । झरनालाई पनि व्यवस्थित बनाएर आन्तरिक आम्दानीको स्रोत बनाउन खोजेका छौँ । 

शैक्षिक क्षेत्रको सुधारका योजना पनि बनाउनुभएको छ ? 

प्रत्येक विद्यालयमा बालविकासको व्यवस्था गर्ने सोच छ । विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो छ । आवाससहितका विद्यालय बनाउने पालिकाको योजना छ । अहिले दुई वटा विद्यालयमा आवासको व्यवस्था गरेका छौँ । विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, न्यून विद्यार्थी भएका विद्यालयलाई ‘मर्ज’ गर्ने र विद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनाउने सोच छ । 

कृषि क्षेत्रमा कस्ता कार्यक्रम बनाउनुभएको छ ?  

यो सुन्तला र आलु खेतीका लागि उर्वर भूमि हो । शिख, खिबाङ, राम्चे र नागीलाई आलु पकेट क्षेत्र बनाएका छौँ । किसानलाई कृषि उपकरण, तालिम, तरकारी बिउ उत्पादनमा प्रोत्साहन गर्ने र साना सिँचाइका योजना सञ्चालन गरेका छौँ । स्थानीय  रैथाने बालीनालीको उत्पादनमा कृषकलाई अनुदान दिने कार्यक्रम बनाउँछौँ । पर्यटकलाई पनि स्थानीय उत्पादन चखाउन सकियोस् भन्ने हाम्रो लक्ष्य हो ।  

प्रदेश र सङ्घ सरकारसँग समन्वय र सहयोग भएको छ ? 

समपूरक अनुदान माग गरेबमोजिम त आएको छ । अन्य योजना पाउन सकेका छैनौँ । पालिकाको माग अनुसार बजेट प्राप्त भएको छैन । समानुपातिक रूपमा बजेट प्राप्त हुँदैन । आवश्यकता अनुसार बजेट प्राप्त गर्नुपर्ने हो त्यो भएको छैन । पालिकाले आवश्यकता पहिचान गरेका ठाउँमा बजेट दिए काम गर्न सहज हुने थियो । 

स्वास्थ्य र सामाजिक क्षेत्रमा कसरी काम गर्नुभएको छ ? 

सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा पु¥याएर वितरण गरेका छौँ । ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । दुर्गम बस्तीमा स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रदान गरेका छौँ । सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम, न्यानो कपडा, पौष्टिक आहार प्रदान गर्ने कार्यक्रम गरेका छौँ । अति विपन्न, ज्येष्ठ नागरिक, सुत्केरीलगायतलाई निःशुल्क एम्बुलेन्सको सेवा दिएका छौँ । 

गाउँपालिकाको विकासका लागि चुनौतीको अनुभव गर्नुभएको छ ? 

प्रदेश र सङ्घबाट पर्याप्त रूपमा बजेट आउन सकेको छैन । कच्ची भूगोलका कारण ग्रामीण सडकको स्तरोन्नति हाम्रो चुनौती छ । हिउँदमा सडक बनायो बर्खामा बाढीपहिरोले बगाउँछ । वैदेशिक रोजगारीका लागि बिदेसिने प्रवृत्ति बढ्दो छ । पालिकाभित्र नै  रोजगारी सिर्जना गर्नु हाम्रो चुनौती छ । सीमित स्रोतसाधनबाट पालिकावासीको असीमित जनचाहना र आवश्यकता पूरा गर्नु छ । हामीले पालिकाको प्रशासकीय भवन बनाउनु छ । त्यसका लागि जग्गाको व्यवस्थापन गर्नु नै ठुलो चुनौती छ । अर्कोतर्फ हामी जलविद्युत् र पर्यटनमा धनी छौँ, यसबाट समृद्धि पालिका बनाउने अवसर पनि हामीसँग छ ।