• २६ वैशाख २०८१, बुधबार

चार महिनामा दुई अर्बको अलैँची निर्यात

blog

काठमाडौँ, मङ्सिर १३ गते ।  चालु आर्थिक वर्षको चार महिनामा दुई अर्ब रुपियाँभन्दा बढीको १७ लाख किलो अलैँची निर्यात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म दुई अर्ब १५ करोड ६० लाख ९४ हजार रुपियाँ बराबरको १७ लाख ३७ हजार ११० किलो अलैँची निर्यात भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब ९६ करोड २५ लाख ९३ हजार रुपियाँ बराबरको २४ लाख ४१ हजार १९९ किलो निर्यात भएको थियो । गत वर्षको चार महिनाको तुलनामा चालु आवको चार महिनामा अलैँची निर्यातमा १९ करोड रुपियाँले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै अलैँची निर्यात बढेको तथ्याङ्कले देखाएको छ । 

मुलुकमा उत्पादित अलैँची छिमेकी मुलुक भारतमा ठुलो परिणाममा निर्यात हुने गरेको छ । भारतबाट व्यवसायीले अन्य देशमा समेत अलैँची निर्यात गर्ने गरेका छन् । 

विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो । आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैँचीको माग बढेसँगै वार्षिक रूपमा अलैँची निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले अलैँची निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यात बढाउन सके बढ्दो व्यापार घाटा समेत कम गर्न सकिने उहाँको भनाइ छ । नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अलैँची मसलाका रूपमा प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैँची । जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ । वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु¥याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । 

आव २०७५/७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा सात हजार ९५४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, मोरङलगायतका जिल्लामा अलैँची उत्पादन हुन्छ । ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, खोटाङलगायतका जिल्लामा अलैँची खेती धेरै हुने गरेको छ ।