• ६ पुस २०८१, शनिबार

दिगो विकासका लक्ष्य

blog

पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेको दिगो विकास लक्ष्यको चर्चा छ । सरकारी स्तरमा दिगो विकासका लक्ष्यबारे छलफल भए पनि जनस्तरमा यस बारेमा खासै जानकार छैनन् । जनस्तरमा यस विषयमाथि पर्याप्त छलफल भएको छैन । वर्तमान विश्वमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि जस्ता नयाँ समस्या झेलिरहेको विश्वका हरेक मानिसले दिगो विकास लक्ष्यबारे जानकार हुनु जरुरी छ । 

दिगो विकासका लक्ष्य

विश्वबाट गरिबी अन्त्य, पृथ्वीको रक्षा र सन् २०३० भित्र विश्वका सबै मानिसको शान्ति र समृद्धिको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०१५ मा विश्वव्यापी रूपमा आह्वान गरेको थियो । दिगो  विकासका लक्ष्य (सस्टेनेबल डेभ्लपमेन्ट गोल्स) अर्थात् एसडिजिजलाई विश्वव्यापी लक्ष्यहरू पनि भनिएको छ । 

१७ बुँदाका यी लक्ष्यलाई विश्वका सबै मुलुकले स्वीकारेका छन् । यी लक्ष्यले एक क्षेत्रमा गरिने कार्यले अन्य क्षेत्रलाई प्रभाव पार्ने तथा त्यसले सामाजिक, आर्थिक र वातावरणीय दिगोपनालाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ । यी लक्ष्य निम्नानुसार छन् ः

लक्ष्य १ – शून्य गरिबी

विश्वव्यापी विद्यमान गरिबी उन्मूलन कार्य वर्तमान विश्वका लागि ठूलो चुनौती छ । विश्वको ठूलो जनसङ्ख्या अझै पनि आधारभूत सेवासुविधा र आवश्यकताबाट वञ्चित छ । विश्वमा अझै ७३ करोड ६० लाख मानिस प्रतिदिन १.९० अमेरिकी डलरभन्दा कम आयको भरमा बाँचिरहेका छन् । उनीहरू पोषणयुक्त खाना त के सामान्य भोजन प्राप्तिबाट समेत वञ्चित रहेको देखिन्छ । 

स्वच्छ खानेपानी र सरसफाइ सुविधासमेत उनीहरूले प्राप्त गरेका  छैनन् । चीन र भारतले तीव्रत्तर आर्थिक उन्नति गरे पनि ती दुई देशको जनसङ्ख्याको ठूलो हिस्सा अझै गरिबीबाट बाहिर निस्कन सकेको छैन । ती देशमा हुने खाने र नहुनेबीचको खाडल कहालीलाग्दो छ । 

विश्वमा सबैभन्दा धेरै गरिबी दक्षिण एसिया र अफ्रिकालगायत तेस्रो विश्वका मुलुकमा छ । त्यसैले दिगो विकासका लक्ष्यले सन् २०३० सम्म विश्वबाट सबैभन्दा जोखिममा परेकालाई लक्षित गर्दै  उनीहरूका लागि आधारभूत सेवासुविधा बढाउने तथा द्वन्द्व र जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित समुदायलाई सहयोग गर्दै विश्वभर सबै प्रकारका गरिबीको अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

लक्ष्य २– शून्य भोकमरी

जलवायु परिवर्तनका कारण सिर्जित बाढीपहिरो, खडेरी, वातावरणीय असर, जैविक विविधतामा आएको ह्रास, गरिबीले गर्दा विश्वका अधिकांश देशमा अझै चरम भोकमरी र कुपोषणको समस्या छ । विश्वमा पाँच वर्षमुनिका नौ करोडभन्दा बढी बालबालिका कुपोषणको मारमा छन् । त्यसले दिगो विकासको लक्ष्यले सन् २०३० सम्ममा विश्वबाट सबै प्रकारको भोकमरी र कुपोषणको अन्त्य गर्ने लक्ष्य राखेको छ । 

लक्ष्य ३– सुस्वास्थ्य र कल्याण

यस लक्ष्यले आर्थिक र सामाजिक असमानता, तीव्र गतिमा भइरहेको सहरीकरण, जलवायु परिवर्तन, वातावरणीय खतराका साथै सङ्क्रामक रोग, नसर्ने दीर्घ रोगहरूद्वारा सिर्जित चुनौतीमा आफूलाई केन्द्रित राखेको छ । यो लक्ष्य हासिल गर्न गरिबी अन्त्य र असमानता न्यूनीकरणलाई अभिन्न अङ्ग मानिएको छ ।

लक्ष्य ४– गुणस्तरीय शिक्षा

विश्वमा पछिल्लो पटक शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाको सङ्ख्यामा कमी आए पनि विश्वका गरिब, द्वन्द्वग्रस्त मुलुकका बालबालिका अहिले पनि गुणस्तरीय शिक्षाको कुरा छोडौँ सामान्य शिक्षाबाट समेत वञ्चित छन् । पश्चिम एसिया र उत्तर अफ्रिकामा विद्यमान सशस्त्र द्वन्द्वका कारण त्यस क्षेत्रका लाखौँ बालबालिका शिक्षाको पहुँच बाहिर रहेको देखिन्छ । जसका कारण धनी देश र गरिब देश, सहर र गाउँ अनि सम्पन्न र विपन्न परिवारका बालबालिका माझ ठूलो असमानता उत्पन्न भएको छ । 

सोही कारण यस लक्ष्यले सबैका लागि समावेशी र गुणस्तरीय शिक्षा उपलब्ध होस् भन्ने उद्देश्यका साथ सन् २०३० सम्ममा सबै बालबालिकाले निःशुल्क प्राथमिक र माध्यमिक शिक्षा पूरा गर्न पाउनुपर्ने कुरा सुनिश्चित गरेको छ ।  

लक्ष्य–५ लैङ्गिक समानता

महिला तथा बालिकाविरुद्ध हुने सबै खाले विभेदको अन्त्यलाई आधारभूत मानव अधिकारको विषय मानिएको छ । सोही कारण यस लक्ष्यले लैङ्गिक समानतालाई आफ्नो कामको केन्द्रबिन्दुमा  राखेको छ । श्रमिक महिलाले पारिश्रमिकमा भोगिरहेको असमानता र सबैखाले महिला हिंसा अन्त्यमा जोड दिइएको छ ।  

लक्ष्य–६ स्वच्छ खानेपानी तथा सरसफाइ

विश्वमा यतिबेला जलवायु परिवर्तनका कारण पानीका स्रोतमा कमी आएको छ भने भएको पानीका स्रोतमाथि बढ्दो जनसङ्ख्या र सहरीकरणका कारण मानवीय चाप बढ्दो छ । सोही कारण विश्वका गरिब मुलुकका बहुसङ्ख्यक जनता स्वच्छ खानेपानी तथा सरसफाइ सेवाबाट वञ्चित छन् । त्यसैले सन् २०३० सम्म सबैका लागि सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराउन पर्याप्त पूर्वाधारमा लगानी हुनुपर्ने र सरसफाइलाई प्रोत्साहन गर्नु पर्छ पर्ने लक्ष्य यसले राखेको छ । 

लक्ष्य–७ सुलभ स्वच्छ ऊर्जा

वर्तमान विश्वमा अहिले पनि अधिकांश मानिस सहज जीविकोपार्जनका लागि ऊर्जा प्राप्तिबाट वञ्चित छन् । बढ्दो जनसङ्ख्या र विश्वव्यापी तापक्रम वृद्धिका कारण ऊर्जाको मागसमेत बढ्दै गएको छ । विश्वका औद्योगिक धनी राष्ट्रहरूले कोइला, ग्यास र खनिज तेल (डिजेल–पेट्रोल) बाट ऊर्जा उत्पादन गरी आवश्यकता पूर्ति गर्दै आएका छन् । कोइला तथा खनिज तेलबाट उत्पादित विद्युत् ऊर्जालाई डर्टी इनर्जी (फोहोर ऊर्जा) भन्ने गरिएको छ । उक्त डर्टी इनर्जीलाई विस्थापित गर्दै सन् २०३०  सम्म सौर्य, वायु जस्ता स्वच्छ ऊर्जा उत्पादनमा जोड दिँदै सबैका लागि ऊर्जा सुनिश्चित हुनुपर्ने लक्ष्य यसमा राखिएको छ । 

लक्ष्य– ८ राम्रो काम र आर्थिक वृद्धि

विश्वव्यापी अहिले पनि ठूलो आर्थिक असमानता रहेको छ । लगानी तथा स्रोतसाधनको अभाव र असमान उपलब्धता, गरिबी, बेरोजगारीका कारण संसारका अधिकांश तेस्रो मुलुकले आर्थिक असमानता झेलिरहेका छन् । त्यसैले यस लक्ष्यले विश्वव्यापी विद्यमान आर्थिक असमानता हटाउन दिगो आर्थिक वृद्धि, उत्पादकत्व, उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिएको छ । त्यसका लागि सन् २०३० सम्ममा महिला र पुरुषका लागि उत्पादनशील रोजगारी र मर्यादित काम उपलब्ध गराउने लक्ष्य राखेको छ । 

लक्ष्य– ९ उद्योग, नवीनता र पूर्वाधार

यस लक्ष्यले नयाँ रोजगारी सिर्जना गर्न तथा दक्षता प्रवर्धनसहित आर्थिक र वातावरणीय चुनौतीको दिगो समाधानका लागि प्राविधिक प्रगतिलाई महत्वपूर्ण ठानेको छ । दिगो उद्योगधन्दाको प्रवर्धन, वैज्ञानिक अनुसन्धान तथा लगानीमा जोड दिएको छ । सूचना र ज्ञानमा समान पहुँच सुनिश्चितताका साथै नवीनता र उद्यमशीलतालाई बढावा दिइनुपर्ने मान्यता राखेको छ । 

लक्ष्य–१० असमानता न्यूनीकरण

वर्तमान विश्वमा सबै देशमा व्यक्तिको आयस्रोतमा व्यापक असमानता छ । उक्त असमानतालाई न्यूनीकरण गर्न र आयआर्जनमा संलग्न सबैलाई सशक्त बनाउन यसले आर्थिक समावेशीकरण प्रवर्धनमा ठोस नीतिको आवश्यकता औँल्याएको छ । 

लक्ष्य–११ दिगो सहर र समुदाय

विश्वमा यतिबेला सहरीकरण तीव्र रूपमा अघि बढेको छ । मानिस ग्रामीण बस्तीबाट सहरोन्मुख हुँदै गइरहेका छन् । गाउँ रित्तिँदै गएको देखिन्छ । विकासोन्मुख मुलुकमा सहरीकरणको वृद्धिदर अझ बढी छ । सोही कारण दिगो सहर र समुदायको अवधारणा यस लक्ष्य अनुसार अघि सारिएको छ । जुन सहरमा व्यापारका अवसर, सुरक्षित र सुलभ आवास, सहज समाज निर्माणको उद्देश्य राखिएको छ । यस अन्तर्गत सहज सार्वजनिक यातायात, हरियालीसहित सार्वजनिक स्थानहरूको निर्माण तथा सहभागितामूलक सहर व्यवस्थापनलाई जोड दिइएको छ । 

लक्ष्य–१२ उत्तरदायी उपभोग र उत्पादन

दिगो विकाससहित आर्थिक वृद्धि हासिलका लागि वस्तु तथा स्रोतहरूको उपभोग र उत्पादनको तरिका फेरिनुपर्ने उद्देश्य यसले राखेको छ । यस अन्तर्गत प्राकृतिक स्रोतहरूको सही व्यवस्थापन, विषादी र प्रदूषणको उचित व्यवस्थापन हुनुपर्ने भनिएको छ । उद्योगधन्दा र उपभोक्तालाई फोहोर विसर्जन व्यवस्थापन तथा रिसाइकल गर्न उत्प्रेरित गरिनुपर्ने उद्देश्य राखिएको छ । 

लक्ष्य–१३ जलवायु कार्य

वर्तमान विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याबाट प्रताडित नभएको कुनै मुलुक छैन । आज विकसित भनिएका देशमा चल्ने उद्योगधन्दा र सवारीसाधनका कारण हरितगृह ग्यास उत्सर्जन डरलाग्दो किसिमले वृद्धि भइरहेको छ । सोही कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिले विश्वका सबै देशमा असर परिरहेको छ । 

जलवायु प्रणालीमा दीर्घकालीन असर निम्तिएको छ । यसमा सबै मुलुकले ठोस कदम नचाल्ने हो र बढी कार्बन उत्सर्जन गर्ने विकसित भनिने औद्योगिक मुलुकको कार्बन उत्सर्जनलाई कटौती नगर्ने हो भने विश्वले विकराल अवस्था भोग्नुपर्ने छ । त्यसैले औद्योगिक राष्ट्रहरूद्वारा जारी कार्बन उत्सर्जन कटौतीसहित विपत् जोखिम न्यूनीकरणका उपाय, दिगो प्राकृतिक स्रोत व्यवस्थापन र मानव सुरक्षालाई एकीकृत गर्ने प्रयाससँग मिलेर जानुपर्नेमा यसले जोड दिएको छ । यसका लागि विश्वव्यापी औसत तापक्रम वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि कार्बन उत्सर्जन सन् २०३० सम्म आधाले कटौती गर्नुपर्ने भनिएको छ । 

लक्ष्य–१४ पानीको जीवन

विश्वका तीन अर्बभन्दा बढी मानिस जीविकोपार्जनका लागि समुद्रका साथ समुद्री तटीय जैविक विविधतामा निर्भर छन् । विश्वको सबैभन्दा ठूलो माछा भण्डार हो समुद्र तर माछाको अत्यधिक सिकार र समुद्रमा भइरहेको प्रदूषणका कारण माछाको सङ्ख्या निकै 

घटिरहेको छ । जलवायु परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धिको असर समुद्रमा स्पष्ट रूपमा परेको छ । उत्तरी–दक्षिणी ध्रुवमा रहेको हिउँ पग्लिँदै गएको छ र समुद्री सतह बढ्दै गएको छ । त्यसैले यस लक्ष्यले समुद्र र समुद्री तटीय जैविक विविधतालाई प्रदूषणबाट जोगाउँदै दिगो व्यवस्थापनसहित संरक्षणको लक्ष्य राखेको छ । 

लक्ष्य–१५ भूमिको जीवन

मानव जीविकोपार्जनमा समुद्रझैँ भूमिको पनि उत्तिकै महत्व छ। पृथ्वीमा मानव आहारका निम्ति वनस्पति जीवनले ६० प्रतिशत हिस्सा ओगटेको छ । सम्पूर्ण कृषि कर्म भूमिमा आधारित छ, जहाँबाट मानिसका लागि आवश्यक खाद्यान्न आपूर्ति हुने गर्दछ । पृथ्वीमा जमिनको ३० प्रतिशत हिस्सामा वन छ । लाखौँ प्रजातिको बासस्थान हो वन । 

स्वच्छ हावा र पानीका लागि वन अति आवश्यक छ तर वर्तमान विश्वमा बढ्दो जनसङ्ख्याका कारण वनजङ्गल मासिँदै गएको छ । विश्वमा बर्सेनि एक करोड ३० लाख हेक्टर वन नष्ट हुँदै गएको छ ।

सुक्खाका कारण भूमि मरुभूमिमा परिणत भइरहेको छ। जसको ठूलो मार विश्वको गरिब समुदायमा परेको छ । त्यसैले यस लक्ष्य अन्तर्गत साझा सम्पदाको हिस्सा भएका प्राकृतिक बासस्थान र जैविक विविधताको क्षतिलाई न्यूनीकरण गर्न तथा विश्वव्यापी खाद्य र पानी सुरक्षा, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन, शान्ति र सुरक्षालाई सहयोग पु¥याउन तत्काल कदम चालिनुपर्नेमा जोड दिइएको छ ।

लक्ष्य–१६ शान्ति, न्याय र बलिया संस्था

यस अन्तर्गत शान्ति, स्थायित्व र विधिको शासनमा आधारित प्रभावकारी शासनबिना दिगो विकास असम्भव छ भनिएको छ । सशस्त्र द्वन्द्व, हिंसा असुरक्षाले देशको विकास प्रयासमा नकारात्मक प्रभाव पार्ने, आर्थिक वृद्धिमा असर गर्ने हुँदा सबै प्रकारका हिंसा न्यूनीकरण, द्वन्द्व र असुरक्षा अन्त्यका लागि सरकार र समुदायसँग मिलेर काम गर्ने लक्ष्य यस अन्तर्गत राखिएको छ । 

लक्ष्य–१७ लक्ष्यका लागि साझेदारी

विकासको यात्रामा कोही पनि पछि पर्न नपरोस् भन्ने सुनिश्चित गर्न विश्वव्यापी साझेदारी र सहयोगप्रति दृढ प्रतिबद्धताका साथ मात्र दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने मान्यता यसले राखेको छ । जसका लागि सबैले विद्यमान र अतिरिक्त स्रोतहरू परिचालन गर्नुपर्ने, विकसित देशहरूले आफ्नो आधिकारिक विकास सहायता प्रतिबद्धता पूरा गर्नुपर्ने, सबै लक्ष्य प्राप्त गर्न राष्ट्रिय योजनालाई समर्थन गरेर उत्तर–दक्षिण र दक्षिण–दक्षिण सहयोग अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । 

 
Author

हीराकुमारी भण्डारी