• १५ कात्तिक २०८१, बिहिबार

गौरवशाली नेपाली मन्दिर

blog

भारतमा विहारको हाजीपुर, कोनहाराघाट नजिकै रहेको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्वको ‘नेपाली मन्दिर’ यतिखेर ज्यादै जीर्ण अवस्थामा छ । इतिहास, कला र संस्कृतिमा रुचि राख्ने जो कोहीका लागि उदाहरणीय बनेको यो मन्दिर प्रत्येक नेपालीका लागि विशेष गौरवको विषय हुनु अस्वाभाविक होइन ।

उहिले नेपालकै राज्य

हरिहर क्षेत्रका ८१ वर्षीय ‘नेपाली लालमोहरिया’ जय पण्डाका अनुसार नेपाली छाउनीमा रहेको नेपाली मन्दिरको प्राचीन इतिहास छ । नेपाल तथा ब्रिटिस सरकारबीच सुगौली सन्धि (४ मार्च, सन् १८१६/वि.सं.१८७२ फागुन २३) हुनुपूर्व यहाँ नेपालकै राज्य थियो । नेपाली सेना बस्ने छाउनी भएकाले अहिले पनि यस ठाउँलाई नेपाली छाउनी नै भन्छन् । कुनै बेला छाउनीमा ‘मन्दिर’ रहेको हुनाले ‘नेपाली छाउनी मन्दिर’ पनि कहलायो ।

प्राचीन मन्दिरको वस्तुस्थितिप्रति दुःख प्रकट गर्दै जय पण्डा भन्छन्, “हेर्दाहेर्दै कैयन् मूर्ति हराए, मन्दिर पनि दयनीय अवस्थामा छन्, बडो दुर्दशा छ तर नेपालको क्षेत्र परेन । भारत सरकारले हेर्नुपर्ने हो, हेरिराखेको छैन, निकै दुःख लागेको छ ।” 

‘प्रथम तीर्थ’ हरिहर क्षेत्र

आफ्ना पुर्खाले श्री ३ जङ्गबहादुर राणाबाट खड्ग निसाना पाएको र श्री ५ त्रिभुवनबाट लालमोहर पाएको इतिहास जनाउँदै उनको भनाइ छ,  “हरिहर क्षेत्र ‘प्रथम तीर्थ’ हो । 

यहीँबाट अन्य तीर्थको यात्रा प्रारम्भ हुन्छ । यहाँ पुरातन हरिहर मन्दिर छ । हरि–विष्णु, हर–महादेवको यो संयुक्त मन्दिर हो । विष्णु र महादेव समान परमेश्वर हुन् भन्ने अर्थ यसले दिएको छ । लामो इतिहास बोकेको यस मन्दिरको प्राङ्गण श्री ३ जङ्गबहादुर राणाले बनाएका हुन् भनी मैले हजुरबुवाबाट सुनेको छु ।” 

हरिहर क्षेत्रका प्रथम लालमोहरिया पण्डा रामदयाल हुन् भने त्यसपछि पञ्चानन्द पण्डा भए । बाबुको निधनपछि २०५२ सालमा जय पण्डा भएका थिए । उनीपछि राजेश पण्डा हुने छन् । खासगरी जेठा छोरालाई लालमोहरिया पण्डा बनाउने चलन छ । 

नेपाली धर्मशाला बनाउँदा श्री ३ मोहनशमशेरका पालामा बबर शमशेरको गाडीमा बोकाई नेपालबाट काठ ल्याइएको, श्री ५ त्रिभुवनकी महारानी हरिहर क्षेत्र आउँदा धुमधाम स्वागत भएको जस्ता कैयन् अविस्मरणीय सम्झना छ जय पण्डासँग । 

हिन्दु धर्मशास्त्रमा वर्णित चार विशेष क्षेत्रमध्ये अहिले वराह क्षेत्र तथा मुक्तिनाथ क्षेत्र नेपालमा रहेका छन् भने हरिहर क्षेत्र र कुरु क्षेत्र भारतमा छन् । उतिबेला हरिहर क्षेत्रसहित तीन क्षेत्र नेपालमै रहेको कुराले कसको छाती चौडा नबनाउला !

मिनी खजुरा हो

गङ्गा–गण्डक (नारायणी) सङ्गम नजिकै रहेको प्यागोडा शैलीको नेपाली मन्दिर काष्ठकलाका कारण प्रसिद्ध छ । काठमा उत्कीर्ण कामकलाका अनेक आसनका कारण यस मन्दिरलाई ‘मिनी खजुरा हो’ संज्ञा पनि दिइएको छ । हरिहर मन्दिर दर्शनपश्चात् गङ्गा पार गरी पुगिने यो नेपाली मन्दिर पटनाबाट झन्डै १६ किलोमिटर दुरीमा छ ।

एकताका यस मन्दिरसित एउटा रहस्यमयी कुरो पनि गाँसिएको थियो । रात परेपछि मन्दिरभित्र मन्त्रोच्चारणसहित घन्टध्वनि सुनिने कुरोले आशङ्का र भयको वातावरण पनि थियो । उतिबेला गँजडी हाबी रहेकाले त्यस्तो हल्ला चलाइएको हुन सक्छ । 

नेपाली मन्दिर मूलतः शिव मन्दिर हो । यहाँ अद्भुत शिवलिङ्ग रहेको स्थानीय बताउँछन् । सन् २००८ मा उक्त शिवलिङ्गका साथै अन्य कैयन् उम्दा वस्तु चोरिए । सन् २००९ मा बनारसबाट अर्को मूर्ति ल्याई स्थापना गरिएको हो । मन्दिरले दूरवस्थाको राग गाइरहेकै छ । टुँडाल खुस्किने, ढोका खस्किने र काष्ठकला मक्किई धुलिँदै जाने बिजोगको कथा पनि थामिने छेकछन्द छैन ।

घोषणामै सीमित स्मारक

भारतीय पुरातत्व विभागको दृष्टि यस मन्दिरमाथि पर्दै नपरेको चाहिँ होइन । विहार राज्य सरकारले यसलाई सुरक्षित स्मारक सम्पदा घोषणा पनि गरेको छ । मन्दिर प्रवेशद्वारको माथिल्लो भागमा राखिएको ‘वैधानिक सूचना–पट्ट’ ले यस स्मारकको दुरुपयोग, बिनाअनुमति उत्खनन आदिमा रोक लगाउँदै त्यसो गरिएको पाइएमा दण्ड, सजायको भागिदार हुनुपर्ने चेतावनीसमेत दिएको छ । 

केही वर्षअघि पुरातत्व विभागको एक टोलीले सर्वेक्षण गरी काष्ठकलालाई जोगाउन ‘केमिकल ट्रिटमेन्ट’ (रासायनिक उपचार) को आवश्यकता औँल्याएको समाचार पनि प्रकाशित भएका थिए तर यथार्थको धरातलमा उदासीनताको सिकार बन्न बाध्य गौरवशाली नेपाली मन्दिर यतिखेर अस्तित्व सङ्कटको संवेदनशील घडीमा रहेको छ ।

इतिहासको खोजी

यस मन्दिरको स्थापना कसले, कहिले गरेको होला भन्ने सम्बन्धमा पनि प्रस्ट जानकारी उपलब्ध छैन । भारतीय विभिन्न सञ्चार माध्यम तथा कतिपय लेखोटले यस मन्दिरको स्थापना आजभन्दा ५५२ वर्षपूर्व जनाएको पाइन्छ भने नेपालका राजाको आदेश अनुसार उनका सैन्य कमान्डरले मन्दिर बनाएको उल्लेख पनि छ । कतिपयका अनुसार १८ औँ शताब्दीमा नेपाली सेनाका कमान्डर माथवरसिंह थापाले यस मन्दिरको निर्माण गराएका हुन् । 

‘मातवर’ लेखिएका माथवरसिंह थापा को हुन् ? कहिलेका हुन् ? नेपालका पूर्वप्रधानमन्त्री माथवरसिंह थापा (१८५५–१९०२) लाई जनाइएको हो भने कालक्रमले सही जँच्दैन । त्यही नामका अरू कोही हुन् कि ? वा के हो ? गहन अध्ययन, अनुसन्धानबिना ठम्याउन सकिने कुरै भएन ।

केही इतिहास पल्टाउँदा हाजीपुरको यस नेपाली मन्दिरका बारेमा त कुनै जानकारी प्राप्त हुन सकेन तर नेपाली राज्यसत्ताको विस्तार योभन्दा पनि पर ठूलो तीर्थ मानिने ‘गया’ तथा ‘प्रयाग’ (इलाहाबाद) मा समेत भएको पाइन्छ ।

प्रयागको अभिलेखमा नेपाल 

कुमाउँ, अल्मोडा, गढवाल र काँगडा समेट्ने कर्तृपुर राज्यका गुप्तसम्राट समुद्र गुप्तको समय इस्वीको १४ औँ शताब्दीको पूर्वाद्र्धतिरको प्रयाग प्रशस्ति अभिलेखमा नेपाल अङ्कित रहेको र यसले इस्वीको प्रारम्भिक शताब्दीमै नेपाल एक प्रभावशाली राज्य रहेको देखिन्छ भनी रामकुमार पाँडेले ‘नेपाल परिचय (२०४५), पाँचौँ संस्करण’ मा उल्लेख गर्नुभएको स्मरणीय छ । 

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रद्वारा विसं २०४१ मा प्रकाशित ‘नेपाल परिचय’ को पृष्ठ २ मा भौगोलिक स्थिति (राजनीतिक भूगोल) शीर्षक अन्तर्गत यस प्रकार उल्लेख रहेको पाइन्छ ः ‘प्राचीन नेपालको सम्पूर्ण खण्डको राजनीतिक भूगोल स्पष्ट छैन । इतिहासकारहरूका अनुसार मत भिन्न भिन्न छन् तापनि तत्कालीन नेपाल ठूलो थियो भन्नेबारे अनेकौँ प्रमाण प्रस्तुत गर्न सकिन्छ । १. लिच्छविकालका प्रमाणहरूद्वारा तत्कालीन नेपाल अहिलेको जत्तिकै विशाल भएको बुझिन्छ । इलाहाबादको स्तम्भ–लेखमा उल्लेख भए अनुसार नेपाल भारतको गुप्त साम्राज्यको उत्तरी सिमानासम्म फैलिएको पाइन्छ । पूर्वमा कामरूप (आसाम) देखि पश्चिममा कर्तृपुर (कुमाउँ, गढवाल) सम्म विस्तारित भूमिले प्राचीन नेपालको विशालताको 

बोध गराउँछ ।

सबा लाख साम्राज्यका सम्राट

राजा क्राचल्लपछि कर्णाली प्रदेशमा अशोक चल्ल राजा भएको र उनलाई ‘सपादलक्षशिखरिखसदेशराजाधिराज’ अर्थात् एक लाख २५ हजार पहाडभरि फैलिएको खस देशका राजाका पनि राजा भनिएको उल्लेख इतिहासकार डा. राजाराम सुवेदीले आफ्नो ‘नेपालको तथ्य इतिहास’ (२०६१) मा गरेका छन् । उनका अनुसार बाबु क्राचल्लले पश्चिमतिर कुमाउँ, गढवालसम्म मात्रै राज्य विस्तार गरेकामा अशोक चल्लले ‘सर्वगामिनी वाहिनी’ सेनाको बलले धेरैमाथि विजय हासिल गरी कुमाउँ, गढवाल, टिहरी र लद्दाखसम्म सीमा विस्तार गरेका थिए । पूर्वतर्फ गण्डकी प्रदेश, उत्तरमा पश्चिम तिब्बत र दक्षिणमा गङ्गासम्म सिमाना तोकी बोधगयामा बालेश्वर मन्दिर स्थापना गराएका थिए । उनको कुमाउँका सामन्त पुरुषोत्तम सिंहले गयामा अर्पण गरेको ठूलो त्रिशूलमा उत्कीर्ण अभिलेख अनुसार तिनताक अशोक चल्ल सबा लाख साम्राज्यका सम्राटका नाताले प्रख्यात थिए ।

राजा अशोक चल्लले बोधगयामा बौद्धमूर्ति स्थापना गरेको उल्लेख पनि भेटिन्छ । इतिहासकार सूर्यविक्रम ज्ञवालीले आफ्नो ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ (२०१९), पृष्ठ १९४ मा ‘गयामा शिलालेख राख्ने अशोक चल्लबारे सङ्क्षिप्त चर्चा गर्नुभएको छ । 

यशस्वी यक्ष मल्ल 

राजा यक्ष मल्लको सम्बन्ध पनि गयासित रहेको भेटिन्छ । सूर्यविक्रम ज्ञवालीको ‘नेपाल उपत्यकाको मध्यकालीन इतिहास’ (२०१९) मा उल्लेख भए अनुसार ‘नेसं ५४९–१४२८–२९ मा ज्योति मल्ल तथा संसार देवीका छोरा यक्ष मल्ल पिताको मृत्युपछि सिंहासनारूढ भये । शाके १३५०. १४२८ ई. मा लेखियेको यौटा पुस्तकको (सूची–भाग १–पृष्ठ, २३) ‘राजाधिराज परमेश्वर श्री जक्षमल्लदेवस्य विजयराज्ये लिखितः’ भनी लेखियेको प्रमाणबाट इनी १४२८ मा राजा भै सकेको बुझिन्छ । ..... यक्ष मल्लका सन्तान भादगाउँका राजा जगज्योति मल्लका आज्ञाले शाके १५३६ १६१४–१५ तिर लेखियेको नरपतिजयचर्या नामक यौटा पुस्तकमा यक्ष मल्लका देखी वंशावली लेखियेको छ । तेसमा विजयीका रूपमा इनको वर्णन छ । त्यो वर्णनमा मिथिला जीती आफ्ना पुरुषार्थले इनी मगध तथा गया गयेको तथा पहाडका राजाहरूलाई जिती इनले शत्रुशून्य पारेको, पूर्वमा वङ्ग देश, दक्षिणमा गङ्गा तथा उत्तरमा सात दिनको बाटो पर सम्मको देश इनले आफ्ना अधीन गरेको कुरा लेखियेको छ ।’


‘वीर पुस्तकालयको वृहत् सूचीपत्रम्– ज्योतिषविषयक, पृष्ठ ११७’ स्रोत दर्शाई इतिहासकार ज्ञवालीले उपर्युक्त सम्बन्धी संस्कृत उद्धरण पनि यसरी प्रस्तुत गरेका छन् : 

यो राज्यं मिथिला विजित्य मगधं गत्वा गयां पौरुषाद्

यो नेपालमकण्टकं व्यरचयञ्जित्वा नृपान् पार्वतान् ।।

प्राच्यां वङ्ग देशं तदनु सुरनदीं दक्षिणो दिग्विभागे 

विख्यातः पश्चिमायां प्रविलसदसिता गोरखापालपातः ।।

भूमिं सप्ताहगम्यामपि धनददिशो योऽबधकृत्य भुक्त्वा

रेमे दोर्दण्ड शौण्डः प्रखरतरलसत्कण्डको दण्डपाणिः ।।

‘उपर्युक्त विजयको वर्णन निश्चय नै यौटा धाक हो तर तेसमा केही सत्यको सार छ कि छैन विचार गर्नु उचित’ भनी इतिहासकार ज्ञवालीले प्रश्नचिह्न ठड्याएको पक्ष पनि रहेको छ भने वस्तुतः राजा यक्ष मल्ल बडो दूरदर्शी योग्य शासक थिए । उनको जन्म विसं १४६५ (नेसं ५२८) र निधन विसं १५३८ मा भएको जनाउँदै इतिहासकार ढुण्डिराज भण्डारीले आफ्नो ‘नेपालको आलोचनात्मक इतिहास (विसं २०२७) मा राजा यक्ष मल्लले उपत्यकाका सामन्त रजौटालाई आफ्नो वशमा गरी नेपाल उपत्यकाभित्र एक सुदृढ राज्यको जग बसाली उपत्यका बाहिर पनि कदम बढाएको उल्लेख गरेका छन् । 

राजा यक्ष मल्लको राज्य विस्तारमा पूर्वमा मोरङ, पश्चिममा गोर्खा, उत्तरमा तिब्बतको केही भाग (सिकारजोङ) र दक्षिणमा तिरहुत र गयासम्म फैलिएको कर्कपेट्रिकद्वारा वर्णन गरिएको उल्लेख पनि उनले गरेको स्मरणीय छ । 

महेन्द्र मल्लका दुई छोरा सदाशिव मल्ल र शिव सिंह थिए । पिताको मृत्युपछि राजा बनेका सदाशिवको पालाको एक प्रसङ्ग पनि गयासित सम्बद्ध रहेकाले यहाँ समेटिएको छ । इतिहासकार ज्ञवालीको ‘नेपाल उपत्यकाको इतिहास (२०१९) मा उल्लेख भए अनुसार पाटनको महाबौद्ध मन्दिरको निर्माण बोधगयाको प्रसिद्ध मन्दिरको ढाँचाको छ । नेपालमा यस्तो मन्दिर यही एक छ । जीवराज नामक बौद्ध पण्डितले यो मन्दिर बनाएका हुन् । यिनका पिता अभयराजको तीन विवाह भएको थियो । यिनका दुई पत्नी तथा छोरा रहे पनि यिनले चौथो विवाह गर्दा छोराहरू क्षुब्ध बने । त्यसपछि अभयराज कान्छी श्रीमती लिई गयामा गई बसे । छोरो जन्मियो, नाम राखियो–बौद्धजु । अनि अभयराज पुनः नेपाल फर्किई पिता मदनले सम्हालेको टक्सारको डिट्ठा नायक भई जागिर खान थाले । 

यस प्रसङ्गबाट पनि गयामा नेपाल र नेपालीको उहिलेदेखि विस्तार/प्रभाव रहेको सजिलै आकलन गर्न सकिन्छ ।

बेलैमा चेत जागोस् !

नेपाली मूल्य, मान्यता, सभ्यता, शिल्प र कलाको सौम्य एवं उत्कृष्ट प्रस्तुतिका रूपमा रहेको हाजीपुरको नेपाली मन्दिर द्विदेशीय परम्परागत सम्बन्धको सुन्दर प्रतीक हो । नेपाल–भारतबीच कायम शताब्दीऔँअघिदेखिको सम्बन्धको अविरल गाथा–गान गरिरहेको मन्दिरको दयनीय अवस्था कष्टकर छ । 

नेपालको गौरव र भारतको सम्पदाका रूपमा रहेको हाजीपुरको नेपाली मन्दिरप्रति यथाशीघ्र ध्यानाकर्षण हुन नसके यो केवल इतिहासको विषय बन्ने छ । तसर्थ यतातिर नेपालले व्यक्तिगत वा कूटनीतिक तबरबाट पहल गर्न मिल्छ कि ! अथवा त्यहाँ कुशल कालिगडको अभावले काम हुन नसकेको हो भने नेपालका तर्फबाट यथोचित सहयोग पु¥याउन सकिन्छ कि ! यस मन्दिरको इतिहासकै बारेमा पनि बेलैमा गहिरिन नसके हातलागे शून्य हुनेमा शङ्का छैन । अतः सरोकारी सबै पक्ष यस दिशामा घोत्लिनु अत्यन्त जरुरी भएको छ । 

Author

निर्मलकुमार आचार्य