• ३ मंसिर २०८२, बुधबार

बालाचतुर्दशी देवघाट र व्यास-पराशर धाममा भक्तजनको घुइँचो

blog

दमौलीमा मादी र सेतीको सङ्गम स्थलमा स्नान तथा पुजा गर्दै भक्तजनहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ३ गते । हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा मनाइने बालाचतुर्दशी-शतबीज रोपण पर्वको अवसरमा आज बुधबार बिहानैदेखि देवघाट धाम, दमौलीस्थित सेती–मादी सङ्गम, व्यास–पराशर क्षेत्र तथा शिवालय मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।

विशेषगरी उत्तरबाहिनी रहेको दमौलीको सङ्गम क्षेत्र, त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको देवघाट धामलाई अत्यन्त पवित्र स्थल मानिएकाले भीड झनै बाक्लिएको हो । दमौली र देवघाटमा स्नान, पिण्डदान, दीपदान तथा ‘एक मुठी अन्न’ दान गर्ने भक्तजनहरू बिहानैदेखि लाइनमा उभिएका छन् । वृद्ध–वृद्धा, नातागोता तथा परिवारसहित आएका तीर्थयात्रीहरूले व्रतपूजा, स्नान र दीपदान गर्दै धार्मिक माहोललाई झनै गहिरो बनाएका छन् । पण्डित दुर्गाभक्त अधिकारीका अनुसार यो दिन गरिने स्नान, दान र दीपदानले पुराना जन्मका पापकर्म नाश हुन्छन्। सङ्गम क्षेत्रमा दीपदान र अन्नदान अत्यन्तै फलदायी मानिन्छ ।

व्यास अन्नक्षेत्रका संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले देवघाट र दमौली क्षेत्रलाई धार्मिक दृष्टिले अत्यन्त शक्तिशाली स्थल मानिँदै आएको बताउँदै भन्नुभयो, “उत्तरवाहिनी भएकोले यहाँ गरिने स्नान, श्राद्ध र दान कल्याणकारी हुन्छ ।” बालाचतुर्दशीमा ‘शतबीज छर्ने’ विशेष परम्परा छ । धान, गहुँ, जौ, तिल, चना, मकै लगायतका विभिन्न बीउ र स्थानीय फलफूल मिसाएर बनाइने शतबीज छर्न हजारौं भक्तजन देवघाटमा आएका छन् । भक्तजनहरू अघिल्लो रात जाग्राम बसेर दीप बाल्ने, भजन–कीर्तन गर्ने, र भोलिपल्ट बिहानै स्नान गरी शतबीज छर्ने प्रचलन रहँदै आएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीका अनुसार गत वर्ष जस्तै यस वर्ष पनि ठूलो भीडको सम्भावना भएकाले सुरक्षा, प्रकाश र बसोबासका व्यवस्था व्यापक रूपमा गरिएको छ। “चितवनतर्फ चार स्थानमा हाइमास्ट बत्ती, तनहुँतर्फ सडक बत्ती, बेनी सङ्गममा पाँच अतिरिक्त बत्ती जडान गरेका छौँ,” उहाँले भन्नुभयो । 

स्नानघाटमा दुर्घटना रोक्न दुईवटा र्‍याफ्टिङ बोट तयारी अवस्थामा राखिएको छ । भरतपुर–१ देवघाटसँग जोड्ने ४४ वर्ष पुरानो झोलुङ्गे पुल जीर्ण भएकाले मङ्सिर २ र ३ गते दुईपाङ्ग्रे सवारी साधन पूर्णरूपमा रोक लगाइएको छ । विकल्पका रूपमा तनहुँ–ठिमुरा पक्की पुल प्रयोग गर्न अनुरोध गरिएको छ । 

धार्मिक विश्वास अनुसार जाग्राम बसेर बत्ती बलाएपछि चतुर्दशी बिहान नदीमा दीप प्रवाहित गरी शतबीज छर्नाले आध्यात्मिक, आधिभौतिक र आधिदैविक पाप नाश हुने मान्यता छ ।