• १० मंसिर २०८१, सोमबार

२८ वर्ष गुप्तवास

blog

द्वितीय विश्वयुद्धमा लडेका एक जापानी सिपाहीले २८ वर्ष गुमनामीको जीवन व्यतीत गरे । उनी सबैको सम्झनाबाट समेत विलिन भइसकेका थिए तर एक दिन आफूले तयार पारेको विचित्रको गुप्त संसारबाट उनी यस संसारमा देखिए, पत्याउनै गाह्रो भयो ।

कुरा हो ५२ वर्ष पहिलेको । प्रशान्त महासागरमा अवस्थित गुआम टापुमा जनवरीको एक दिन सिकारको खोजीमा भौँतारिरहेका दुई जना सिकारीले दुर्गम जङ्गलको खोलामा हातले बनाइएको झिङ्गेमाछा मार्न जाल लगाउँदै गरेका जङ्गली जस्ता एक मानिस देखे । ती व्यक्तिले झुत्रे लुगा लगाएका थिए, चाउरिएका र दुर्बल देखिन्थे ।

युद्ध अवधिमा गुआममा जापानी वर्चस्व रहँदा बर्बरता देखेभोगेका ती दुवै सिकारीले तुरुन्तै कुरा बुझिहाले । जङ्गली नजरका ती मानिस त्यहाँबाट भाग्नुपहिले नै उनीहरूले तिनलाई समाते, पछाडि हात बाँधे । त्यहाँबाट बन्दुक सोझ्याएर ती व्यक्तिलाई टापुका अधिकारीसमक्ष लिएर आए । उनले सुनाएको कथामा विश्वास गर्न कठिन थियो तर सबै सत्य ।

जापानको शाही सेनाका सिपाही सोची योकोईलाई सिकारीले समातेका थिए । २० हजार जापानी सैनिकलाई मारेर सन् १९४४ मा अमेरिकाले गुआमलाई पुनः आफ्नो कब्जामा लिने क्रममा बाँच्ने एक मात्र सिपाही हुन् योकोई । उनी गुआमको दुर्गम इलाकामा लगभग २८ वर्ष भौँतारिरहे । सुरुमा सङ्घर्ष गरिरहेको एक दलको सदस्यका रूपमा र पछि आफ्नै बलबुतामा उनले जीवन गुजारे । योकोई दिनभर सित्ताएको, धुवाँ भरिएको सुरुङमा लुक्थे । त्यो सुरुङ पनि गोलाबारुद प्रहारले बनेको थियो । रात भयो कि उनी भोजनका लागि नरिवल, भ्यागुता खोज्दथे तथा कहिलेकाहीँ बथानबाट अलग्गिएका गाई उनको सिकार हुन्थे ।

सिकारीले फेला पार्दा उनी ५६ वर्षको भइसकेका थिए र उनको तौल मात्र ४० किलो थियो । सन् १९७२ मा योकोई फेला परेपछि जापानीहरू तीन छक्क परे । उनीहरूले त शाही सेनाका अन्तिम सिपाही मरिसकेको ठानेका थिए । जब योकोई टोकियो फर्किए, ध्वजापताका बोकेका पाँच हजारभन्दा बढी महिला, पुरुष तथा बालबालिका बादल लागेको चिसो मौसममा स्वागतका लागि सडक छेउमा उपस्थित भए । त्यति मात्र होइन विमानस्थलबाट उनले माइक्रोफोन समातेर आफ्ना कुरा राख्दा सारा संसारले टेलिभिजन र रेडियोमा प्रत्यक्ष प्रसारण हे¥यो र सुन्यो । योकोई आफू जीवितै स्वदेश फर्किएको आफ्ना देशका नागरिकसमक्ष लाज लागेको बताए ।

गुआममा गठबन्धन सेनाको ठूलो जत्थाले आक्रमण गर्दा प्रतिरक्षाको प्रयासमा करिब ९० प्रतिशत जापानी सैनिक मारिएका थिए । योकोई जसोतसो बाँचे । गुआममा जापानीको शत्रु गठबन्धन सेना मात्र थिएन, स्थानीय बासिन्दा पनि दुस्मन थिए । हारेर भागाभाग भएका जापानी सैनिकलाई त्यहाँ खोजीखोजी मारिन थालियो । आफ्नो अन्तिम साथी मारिएपछि पनि योकोईले जीवनका लागि सङ्घर्ष जारी नै राखे र दुर्गमको जङ्गली इलाकामा गुपचुप आफ्नो जीवन अगाडि बढाए ।

योकोईको जन्म सन् १९१५ मा औद्योगिक सहर नागोयोको ग्रामीण क्षेत्रमा भयो । उनको परिवार निकै गरिब थियो । योकोईको पालनपोषण त्यस समयमा भयो जुन समयमा जापान ठूलो मन्दीमा थियो । योकोई मात्र तीन वर्ष हुँदा उनकी आमाले आफ्नो जड्याँहा पतिलाई छाडिन् र सानो छोरा हुर्काउन सङ्घर्ष गर्न थालिन् । १५ वर्षको हुन्जेलसम्म योकोईको जीवन कहिले कुनै आफन्त त कहिले कुनै आफन्तकहाँ बितेको थियो । त्यसपछि नागोयाबाट दक्षिणपूर्वमा ६४ किलोमिटर पर एक सूचीकारकहाँ उनले काम सिक्ने अवसर प्राप्त गरे । त्यहाँ काम धेरै गर्नु पथ्र्यो र खाना थोरै । त्यसमा उनको मन लागेन ।

सन् १९३५ मा योकोईलाई पहिलो पटक शारीरिक जाँचका लागि बोलाइयो, उनी आत्तिए । मानव सहनशीलताको नमुना बन्नुपर्नेमा योकोईको सुरुवात निकै कमजोर भए पनि उनलाई सेनाले भर्ना ग¥यो ।

कपडा कसरी काट्ने, सिउने र पाइन्ट तयार पार्ने जस्ता कला सिकेका योकोईले सेनामा सक्रिय रहेर बन्दुक चलाउँदा आफूलाई अब्बल देखाउन नसके पनि कन्दरामा गुमनाम जीवन बिताउँदा बाँच्नका लागि सिलाइ कटाइको ज्ञान पूरापुर उपयोग गरे । आर्दतायुक्त जङ्गलमा भाग्दाभाग्दै सैन्य पोसाक च्यातिएर धुजा धुजा भएपछि रुखका बोक्राबाट रेसा निकाल्ने र त्यसबाट धागो बनाएर योकोईले आफ्ना लागि काम चलाउ लुगा बनाए । आफूलाई मिल्ने कमिज, गोजी भएको पाइन्ट, बेल्टसमेत उनले तयार पारेका थिए । ती लुगाले योकोईलाई उष्णकटिबन्धीय घाम र लामखुट्टेबाट सुरक्षा दियो । योकोईले महिनौँ लगाएर एक जोडी लुगा तयार पार्दथे ।

योकोईले बाँच्नका लागि गरेको सङ्घर्ष यतिमै सकिँदैन । उनले आदिम औजारबाट सुरुङ खन्न र तिनलाई बाढीपहिरोबाट सुरक्षित राख्न मात्र सिकेनन् सुरुङभित्र खाना पकाउँदा निस्कने धुवाँको असर कम गर्न नरिवलको बोक्रामा भुस भरेर सास लिने फिल्टरसमेत बनाएका थिए । आफूलाई अत्यावश्यक प्रोटिन प्राप्त गर्न भ्यागुताको विष निकालेर खानसमेत उनले सिके । पछि त उनले कव्रmोच नियन्त्रणका लागि तथा एक्लोपना हटाउन विशेष प्रजातिको त्यस ठूलो भ्यागुतालाई आफ्नै सुरुङभित्र पाल्न थाले ।

योकोईले नदीका झिङ्गेमाछा, इल मार्न तथा मुसा समात्न जाल बनाए । सुरुङको प्रवेशद्वार लुकाउन बाँसको एउटा टाट बनाए, जुन हत्तपत्त देख्न सकिँदैनथ्यो । भूमिगत रहँदा बाँसलाई आपसमा रगडेर आगो बाल्ने योकोईको कठिन प्रयास तब मात्र सफल हुन्थ्यो जब बाँकी रहेको एक मात्र गोलीबाट थोरै बारुद उनले ठिक समयमा त्यसमा हाल्दैनथे । सैन्यकालमा एक कमजोर सिपाही योकोई जीवन बचाउने सङ्घर्षमा अब्बल ठहरिए ।

जब सन् १९७२ मा योकोई जापान फर्किए उनले बाँच्नका लागि तयार पारेका औजार टोकियो सहरको मध्यमा रहेको ‘डिपार्टमेन्ट स्टोर’ मा राखिँदा तिनलाई हेर्न हजारौँ मानिसको भिड लागेको थियो ।

योकोई यस्तो जापानमा हुर्किएका थिए जो त्यतिबेला एक शक्ति राष्ट्र थियो । सन् १९०५ मा रुसमाथि जित हासिल गरेर पश्चिमा शक्तिलाई हराउने तथा प्रथम विश्वयुद्धमा विजेता गठबन्धनको सदस्य भएर ‘भर्साय शान्ति वार्ता’ मा सहभागी हुने एक मात्र एसियाली राष्ट्र जापान आफूसँग गरिएको व्यवहारले सन्तुष्ट थिएन । युद्ध जिताउन आफ्नो भूमिका पनि निर्णायक भएको दाबी गरिरहेका जापानी नेताहरू आफूलाई अनादर गरिएको मानिरहेका थिए ।

अमेरिका र बेलायतले आफ्नो जलसेनामाथि लादिएको सीमा तथा अमेरिकामा जापानी आप्रवासीमाथि भइरहेको जातीय भेदभाव जापानी नेतालाई मन परेको थिएन । अन्ततः अमेरिकामा ‘यलो पर्ल’ अर्थात् श्रमिक नस्लवादका कारण सन् १९२४ मा जापानी आप्रवासीमाथि प्रतिबन्ध लगाइयो । सन् १९३० को दशकमा सुरु भएको जापानी सेनामा कट्टरवाद विचारधारा राख्ने तìवसँग सम्बन्धित सत्ता कब्जाको प्रयास तथा शृङ्खलाबद्ध हत्याका घटनाले सन् १९२० को दशकमा त्यहाँ हुर्कन सुरु भएको प्रजातान्त्रिक अभ्यासलाई ओझेमा पारेको थियो । त्यतिबेला जापानी सम्राटलाई देवी शक्तिका रूपमा मान्ने गरिन्थ्यो । सन् १९३१ मा जापानी सेनामा दक्षिणपन्थी विचारधारा राख्ने अधिकारीहरूले मन्चुरियामा जापानी स्वामित्वमा रहेको रेल लाइनमा आक्रमण गरे, जुन कार्यको दोष उनीहरूले चिनियाँमाथि थोपरिदिए । त्यस घटनाले सम्पूर्ण क्षेत्रमा कब्जा गर्ने एक बहाना जापानलाई मिल्यो ।

सन् १९३८ सम्म चीनमा जापानी सेनाको क्षति बढ्न थालेपछि शाही सेनालाई सैनिक भर्ती गर्न तोकिएको मापदण्ड खुकुलो पार्नुपर्ने भयो, जसको लाभ मिल्यो योकोईलाई । कमजोर शारीरिक बनोटका योकोईलाई सेनाले पछिल्लो पङ्तिमा राखेर रसदपानी बन्दोबस्तीको जिम्मेवारीमा खटायो । सुरुमा योकोईलाई चीन पठाइयो र पछि गुआम । जापानको प्रशान्त क्षेत्रमा कमजोर पर्दै गएको साम्राज्य जोगाउने अन्तिम कोसिसको एक हिस्सा थिए योकोई ।

सन् १९४४ मा जब गुआमको तटीय क्षेत्रमा अमेरिकी सैन्य शक्तिले जापानको कम प्रशिक्षित टुकुडीलाई नष्ट पा¥यो, योकोई बाँचेका थोरै साथीसँग भागेर टापुको दक्षिणी क्षेत्रमा अवस्थित पहाडी जङ्गली इलाकामा पुगे । पर्ल हार्बरमा आक्रमण गरेको केही दिनमै जापानले गुआममा कब्जा जमाएको थियो । सन् १८१२ को युद्धपछि यसरी पहिलो पटक अमेरिकी भूमि शत्रुको नियन्त्रणमा गयो । अमेरिकाबाट गुआम खोसेपछि जापानी सेनाले त्यसलाई यातना शिविरका रूपमा सञ्चालन गर्न थाल्यो । दुई सिकारी जसरी गुआमका स्थानीय बासिन्दाले जीवन सङ्घर्षमा रहेका योकोई जस्ता मानिसलाई युद्धपछि पनि फेला पार्दा प्रायः मारिदिन्थे ।

सतहमा देखिनुको अर्थ ज्यान गुमाउनु भएपछि योकोईका साथीहरू सन् १९५० को दशकदेखि जमिनमुनि लुक्न थालेका थिए । सन् १९६४ मा योकोईका अन्तिम दुई साथी, जोसँग उनको मनमुटाव भएको थियो, रहस्यमय मृत्युको सिकार भए । गुआमका चिकित्सकले पछि जाँचपड्ताल गर्दा ती दुवै जनाको मृत्यु विष सेवनले भएको पाइयो ।

त्यसपछिका आठ वर्ष योकोई एक्लै बसे । उनी एक्लै माछा मार्थे, भ्यागुता समात्थे तथा आकाशमा उड्दै गरेका अचम्मका जेट विमान हेर्दथे । विमानबाट उनलाई कुनै सहयोग पुगेन तर एउटा विमानचाहिँ जापानको भएको उनले थाहा पाएका थिए । जङ्गलमा लुकेको सुरुको वर्षमा उनले लाउडस्पिकरबाट   जापानविरुद्धको युद्ध सकिएको घोषणा भइरहेको समेत सुने तर बाहिर निस्कने हिम्मत गरेनन् । जापानले चाहिँ उनको मृत्यु भइसकेको ठानेको थियो ।

गुआममा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सन् १९४४ जुलाई २१ मा आक्रमण गर्दा अनुमानित लगभग २० हजार जापानी सैनिक त्यहाँ थिए । अमेरिकी सेनाले पछि गणना गरी १८ हजार ३८२ जापानी मारिएको बतायो । धेरैजसोको मृत्यु आत्मघाती ‘बन्जाई’ ले भएको थियो, जसको कुनै व्यावहारिक उद्देश्य थिएन । करिब १६ सय पक्राउ परेका थिए भने लगभग एक सय ५० जना जङ्गलमा भागे । ती सबैमध्ये अन्तिममा जीवित हुने योकोई मात्र भए ।

योकोई जब जीवित रहेको थाहा भयो, उनी जब सार्वजनिक भए अमेरिकी र जापानी सञ्चार माध्यममा उनको सङ्घर्षका गाथा छाउन थाल्यो । योकोईले टेलिभिजन हेरेका थिएनन्, उनलाई चन्द्रमामा मान्छे पुगेको थाहा थिएन र परमाणु बमका बारेमा समेत केही थाहा थिएन । गुआम मेमोरियल हस्पिटलमा रहँदा खाजाका लागि कागजका साना पुरियामा दिइएको के हो उनले थाहा पाएनन्– ती नुन र मरिच थिए । आफ्नो पहिलो पत्रकार सम्मेलनमा योकोईले फ्रेङ्कलिन रुजबेल्ट अभैmसम्म अमेरिकाको राष्ट्रपति छन् ?, भनी प्रश्न गर्दा सञ्चारकर्मीमाझ हाँसो उठ्यो । जबकि लगभग २६ वर्षपहिले नै रुजबेल्टको निधन भइसकेको थियो ।

योकोईको स्वास्थ्य अवस्था हेर्दा उनी अझै पनि दुब्ला नै थिए, हल्का सुकेनास रोग लागेको देखिन्थ्यो । सुरुङमा लामो समय बसेका कारण उनको मेरुदण्डमा समस्या आइसकेको थियो । लामो समय न्यून क्यालोरी खाएका कारणले उनीमा यौन चाहना लगभग समाप्त भइसकेको तथा करिब २५ वर्षदेखि उनले नुनको स्वाद लिएका थिएनन् ।

रगतमा प्रोटिनको मात्रा न्यून भए पनि उनी कुपोषित थिएनन् । जीवन सङ्घर्षको आवश्यकताले गर्दा आहाराको खोजी र आगोको जोहोले उनको निरन्तर शारीरिक अभ्यास हुने गथ्र्यो । योकोईले सावधानीपूर्वक पानी उमालेर पिउने गर्थे तथा राति माछा मार्न खोलामा गएका बेला नै नुहाउँथे । यी सबै कारणले उनको मुटु स्वस्थ थियो र शरीरमा परजीवीको बास थिएन ।

सामान्य जीवनमा आएपछि योकोईले एक पटक फेरि सबैलाई छक्क पारे । चाउरी परेका योकोईले ५७ वर्षको उमेरमा बिहे गरे । योकोईको परिवारले उनको बिहा गर्ने निधो ग¥यो । सलाई बनाउने एक व्यक्तिलाई योकोईको जीवनसाथी खोज्ने जिम्मा दिइयो र अन्ततः क्योटोकी ४४ वर्षीय मिहोको हतासिनसँग उनको बिहा हुने भयो । सन् १९७२ नोभेम्बरमा योकोईले हतासिनसँग बिहा गरे र गुआम गएर हनिमुन मनाए, जुन कार्य कुनै बेला त्यहाँ उनका लागि असम्भव नै थियो । २५ वर्ष वैवाहिक जीवन बिताएपछि सन् १९९७ मा योकोईको हृदयाघातबाट निधन भयो । 

–उमेश ओझाद्वारा अनुवादित र सम्पादित ।