• १० फागुन २०८०, बिहिबार

शिक्षा लिनुपर्ने उच्चशिक्षा

blog

नेपालमा शैक्षिक संरचना विस्तारको क्रम चलिरहेको छ । सिलेट, गुन्द्री बोकेर कौमुदीदेखि इङ्लिससमेतको पढाइ गरेको नेपाली पुस्ताले कृत्रिम बौद्धिकताको प्रतिस्पर्धामा लागेको विश्व समाजका चमत्कार बेहोरिरहेको छ । तक्षशीलाको जलाधार भूमिमा आधुनिक उच्च शिक्षा दिलाउने झन्डै दुई दर्जन विश्वविद्यालय/प्रतिष्ठान स्थापना भइसकेका छन् तर यी विश्वविद्यालयका प्रध्यापकका विद्यार्थीले जिज्यूगुरु वाल्मीकिले दिएको पाठको सिङ र पुच्छर कता छ भन्ने भेउ पाउन नसकेर बरालिनु परेको छ । आफ्नो माटो, उत्पादन र आफैँप्रति विश्वास र भरोसा जगाउन नसकेका आफ्ना शैक्षिक प्रतिष्ठानप्रति पिठ्युँ फर्काएर विदेशतिर हामफाल्ने युवा पुस्ता दिनदिनै बढ्दो छ । सन्तानलाई राम्रो शिक्षाका लागि सहर बजारतिर घुस्दा गाउँका प्राथमिक विद्यालय बन्द हुँदै छन्, सहरका मान्छेले विदेश हानिन चाहँदा विश्वविद्यालय÷उच्च शिक्षा प्रतिष्ठानहरूले पनि विद्यार्थी गुमाइरहेका छन् । व्यक्तिगत जीवन, समुदाय, मुलुकका लागि समर्पित गर्ने व्यक्तित्व विकास गर्ने उद्देश्यभन्दा व्यापारिक लाभका लागि शैक्षिक अनुष्ठान गर्ने ध्याउन्न मात्र हुँदा उच्च शैक्षिक प्रतिष्ठान सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा देखिएका छन् । आफैँ उद्यमी चेत हुन नसकेर थला पर्न थालेको नेपालको ‘उच्च शिक्षा चुनौतीको सङ्घारमा छ’ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथार्थ भन्नुभयो । मननयोग्य छ ।

प्रधानमन्त्री नेपालका विश्वविद्यालयका कुलपति हुनुहुन्छ । कुलपतिले आफू मातहतको उच्च शिक्षा चुनौतीको सँघारमा पुगेको बताउनुले मुलुकको समग्र शिक्षा प्रणालीमै आमूल सुधारको आवश्यकता देखाएको छ । नेपालमा आउने विदेशी, नेपालमा भित्रिने विदेशी पैसाभन्दा बढी शिक्षाका लागि नेपालबाट जाने जन र धन बढी हुन थालेको छ । यसको कारण नै शिक्षा हो । आधुनिकताको गति कस्तो छ, नव पुस्ताका लागि कस्तो शिक्षा चाहिन्छ ? हिजो गणित र फलित ज्योतिष विधाले जीव र जगत्को भविष्य आकलन गर्न सक्षम पुस्ताका सन्तान प्राध्यापक डाक्टर (प्राडा.) हरूले एक दुई दशकका लागि चाहिने जनशक्तिको आकलनसमेत गर्न नसकेको जगजाहेर छ । तिनै प्राडा. का उत्पादन छन् नीतिनिर्माता । जस्ता गुरु तस्तै चेला ! अझ विश्मयकारी अवस्था छ – गुरु प्राध्यापक स्वाभिमानी नवप्रवर्तन र जीवन आधार सिर्जना गर्न नलागी चेलासँग जागिर/पद, वर थाप्न जम्लाहात गर्छन् । अनि महभिरको चुच्चोमा नपुगोस् त उच्च शिक्षा ? 

काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको विश्वविद्यालयका उपकुलपतिहरूको राष्ट्रिय सम्मेलनमा कुलपति एवं प्रधानमन्त्री प्रचण्डले नेपालको उच्च शैक्षिक गुणस्तरलाई औँल्याएर दिनुभएको चुनौती भाषण वा निर्देशनभन्दा औषधी चक्कीको रूपमा लिनु पर्छ । राष्ट्र निर्माणका लागि राष्ट्रिय मानव पुुँजीको विकास, असल र सिपयुक्त नागरिक निर्माण, स्वरोजगारी विकास, प्रतिभा प्रस्फुरण, प्रतिस्पर्धा र ज्ञान निर्माणको फराकिलो वातावरण चाहिन्छ । यसका लागि सुशासन, सुसंस्कृति विस्तार र सिप विकासको निरन्तरता चाहिन्छ । माटोमा हुर्केको परम्परागत ज्ञान र सिपको विकासमा वास्ता नगरी पूर्णतः अन्धानुकरण गर्न खोज्दा कुनै पनि मुलुकको राजनीति, अर्थनीति सफल भएकै छैन । मुलुक सबल बनाउन पहिलो आधार शिक्षा हो जसले मौलिक सभ्यता संस्कृति जगेर्ना गर्दै सुखद जीवनका लागि आविष्कार/नप्रवर्तनकारी जनशक्ति उत्पादन गरोस्, गर्नु पर्छ । 

आधारभूत शिक्षाको उद्देश्य सामान्य जीवनका लागि चाहिने ज्ञान हो । उच्च शिक्षाले विषय घोकाएर मात्र पुग्दैन । थोरै सिकेर आफैँ जान्ने मानवीय क्षमताको विस्तारले आर्थिक विकास र सामाजिक रूपान्तरणमा फड्को मार्न सकिन्छ । ध्वंशको होइन निर्माण, खपत होइन उत्पादन र निराशा होइन आशाको ‘स्कुलिङ’ चाहिन्छ । प्राथमिकदेखि उच्च शिक्षालयसम्मका पाठ्यक्रममा पानीघट्टदेखि अन्तरिक्ष यान र नवग्रहमा मानववस्ती संरचना निर्माणको चेतधारा प्रवाहित गर्नु पर्छ । अरूले कृत्रिम बौद्धिकता विकास गरिसके हामी हाम्रा कुलपतिले ॐ रक्षा गर्न सक्नुहोला कि नाइँ भन्ने चिन्तामा छौँ ! 

हो, आन्तरिक रूपमा नागरिक जीवनका लागि चाहिने ज्ञान, सिप र स्वभाव अनि बाह्य रूपमा चाहिने प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न सक्षम हुनु पर्छ विश्विविद्यालय । उच्च तहको बेरोजगारी, बढ्दो शासकीय बेथिति, राजनीतिक संस्कारहीनता, खस्कँदो सामाजिक सदाचार र निराश बन्दै राष्ट्रिय भावनाको कारण नै यहाँको शिक्षा नीति र प्रणाली हो । कुनै एक सिप जानेर मात्र पनि रोजगारी नपाउने अवस्था आइसकेको अवस्थामा बहुसिप वा एक विषयमा दक्ष जनशक्ति बनाउने राज्य क्षमता अबको आवश्यकता छ । विश्वविद्यालयले समयानुकूल प्रतिस्पर्धी शिक्षाको पाठ्यक्रम बनाएर समयबद्ध शैक्षिक कार्यक्रम चलाउनु आवश्यक छ ।