• २८ असार २०८२, शनिबार

त्रिविको साख जोगाउने चुनौती

blog

जल तथा मौसम केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त हुनुभएपछि बजारमा चर्चा चलेको छ, ‘देश विदेशका मौसमबारे अध्ययन तथा अनुसन्धानमा क्रियाशील व्यक्तिलाई समग्र विश्वविद्यालयको मौसम सुधार्ने जिम्मेवारी आएको छ ।’ हुन पनि अहिलेको मौसम र त्रिविको अवस्था मिल्दोजुल्दो नै छ । बर्सातको समय भएका कारण अहिले मुलुकको कुन भूभागमा कतिखेर पानी पर्छ र घाम लाग्छ भन्ने ठेगान छैन, त्यसै गरी त्रिविमा पनि पछिल्लो समय कुन सङ्गठनले कुन निकायमा कतिखेर ताला लगाउँछ पत्तै हुँदैन । फरक यत्ति हो, मुलुकको मौसम कसैले चाहेर पनि सुधार्न सक्दैन, यो आफ्नै लयमा चलिरहन्छ, चाहना राख्ने हो भने विश्वविद्यालयको मौमसमा पक्कै सुधार ल्याउन सकिन्छ । 

तत्कालीन उपकुलपतिले राजीनामा दिएको करिब साढे तीन महिनापछि त्रिविले नयाँ उपकुलपति पाएको छ । चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति प्राडा केशरजङ्ग बरालले एक वर्ष मात्रै काम गरेर गत चैत १५ गते राजीनामा दिनुभएको थियो । स्वास्थ्य समस्याका कारण राजीनामा दिनु परेको बताइए पनि त्रिविभित्र रहेको तमाम समस्या र समस्या समाधानका क्रममा बेहोर्नु परेको हैरानीलाई बरालको राजीनामाको मुख्य कारण रहेको बताइएको थियो । बरालको राजीनामाको सन्देश एउटै हो, त्रिवि चुनौतीको चाङमा छ । यो भीमकाय संस्थालाई चानचुन प्रयासले मात्रै लयमा फर्काउन कठिन छ ।

तीन दशकदेखि त्रिविको सेवामा क्रियाशील अर्याललाई विश्वविद्यालयका यी तमाम समस्यासँग जुधेर नयाँ त्रिवि बनाउने जिम्मेवारी आइपरेको छ । आफ्नो विषयमा स्वर्ण पदक प्राप्त गरेको र देशविदेशका शैक्षिक संस्थाबाट अनुभव बटुलेका कारण अर्याललाई त्रिवि नेतृत्वमा पुगेर समग्र विश्वविद्यालयको शिर उच्च राख्ने गरी काम गर्छु भन्ने लागेकै होला । विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाको उच्च कार्यकारी जिम्मेवारीमा पुगेका व्यक्तिमा यस्तो आँट हुनु स्वाभाविकै हो । विश्वविद्यालयको गिर्दो साख जोगाउन तयार हुने व्यक्तिलाई होस्टेमा हैँसे गर्नु यससँग प्रत्यक्ष–परोक्ष सरोकार राख्ने सबैको साझा दायित्य हो । नवनियुक्त उपकुलपति अर्यालले असल नियतका साथ सुधारको नेतृत्व लिन सक्नु पर्छ ।  

मुलुकमा दर्जनभन्दा बढी विश्वविद्यालय सञ्चालनमा छन् । अहिले पनि उच्च शिक्षामा भर्ना हुने ८० प्रतिशतभन्दा धेरै विद्यार्थीको भार त्रिविमै छ । विडम्बना नै मान्नु पर्छ, यति गहन जिम्मेवारी बोकेको संस्थाको कुनै निकाय वा संरचना छैन, जहाँ समस्या नभएको होस् । पछिल्लो समय त्रिवि आर्थिक रूपमा कमजोर हुँदै गएको छ । भताभुङ्ग भएको शैक्षिक क्यालेन्डरलाई लयमा ल्याउने कोसिस गरिएको छ तर पूर्ण भएको छैन । प्रशासनिक काम कति झन्झटिलो छ भन्ने विषयको वर्णन गरिसाध्य छैन । एक पटक विश्वविद्यालयमा कुनै काम लिएर गयो भने त्यो व्यक्ति दोहो¥याएर उक्त निकायमा जान चाहँदैन ।  त्रिवि मुलुककै सबैभन्दा ठुलो र पुरानो शैक्षिक धरोहर हो । विश्वविद्यालयले अवलम्बन गर्ने नीति तथा कार्यक्रम मुलुकमा सञ्चालित अन्य विश्वविद्यालयका लागि समेत मार्गदर्शक बन्ने गर्छ । यो वास्तविकतालाई ध्यानमा राखेर त्रिविको नयाँ नेतृत्वले सुझबुझपूर्ण तरिकाबाट काम गर्नु पर्छ ।  

उच्च शिक्षा अध्ययन गर्ने ८० प्रतिशतभन्दा धेरै विद्यार्थी अध्यययनरत रहेको भनिए पनि त्रिवि आर्थिक रूपमा सरकारकै भर परिरहनु परेको छ । अर्बौंको भौतिक संरचना भएर पनि सही सदुपयोग गर्न सकिएको छैन । सरकारबाट आवश्यक सहयोग पाउन नसक्दा विश्वविद्यालय दिनप्रतिदिन आर्थिक रूपमा थला पर्दै गइरहेको छ । सरकारबाट पाउने नियमित आर्थिक अनुदानको मात्रै भर नपरी आफ्नै स्रोतसाधनको अधिकतम प्रयोग गरेर विश्वविद्यालयलाई आर्थिक रूपमा परनिर्भरताको चक्रबाट मुक्त गर्नै पर्छ । यसका लागि संयमतापूर्वक दिगो नीति तथा कार्यक्रम तर्जुमा गरेर उक्त नीति तथा कार्यक्रमप्रति विश्वविद्यालयसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने सबैको अपनत्व कायम गराउन सक्नु पर्छ । यति गर्न सकिएमा विश्वविद्यालयलाई आर्थिक, प्रशासनिक, शैक्षिक तथा राजनीतिक गञ्जागोलबाट मुक्त गर्न सकिने छ । विद्यार्थी सङ्गठनको प्रभाव र दबाब तथा कर्मचारी/प्राध्यापक सङ्गठनको धम्की पनि त्रिवि सुधारको मुख्य बाधक बन्दै आएको छ । यी सङ्गठनसँग मुकाबिला गर्न नसक्दा कुनै उपकुलपतिले चारबर्से कार्यकालमा झन्डै एक वर्षजति त तालाबन्दीमै व्यतीत गर्नु परेको छ । यी र यस्तै समस्यासँग जुधेर त्रिविलाई चलायमान बनाउनु नेतृत्वको जिम्मेवारी हो ।