चीनसँगको व्यापारिक नाका रसुवागढी राम्रो चलनचल्तीमा थियो । १० वर्षअघिको भूकम्पका कारण तातोपानी नाकामा ठुलो क्षति भयो । ठाउँ ठाउँको भिर पहिरोले नाका काममा आउन सक्ने भएन । विकल्पमा रसुवागढी नाका सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार विस्तार गर्न थालियो । यो नाकालाई २०७४ सालमा नेपाल र चीन दुवैले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि पूर्वाधार अझ राम्ररी विस्तार हुन थाल्यो । सुक्खा बन्दरगाह पूरा हुने क्रममा थियो । कोरोना महामारीका कारण लामो समय काम रोकिए पनि ८० प्रतिशत काम सकिएको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार रसुवागढीको सुक्खा बन्दरगाह फागुनदेखि पूर्ण रूपमा सञ्चालनमा आउने थियो । चीनसँगको व्यापार बढाउन यो नाका अति उपयोगी हो । चीनबाट नेपाल हुँदै भारत पुग्न छोटो दुरीका कारण पनि यो नाकाको व्यापारिक भविष्य अब्बल हुने नै भयो । रसुवागढीमा मङ्गलबार बिहान एक्कासि बाढी आयो । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र त्यहाँका पूर्वाधारमा व्यापक क्षति पुर्यायो । नौ जनाको ज्यान गयो भने १९ जना बेपत्ता छन् ।
बाढीले भन्सार पूर्वाधारमा ठुलो क्षति भयो । अन्तर्राष्ट्रिय नाकाकै रूपमा संरचना बनेका थिए । मितेरी पुल, भन्सार पूर्वाधार तथा कार्यालय, बन्दरगाहलगायतका पूर्वाधारमा ठुलो क्षति भएको छ । नाकासँग सम्बद्ध पूर्वाधारको ६० प्रतिशत बढी काम नलाग्ने गरी क्षति भएको प्रारम्भिक जानकारी आएको छ ।
सवारीसाधनलगायत ठुलो मात्रामा व्यापारिक सरसमान बाढीमा बग्न पुगे । सुक्खा बन्दरगाह अब काममा आउनै नसक्ने गरी नै क्षति भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको यो बन्दरगाहको लागत नै दुई अर्ब ८० करोड रुपियाँ थियो । बन्दरगाहको प्रशासनिक भवन, भित्री सडक, गोदामघर, ३५० वटा गाडी अट्ने पार्किङ स्थल, खोला किनारमा लगाइएको पर्खाल, सामान जाँच्ने खुला ठाउँलगायतका पूर्वाधारमा व्यापक क्षति भएको छ । सामान भण्डार गर्ने घर र सामान जाँच्ने ठाउँ पनि पूरै बगाएको छ । नदी किनारमा नभएकाले मुख्य प्रशासनिक भवन भने जोगियो । कतिपयले भने जोखिमपूर्ण ठाउँमा त्यति विशाल पूर्वाधार बनाउनु उचित थिएन भन्ने मतसमेत व्यक्त गर्ने गरेका छन् । हिमाली क्षेत्रको केही होचो भूभाग खोजी गरी दुवै देशलाई पायक पर्ने व्यापारिक नाकामा पूर्वाधार विस्तार रहरभन्दा पनि बाध्यता नै थियो । हिमाली क्षेत्रमा समथर भूभाग पाउन पनि कठिन हुन्छ भन्ने बुझ्नु पर्छ ।
वर्षा भर्खर आरम्भ हुँदै छ । बर्सात त्यसै जोखिमपूर्ण हुन्छ तर जलवायु परिवर्तनका बहुअसरले प्राकृतिक प्रकोप बढ्ने क्रममा छन् । मौसम परिवर्तनकै कारण हिमाली क्षेत्रका हिमताल जोखिममा छन् । चीनको तिब्बत क्षेत्रमा पानी परिरहेको र त्यसले बाढीको असर पार्न सक्ने चेतावनी भने आउने गरेका नै थिए । मङ्गलबार बिहानै भोटेकोशीमा भीषण बाढी आउँदा त्यस क्षेत्रमा पानी परेको थिएन । त्यस क्षेत्रमा मात्र होइन, सोमबार रातिदेखि कोरला नाकादेखि माथि तिब्बती क्षेत्र र नेपाली भूभागमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भएको थिएन । बरु मङ्गलबार साँझदेखि वर्षा हुन थालेको छ । पानी नै नपरी भोटेकोशी हुँदै नेपाल पसेको भीषण बाढीको वास्तविकता पत्ता लगाउन नेपाल–चीन सरकारस्तरीय र मौसम तथा विपत्जन्य संस्थाले सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग पनि त्यसबारे अध्ययन गरिरहेको छ । थप जानकारी समय क्रममा आउने नै छन् । विभागको टिमुरे जलमापन केन्द्रको तथ्याङ्क अनुसार बिहान ३ बजेर १० मिनेटमा उक्त स्थानमा जल सतह एक्कासि बढेको थियो । बिहान हुँदासम्म बाढीले बबन्डर क्षति गरिसकेको थियो । त्यस क्षेत्रमा भोटेकोशी भनिने नदी नै त्रिशूली हुँदै नारायणी नदीमा पुग्छ । बगाएका सरसमानदेखि मानिसको शव चितवनसम्म भेटिँदै छन् । नदीमा लेदोसहितको अति धमिलो पानी बग्दा जलचरसँगै तल्लो तटीय क्षेत्रमा जोखिममा परेका छन् । मधेश प्रदेशमा राम्ररी पानी नपरेर धान रोपाइँ राम्ररी हुन सकेको छैन भने हिमाली तथा पहाडी क्षेत्रमा बढी पानी पर्न थालेको छ । खोला तथा नदीमा जलसतह बढ्न थालेको छ । सडक अवरुद्ध हुन थालेका छन् । बाढी, पहिरो, डुबान आदिका घटना बढ्न सक्ने छन् । सम्बद्ध संस्थाहरूले सचेतनापूर्वका काम गर्नुपर्ने छ । जनधन जोगाउन सचेत हुनुको विकल्प छैन ।