• १६ भदौ २०८२, सोमबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, भदौ १५ गते । मकवानपुरको फरक–फरक स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका –१० टौखेलमा भएको सवारी दुर्घटनामा घाइते भई उपचारको क्रममा टौखेल बस्ने ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको हो । 

गत साउन १३ गते राति गणेशमान सिंह सडक खण्डमा बिसंखेबाट टौखेलतर्फ आउँदैगरेको बा.प्र.६६ प २३५२ नम्बरको मोटरसाइकल तीव्र गतिको कारण अनियन्त्रित भई तरकारी लोड गर्न रोकी राखिएको ना.७ ख ४२७६ नं.को ट्रकमा ठक्कर खाएर दुर्घटना भएको थियो । 

गोपालीलाई उपचारका लागि बि एण्ड बि अस्पताल ग्वार्कु काठमाडौँ लगिएको थियो । साउन २७ गते उपचारका लागि बिग केयर अस्पताल बनेपा काभ्रेमा लगिएको थियो । उपचारको क्रममा शनिवार साँझ गोपालीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै, पूर्वी मकवानपुरको बकैया गाउँपालिका –६, खोपिल्टो गाउँमा शनिवार ट्याक्टरले किचेर घटनास्थलमै एक जनाको मृत्यु भएको छ । ट्याक्टर चालक बारा निजगढ नगरपालिका –१२ रामथली बस्ने ३३ वर्षीय बुद्धिलाल थिङको सोही ट्याक्टरले किचेर घटनास्थलमानै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । 

बकैया–६ बस्ने रामबहादुर ब्लोनको खेत जोत्ने क्रममा ना. ६ त ८९९९ नं को ट्याक्टर खेतको कान्लाबाट पल्टिन गई दुर्घटना भएको थियो । मुचुल्का पश्चात् थिङको शव सरकारी अस्पताल चन्द्रनिगाहापुर रौतहटमा रहेको प्रहरीले जानकारी दिएको छ ।