• १५ वैशाख २०८१, शनिबार

विश्वकप फाइनल : आज भारत र अस्ट्रेलिया भिड्दै

blog

अहमदाबाद, मङ्सिर ३ गते । रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त गर्दा आज एक अर्ब ४० करोड भारतीयको मुटुको धड्कन तेज हुनेछ । विश्वकप क्रिकेटको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुँदैछ । 

जहाँको दर्शक क्षमता १लाख २ हजार छ । विश्वकपको फाइनलमा कीर्तिमान दर्शकको उपस्थिति हुने पक्का छ । भारत तेस्रो पटक विश्व विजेता बन्ने दाउमा छ । यद्यपि सन् २०११ पछि भारत विश्व च्याम्पियन बन्न सकेको छैन । यसपालि भारतको अगाडि चालु प्रतियोगिताको अर्को उत्कृष्ट टोली अस्ट्रेलिया या अन्तिम बाधाको रुपमा तेर्सिएको छ । छ हप्ता लामो प्रतियोगितामा घरेलु टिम भारत मात्र अपराजित टिम हो । 

अस्ट्रेलियाले भने सुरुका दुई खेल हारेपछि त्यसपछि लगातार आठ खेल जितेर फाइनलमा स्थान बनाएको हो । त्यसैले विश्वकप फाइनल जित्न भारतलाई कोहलीको अर्को उत्कृष्ट पालिको आवश्यकता हुनेछ । चालू प्रतियोगितामा भारतको सफलतामा कोहलीको सबभन्दा ठूलो भूमिका रहेको छ । यस प्रतियोगितामा कोहलीले दस पालिमा १०१.५७ रनको औसतले ७११ रन बनाइसक्नुभएको छ । कप्तान रोहितको ब्याट्बाट पनि ५५० रन बनिसकेको छ । तेज गतिमा ब्याटिङ गरेर भारतलाई विस्फोटक सुरुआत दिलाइरहनुभएका रोहितले चालू विश्वकपमा सर्वाधिक २८ छक्का प्रहार गर्नुभएको छ । अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर पनि ५२८ रनसहित उत्कृष्ट लयमा हुनुहुन्छ । नौ खेलमा ४२६ रन बनाउने मिचेल मार्श तथा अफगानिस्तानविरुद्ध चमत्कारिक दोहोरो शतकीय पालि खेल्ने ग्लेन म्याक्सवेल पनि भारतका लागि खतरा हुनसक्छ । अस्ट्रेलियाका स्पीनर एडम जाम्पाले पनि २२ विकेटसहित आफूलाई खतरनाक बलरको रुपमा प्रस्तुत गर्नुभएको छ ।

यस प्रतियोगितामा अहिलेसम्म भारतको दबदबामा ब्याटिङ मात्र होइन बलिङको पनि उत्तिकै हात छ । विशेषत तेज बलर मोहम्मद सामी आफ्नाे खेल जीवनकै सबभन्दा उत्कृष्ट लयमा हुनुहुन्छ । सामीले मात्र ६ खेलमा २३ विकेट लिइसक्नुभएको छ । सर्वाधिक विकेटकर्ताको सूचीमा सामी शीर्षस्थानमा हुनुहुन्छ । सुरुका चार खेलमा सामी पहिलो रोजाइमा हुनुहुन्नथ्यो । अलराउन्डर हार्दिक पाण्ड्या घाइते  भएपछि मात्र सामीले खेल्ने अवसर पाउनुभएको हो । अर्का तेज बलर जस्प्रित बुम्राहले पनि (१८ विकेट) भारतलाई निराश पारेको छैन । स्पीनरद्वय रविन्द्र जडेजा र कुलदीप यादवले मिलेर ३१ विकेट चट् पारिसक्नुभएको छ । 

समूह चरणमा भारत र अस्ट्रेलियाले एकअर्कासँग नै पहिलो खेल खेलेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलिया १९९ रनमै अलआउट भएको थियो । यद्यपि अस्ट्रेलियाले भारतलाई सजिलै लक्ष्य पछ्याउन दिएको थिएन ।

तर अस्ट्रेलिया विश्वकप क्रिकेटमा सधैं आधिपत्य जमाउने टिमको रुपमा छ । अस्ट्रेलिया आठौँ पटक फाइनल खेल्दैछ । अस्ट्रेलियाले अहिलेसम्म मात्र दुई फाइनल हारेको छ । सन् १९७५ मा भएको पहिलो संस्करणमा वेस्ट इन्डिज र सन् १९९६ मा श्रीलङ्कासँग अस्ट्रेलिया उपाधि भिडन्तमा निराश बनेको थियो ।

विश्वकपमा यी दुई राष्ट्रबीच नकआउटमा अहिलेसम्म तीन पटक मात्र भिडन्त भएको छ । सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई नै हराएर उपाधि जितेको थियो । सन् २०१५ मा अस्ट्रेलियाले भारतलाई सेमिफाइनलमा हराएर फाइनल पुग्यो र त्यसपछि पाँचौँ पटक विश्वकप उपाधि पनि जित्न सफल भयो । सन् २०११ मा विश्वकपको क्वाटरफाइनलमा भने भारतले अस्ट्रेलियालाई अहमदाबादमा नै हराएको थियो । एपी