• १२ साउन २०८१, शनिबार

सो बाँडफाँटमा किन सधैँ विवाद

blog

काठमाडौँ, मङ्सिर ३ गते । चलचित्र ‘दिमाग खराब’ हेर्न दर्शकको अत्यधिक भिड लागिरहेको समयमा निर्देशक–निर्माताले चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरे । हलहरूले राम्रो सो नदिएको भन्दै निर्माताले यस्तो घोषणा गरेपछि राम्रो चर्चा कमाएको चलचित्र हेर्न पालो कुरिरहेका दर्शकलाई केही विष्मातमा पनि पा¥यो । केही दर्शकले यस्तो घुर्काइ चलचित्र चलाउने फन्डा मात्र भएको पनि सम्झे ।

यद्यपि यो विवाद लम्बिएन । तत्कालका लागि समाधान भयो । चलचित्र निर्देशक निश्चल बस्नेतले भारतीय चलचित्र ‘टाइगर थ्री’ बराबरै सो नदिने भएपछि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गर्नु परेको बताउनुभयो । निर्देशक बस्नेतले भन्नुभयो, “हलहरूमा दर्शक भिड थेगिनसक्नु हुँदा पनि कम सोमा चित्त बुझाउनुपर्ने ? उहाँले लगानी सुरक्षित गर्ने वातावरण नपाउँदासम्म चलचित्र चलाउन नसक्ने स्थिति पैदा हुन लागेपछि त्यस्तो निर्णय गर्नु परेको बताउनुभयो ।उहाँ नेपाली चलचित्रलाई हलले प्राथमिकता नदिएको आरोप पनि लगाउनुभयो ।

गत बिहीबार चलचित्र निर्माता र प्रदर्शक संस्था नेपाल चलचित्र सङ्घबिच यही ५ गते मङ्गलबारसम्मका लागि प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको छ । दर्शकहरूका लागि यो खुसीको कुरा पनि हो तर त्यसपछि फेरि त्यस्तै लफडा हुँदैन भने भन्न सकिँदैन । नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन मङ्गलबार सबै कुरा टुङ्गिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हलमा जुन चलचित्र चल्छ त्यही अनुसार सो दिने हो । यसलाई थोरै त्यसलाई धेरै भन्ने कतै हुँदैन ।”

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ ले सोचे अनुरूपको हाइप लिन नसकेको महर्जनको टिप्पणी छ । चलचित्रले शुक्रबार र शनिबार राम्रो दर्शक बटुले पनि आइतबार र सोमबार खासै राम्रो दर्शक पाउन नसकेकाले टाइगर थ्रीको सो बढाउन खोजेको स्पष्ट पार्नुभयो । पुनः मङ्गलबारदेखि दिमाग खराबले दर्शक तान्न थालेपछि सोको पुनः तालिका मिलाएको महर्जनको भनाइ छ ।

नेपाल चलचित्र बजारमा यस्ता विवाद समय समयमा हुँदै आएको छ । गत वर्षको भदौमा चलचित्र ‘राधा’ ले पनि सो विवाद चलचित्र प्रदर्शन भएको केही दिनमै हलबाट उतारेको थियो । महर्जन भन्नुहुन्छ, “त्यसो त हिन्दीको तुलनामा नेपाली चलचित्र चलिरहे र त्यसलाई बढी सो दिन पाउँदा सेयर बाँडफाँटमा पनि फाइदा हुन्छ ।” उहाँका अनुसार नेपाली चलचित्रमा हल सञ्चालकको ७.५ प्रतिशत सेयर हुन्छ भने भारतीय चलचित्रमा त्योभन्दा न्यून हुन्छ ।

सेयर बाँडफाँटको कुरा धेरै अघिदेखिको हो तर कसैलाई हल सञ्चालन गर्दैमा फुर्सद छैन त केसैलाई चलचित्र बनाउँदा र त्यसको प्रचार गर्दैमा फुर्सद छैन । त्यसैले पनि यसको टुङ्गो लगाउन नसकेको हो । मङ्गलबार यो कुराको पनि टुङ्गो लाग्ने महर्जन बताउनुहुन्छ ।

चलचित्रका निर्माता रौनक विक्रम कँडेल मङ्गलबार कुराको टुङ्गो लागेन भने चलचित्र रोकिने चेतावनी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बलिउड चलचित्र ‘टाइगर थ्री’ प्रदर्शन भएपछि दिमाग खराबको सो काटिन थाल्यो । यसरी काटिँदा झन्डै ७० प्रतिशत सो प्रताडित बन्न पुगेपछि हामी विरोधमा उत्रन बाध्य भयौँ ।” सेयर बाँडफाँटको कुरामा नेपाल चलचित्र सङ्घ सकारात्मक रहेको उहाँको भनाइ छ । तर मङ्गलबार सेयर बाँडफाँटको कुरा समान भएन भने हामी चलचित्र प्रदर्शन गर्दैनौँ ।”