सन्तोष दहित
दाङ, फागुन २६ गते । दाङको धारपानीमा फागुन ३ गते लागेको महाशिवरात्रि मेलाबाट साढे नौ लाखभन्दा बढी रुपियाँ आम्दानी भएको छ। हरेक वर्ष महाशिवरात्री पर्वको अवसरमा लाग्ने उक्त मेलाबाट यस वर्ष ९ लाख ५१ हजार ३ सय १७ रुपियाँ आम्दानी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
समितिका अनुसार सबैभन्दा बढी रकम दानपेटिकाबाट ३ लाख ८३ हजार ८ सय ५० रुपियाँ संकलन भएको छ। त्यसैगरी सहयोग रसिदबाट २ लाख ६ हजार ९ सय ७ रुपियाँ बजार मेला स्टलबाट १ लाख ७५ हजार ५ सय, रमाइलो मेला पिङबाट १ लाख, पार्किङ शुल्कबाट ८० हजार ३ सय ८० र टीकाबाट ४ हजार ६ सय ८० रुपियाँ आम्दानी भएको छ।
मेला व्यवस्थापन अन्तर्गत भक्तजनका लागि खाना–नास्ता, टेन्ट तथा साउण्ड सिस्टम, अतिथि सत्कार तथा प्रचार–प्रसार लगायत शीर्षकमा २ लाख ८२ हजार २ सय ३० रुपियाँ खर्च भएको छ। उक्त खर्च कटाएर ६ लाख ६९ हजार ८७ रुपियाँ बचत भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो।
यस वर्षको मेलालाई व्यवस्थित बनाउन विभिन्न १६ वटा उपसमिति गठन गरी ३ सय ५१ जना स्वयंसेवक परिचालन गरिएको समितिका सचिव विष्णुराम आचार्यले बताउनुभयो। उहाँका अनुसार यसको कारण मेला सभ्य, शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको थियो। मेलामा विभिन्न भजन–कीर्तन, नाचगान तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
नौमति पञ्चेबाजा समूह घोराही –१३ ले नौमति पञ्चेबाजा प्रस्तुत गरेको थियो । नेपाल ज्योतिष परिषद् तथा धामी–झाँक्री समूहले तान्त्रिक झाँकी प्रदर्शन गरेका थिए। उक्त अवसरमा घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाको आयोजना, स्वास्थ्य कार्यालय दाङ तथा गोरखा हस्पिटल लगायत विभिन्न संघ संस्थाको समन्वयमा नसर्ने रोगको स्क्रिनिङ शिविर पनि सञ्चालन गरिएको थियो।
यसैबिच यस वर्षको मेलामा सहभागी भई कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्ने भक्तजन, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी संस्था र व्यापारीप्रति मन्दिर व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ।