• ४ जेठ २०८१, शुक्रबार

प्युठानमा 'सराएँ' मेलाको रौनक

blog

प्युठान नगरपालिका-७ मा लागेको 'डल्ले सराएँ' मेला । तस्विर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, मङ्सिर १ गते । तिहार सकिए लगत्तै प्युठानमा 'सराएँ' मेलाको रौनक सुरु भएको छ । तिहारको भोलिपल्टदेखि लाग्ने 'सराएँ' मेला करिब १५ दिनसम्म विभिन्न ठाउँमा लाग्ने गर्दछ । प्युठान नगरपालिका-७ डल्लेमा भाईटिकाको भोलिपल्ट लागेको सराएँ मेलामा हजारौं दर्शकले अवलोकन गरेका छन् ।

किम्वदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयालीसहित यहाँ वर्षेनी भाइटीकाको भोलिपल्ट 'सराएँ' मेला लाग्ने गर्छ । नाङ्गो तरबार, लाठी नचाउँदै विभिन्न ठाउँबाट प्रतिस्पर्धी समूह जम्मा हुन्छन् । पहिलेपहिले पुरुषले मात्र 'सराएँ' नचाउने गरेकोमा अहिले महिलाले समेत सराए नचाउन थालेका छन्। बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै....’ सराएँ नचाउने गरिएको स्थानीय सुशील पोख्रेल बताउनुहुन्छ । “राक्षसी राजाले जनतालाई दुःख दिएको भन्ने किम्वदन्ती छ,” उहाँले भन्नुहुन्छ, “राक्षसलाई मारेको खुसियालीमा जनताले तरबार नचाएर खुसी साटेको भन्ने भनाइ छ ।” स्थानीय जानकार पोखरेलका अनुसार सराएँ मेलामा प्रदर्शन गरिने सराएँ युद्ध कौशलको रुपमा लिने गरिएको छ ।

यस्तै, मेलामा रमाइलोका लागि विभिन्न स्थानीय नाचसमेत देखाउने गरिन्छ । स्थानीय किसान, उद्यमीले उत्पादन गरेका वस्तुहरुको किनबेच हुनेगर्छ । जसले गर्दा स्थानीय उत्पादनको विक्री र बजारीकरणमा सहयोग मिलेको प्युठान उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा लाग्ने यस्ता मेलाले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको बिक्री वितरण गर्न सहज बनाएको उहाँको भनाइ छ ।

मेलामा जिल्लाभित्रका मात्र नभएर बाहिरी जिल्लाबाट पनि मानिसहरु पुग्छन् । मेलालाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकारले समेत बजेट छुट्याउने र व्यवस्थापन गर्ने काम गर्न थालेका छन् । प्युठान नगरपालिकाका नगर प्रवक्ता सुमन श्रेष्ठले पालिका भित्रका स्थानीय मेलाको संरक्षण र व्यवस्थापनका लागि पालिकाले आवश्यक बजेट सहितको कार्यक्रम बनाउँदै आएको बताउनुभयो ।