• २३ असार २०८२, सोमबार

ग्रामीण बस्तीमा खानेपानी अभाव

blog

जमुनाह समाचारदाता 

जमुनाह (बाँके), असार २३ गते । लुम्बिनी प्रदेश सरकारले एक घर एक धारा बनाउने नीति लिएको धेरै भयो तर बाँकेका थुप्रै ग्रामीण बस्तीमा अझै खानेपानी पुगेको छैन । खानेपानीको धारा जडान नभएका बस्ती धेरै छन् । उनीहरू परम्परागत स्रोतको भरमा खानेपानी पिउन बाध्य छन् । खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका अनुसार जिल्लाका करिब १५ प्रतिशतले मात्र पाइप प्रणालीबाट पानी पाएका छन् । अन्य नागरिक ह्यान्डपाइप, इनार, खोला, कुलो वा अन्य परम्परागत स्रोतमा निर्भर छन् । 

जम्मा एक लाख २९ हजार २३४ घरधुरीमा मात्रै खानेपानी सेवा पुगेको छ । तीमध्ये पाइप लाइन प्रणालीबाट पानी पिउने घरधुरी १९ हजार ४८३ छ । ह्यान्डपाइप जमिनमुनिको स्रोतबाट ९४ हजार ५४७ प्रतिशत, इनार, खोला र कुलोबाट पाँच हजार ८४६ प्रतिशत र अन्य प्रविधिबाट नौ हजार ३९५ प्रतिशत घरधुरीले पानी पाएका छ्न । बाँकेका केही पालिका जानकी, डुडुवा र नैरनापुरमा भने पूर्वाधार अभावका कारण पानी पु¥याउन सकिएको छैन ।

खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र खत्रीले स्रोतको सीमितता, जनसङ्ख्याको तीव्र वृद्धि र पर्याप्त बजेट अभावका कारण पाइप लाइन प्रणाली विस्तार गर्न कठिन भइरहेको जानकारी दिनुभयो ।  कोहलपुरका केही वडामा खानेपानीको राम्रो पहुँच रहेको भए पनि सबै वडामा समान रूपमा सेवा पुगेको छैन । 

कोहलपुर साना सहरी खानेपानी आयोजना र विराट् खानेपानी आयोजना कोहलपुर नगरपालिकाभित्रका दुई वटा ठुला खानेपानी आयोजना हुन् । कोहलपुर साना सहरी खानेपानी आयोजनाले कोहलपुर क्षेत्रभित्रका करिब छ हजार घरधुरीमा पाइप प्रणालीमार्फत सेवा विस्तार गरेको छ । अन्य घरधुरी भने अझै पनि ह्यान्डपाइप वा वैकल्पिक माध्यमबाट पानी उपभोग गरिरहेका छन् । 

वडा नं. ६ की सुस्मिता खत्रीले नौ वर्षअघि पाइपमार्फत खानेपानी प्रयोग गर्न थाल्नुभएको हो । खत्रीले सुरुका दिनमा दैनिक पाँच/छ घण्टा पानी आए पनि पछिल्लो केही वर्षयता नियमित रूपमा पानी नआउने र चैत–वैशाखमा झन् समस्या बढ्ने देखिएको बताउनुभयो ।  हरेक दिन जसो पाँच/छ घण्टा नियमित पानी आउने गरेकाले पिउने पानी पुगे पनि नुहाउन र लुगा धुन अझै पनि ह्यान्डपाइप प्रयोग गर्नुपर्ने वडा नं. १४ की सुशीला सुनारको भनाइ छ ।

अन्य पालिकामा पनि खानेपानीको समस्या छ । राप्तीसोनारी गाउँपालिकामा विभिन्न साना खानेपानी योजनाले आआफ्ना क्षेत्रका केही बस्तीलाई सेवा दिइरहेका छन् । 

बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा भने सेवा विस्तारमा केही सुधार देखिए पनि भूजलको गिरावट, आर्थिक असन्तुलन र पर्यावरणीय चुनौतीसँग जुध्नुपर्ने अवस्था छ ।